अमेजनका संस्थापक बेजोसले घरवारविहीन र शिक्षाका लागि छुट्याए दुई अर्ब डलर
विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन्।
बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गरी सुझाव मागेका थिए। उनीसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ।
बेजोस र उनकी पत्नी म्याकेन्जीले निर्माण गरेका उक्त कोषको नाम “बेजोस डे वान फन्ड” राखिएको छ। बिहीबार पत्रकार सम्मेलन गरी बेजोसले मुख्यतः दुईवटा क्षेत्रमा काम गर्नेछ, – “पहिलो, घरबारविहीन परिवारलाई मद्दत गर्नु र दोस्रो, न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत गैरनाफामूलक सञ्जालमार्फत बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्नु ।”
बेजोसले दुई अर्ब डलर केबल सुरुआत भएको र यसमा रकम बढाउँदै लैजाने बताए। “मैले सानो प्रयत्नबाट पनि ठूलो काम भएको पाएको छु र यस्तो देख्दा म उत्साहित भएको छु। मेरो कोषले पनि त्यही अपेक्षा राखेको छ।”
घरबारविहीनका सन्दर्भमा कोषले अति जरुरीमा परेका परिवारका लागि मिहिनेतसाथ दिनरात काम गरिरहेका संस्थाहरुलाई सहयोग गर्ने बेजोसले बताए। उनले स्कुल जान नपाएका साना बालबच्चाका लागि पूर्ण छात्रवृत्ति सहितको सुविधा उपलब्ध गराउन कोषले एक वृहत सञ्जालमार्फत काम गर्ने स्पष्ट पारे।
अमेजनको कार्यशैलीझैं प्रत्येक बालबालिका स्कुलको एउटा ग्राहक हुनेछ, बेजोसले भने।
बेजोसले गत वर्ष ट्वीटरमार्फत गरिएको अनुरोध बमोजिम प्राप्त हजारौं नवीन धारणाहरुमध्येबाट यी दुई क्षेत्र पहिचान गरेका हुन्।
सन् १९९४ मा अनलाइन पुस्तक बिक्रीबाट सुरु गरेको बेजोसको अमेजन कम्पनीले अहिले विश्वव्यापी प्रभाव सिर्जना गरेको छ। यो कम्पनीले अहिले भिडियो र म्युजिक स्ट्रिमिङका साथै क्लाउड कम्प्युटिङ र अरु नयाँनयाँ सेवा थप गरेको छ। – एएफपी