समाचारशुक्रवार, भाद्र २९, २०७५

राष्ट्रपतिबाट कञ्चनपुर घटनाप्रति दुःख व्यक्त

हिमालखबर

राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरमा १३ वर्षीया किशोरीको बलात्कार र हत्याको घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित मुल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हत्या भएकी किशोरीका बाबु आमा र परिवारजनले लामो समयदेखि न्यायका लागि छटपटाउँदै हिंड्नुपर्ने अवस्था आउनु दुःखको विषय भएको बताइन् ।

उनले भनिन्, “ढिलो न्याय पाउनु न्याय नपाउनु सरह हो भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गर्दै अपराधीलाई कानूनको दायरामा ल्याई दण्डित गर्न सम्बद्ध पक्ष तदारुकताका साथ संवेदनशील बन्नु पर्दछ ।”

उनले उक्त घटनाले आफू अत्यन्तै दुखित भएको भन्दै परिवारजनप्रति समवेदना र सहमानुभूति समेत प्रकट गरिन् ।

देशका विभिन्न ठाउँमा कलिला बालबालिकामाथि भैरहेको यौनजन्य हिंसा, दुर्व्यवहार, अपहरण र हत्या जघन्य अपराध मानवता माथिकै चरम आक्रमण र मानव सभ्यताकै कलंक भन्दै राष्ट्रपति भण्डारीले यस्ता घटनाका मूल कारणको जरा उखेलेपछि मात्र हिंसाको अन्त्य र सभ्य समाजको निर्माण गर्न सकिने बताइन् ।

संविधानले प्रत्याभूत गरेका बालबालिकासम्बन्धी हक अधिकारका विषयहरु कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कानून निर्माण गर्न अवेर गर्न नहुने भन्दै उनले थपिन, “ निर्मित कानूनहरुको प्रभावकारी कार्यान्वयनबाट बालबालिका बिरुद्ध हुने हिंसा, शोषण र दुव्र्यवहार हुनबाट संरक्षण गर्न सकिन्छ ।”

अपराधीलाई कानूनको दायरामा ल्याउन प्रहरी प्रशासन, अनुसन्धान गर्ने निकाय र समाज एकजुट हुनुपर्ने राष्ट्रपतिको भनाई छ ।

“संघीय संरचनामा बालअधिकारको सम्मान, संरक्षण, परिपूर्ति र पालनाका लागि संविधानतः संघ, प्रदेश र स्थानीय तिनै तहका सरकारको भूमिका महत्वपूर्ण रहन्छ,” राष्ट्रपति भण्डारीले भनिन्, “प्रत्यक्ष सेवा प्रदायकको भूमिकामा रहने स्थानीय सरकारका नीति, योजना र कार्यक्रमहरुमा बालबालिकाका सवालहरुलाई प्राथमिकताका साथ संबोधन गर्न र बिभिन्न क्षेत्रका सरकार र प्रशासनिक निकायबीच समन्वय र सहकार्यबाट हालसम्मका उपलब्धिलाई संस्थागत गर्दै प्रदेश सरकार तथा स्थानीय तहले पनि बालहितकारी नीति कार्यान्वयन गर्नु आवश्यक छ । ”

प्रतिकृया दिनुहोस