समाचारबिहिवार, भाद्र २८, २०७५

तेजाब आक्रमणमा परेकी सम्झनाको अवस्था निकै चिन्ताजनक

हिमालखबर

तेजाब आक्रमणमा परेकी सम्झना दास जीवन मरणको दोसाँधमा छन् । तस्वीर: मोनिका देउपाला

तेजाब आक्रमणमा परेका रौतहटको चन्द्रपुर नगरपालिका– ६ का दिदी-बहिनीमध्ये सम्झना दासको अवस्था निकै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

चन्द्रपुरका दिदी–बहिनी सम्झना र सुस्मितामाथि घरमा सुतिरहेका बेला २६ भदौ मध्यरातमा तेजाब आक्रमण भएको थियो ।

राति नै स्थानीय चकोर अस्पतालमा पुर्‍याइएका उनीहरुलाई त्यहाँ उपचार सम्भव नभएपछि २७ भदौमा काठमाडौंको कीर्तिपुर अस्पतालमा भर्ना गरी उपचार गरिंदै छ ।

१८ वर्षीया दिदी सम्झनाको अवस्था चिन्ताजनक रहेको र उनको जीवन के हुन्छ भन्ने बारे आश्वस्त हुन सकिने अवस्था नरहेको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार सम्झनाको अनुहार, आँखा, टाउको, ढाड लगायत घुँडादेखि माथिको अधिकांश भाग जलेको छ । तेजाबले उनको शरीरको भित्री तहसम्म घाउ बनाएकाले अवस्था झन् जटिल बनेको उनले जानकारी दिए ।

आइसीयूमा राखिएकी सम्झनालाई संक्रमणबाट जोगाउन आज विहान शल्यक्रिया गरी जलेको भाग खुर्किएर नक्कली छाला राखिएको छ । घाउमा केही सुधार आएमा आइतबार, ३१ भदौमा शरीरको अन्यभागको छाला झिकेर राख्न सकिने डा. बस्नेतले जानकारी दिएका छन् । "तर उनको अवस्था के हुन्छ अहिले केही भन्न सकिने अवस्था छैन," डा बस्नेतले भने ।

कीर्तिपुर अस्पतालमा उपचाररत १५ वर्षीया सुस्मिता दास

बहिनी सुस्मिताको भने वार्डमै उपचार भइरहेको छ । उनको दाहिने हात, घाँटी र अनुहारमा तेजाबले घाउ बनाएको छ । उनको शरीरमा सम्झनाको भन्दा कम तेजाब परेकाले उनी सुरक्षित रहेको चिकित्सकले बताए ।

सुस्मिता कुराकानी गर्न सक्ने अवस्थामा छन् भने सम्झना बेहोसजस्तै छन् ।

२६ भदौ राति किशोरीहरुका बाबु सागर दास घरदेखि केही पर आफैंले सञ्चालन गरेको पूल हाउसमा थिए भने घरमा सम्झना र सुस्मिता एउटा कोठामा र उनीहरुको कान्छी बहिनी र आमा अर्को कोठामा सुतेका थिए । त्यसैबेला सम्झना र सुस्मितामाथि कसैले तेजाब आक्रमण गरेको थियो ।

अहिलेसम्म आक्रमणकारीको पहिचान हुन सकेको छैन । यसअघि आफूसँग स्थानीय केही व्यक्तिको रिसइवी भए पनि आक्रमण कसले ग¥यो भन्ने एकिनका साथ भन्न नसकिने सागर दासले बताए ।

-मोनिका देउपाला

प्रतिकृया दिनुहोस