गाउँघरमा तिहारको रौनक
पिठ्युँ र काँधमा बच्चा । बोरासँगै अगाडी पछाडी झोला । दीपक बोहरा दम्पतीलाई हतारो छ, घर पुग्ने । “तिहार घरमै मनाउला भनेर फर्कियौं” तीन वर्षप” तीन वर्षपछि भारतको सिमलाबाट फर्किएका जाजरकोटको सक्ला–३ बण्डालाका दीपक भन्छन् ।
दुई दिनको बसको यात्रा र त्यसपछि एक दिन पैदल हिडेर पुगिने बण्डाला गाउँका लागि सदरमुकाम खलङ्गामा हतारोमा देखिएका उनी तिहारकै लागि फर्किएको बताउँछन् । पत्नी पवित्राको मृगौला पत्थरीको उपचार गर्न सिमला गएका उनले तीन वर्ष वितेको पत्तै पाएनन् । “कमाइ गर्दै उपचार गरौला भनेर उता गएको थिएँ” परिवारसहित आएका दीपक भन्छन्, “तिहार मनाउनै पाएन, यो पाली घरमै मनाउला भनेर आयौं ।”
दुई छोराछोरीसहित फर्किएका उनी आफन्तसँगको भेटघाटले विदेशमा भोगेको पीडा बिर्सिइने पवित्रा बताउँछिन् । “कतिखेर घर पुगौला र आफन्तसँग भेटौला भन्ने उकुसमुकुस भइराखेको छ” उनी भन्छिन् । उपचार गरेर घर फर्किदै गरेका उनीहरुको अनुहारमा बसको यात्राको थकान थिएन ।
बोहरा दम्पतीजस्तै तिहारका लागि फर्किनेहरुको लर्को छ । केही वर्ष अघि क्यासेट घन्काउदै भारतबाट मजदुरी गरेर फर्किनेहरु अहिले भने मोबाइल र एयरफोनमा मस्त देखिन्छन् । गत असारमा धान रोपेर भारत गएका लहाँ–२ का मनबहादुर वलीले तिहारकै लागि घर फर्किएको बताउँछन् ।
विदेशिएकाहरु घर फर्किएपछि गाउँघरमा तिहारको रौनक पनि बढेको छ । पुराना घरहरु पनि लिपपोत गरेर चिरिच्याँट बनाइएका छन् । घर आगनमा मखमली र सयपत्री ढकमक्क फुलेका छन् । देउसी–भैलोले तिहारलाई झन रौनक थपेको छ ।
राजेन्द्र कार्की, जाजरकोट