समाचारशुक्रवार, भाद्र २९, २०७५

सुन काण्डमा मुछिएका एसएसपी दिवेश लाेहनी थुना मुक्त

हिमालखबर

साढे ३३ केजी सुनकाण्डको छानविनका क्रममा पक्राउ परेका एसएसपी दिवेश लोहनी साधारण तारिखमा रिहा भएका छन्। उच्च अदालत विराटनगरका न्यायधिशद्वय नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको इजलासले साधारण तारखेमा लोहनीलाई छोड्ने निर्णय गरेको हो।

गृहमन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितिले १९ वैशाखमा बयानका लागि बोलाएर उनलाई पक्राउ गरेको थियो। सनम शाक्यको हत्या प्रकरणमा अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुखको हैसियतले लोहनीले प्रहरी टोली परिचालन गरेका थिए ।

तर, हत्यामा संलग्न भनिएका गोरे भन्ने चुडामणि उप्रेतीलाई बचाउन खोजेको उनीमाथि आरोप लागेको थियो । 

त्रिभूवन विमानस्थलबाट तस्करी गरिएको भनिएको ३३ किलो सुन प्रकरणमा गोरेको यातनाबाट सनम शाक्यको मृत्यु भएपछि नेपालमा भएको सुन तस्करी प्रकरण बाहिर आएको थियो ।

यस प्रकरणमा लोहनीसहित पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत लगायत ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेका थिए ।

लोहनीले थुनामुक्त हुनपाऊँ भन्दै ७ असारमा उच्च अदालतमा निवेदन दिएका थिए।

प्रतिकृया दिनुहोस