समाचारबिहिवार, भाद्र २८, २०७५

काउन्सिलले बन्द गर्‍यो क्यान्सर विषयको पढाइ

हिमालखबर

वीर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत पढाइ हुने क्यान्सर रोगको कार्यक्रम बन्द भएको छ ।

नेपाल मेडिकल काउन्सिलको ३ भदौमा बसेको पूर्ण बैठकले न्याम्समा क्यान्सर रोग विषयको सिट कटौती गरेपछि १५ वर्षदेखि भइरहेको पढाइ बन्द भएको हो ।

काउन्सिलको निर्णयसँगै रेडियसन अंकोलोजी र मेडिकल अंकोलोजी (डिएम) विषयको पढाइ रोेकिने भएको छ । नेपालमा न्याम्सले मात्रै क्यान्सर रोगको विषय पढाउँदै आएको थियो । 

न्याम्सले प्रत्येक वर्ष रेडियसन अंकोलोजीमा दुईदेखि चार र मेडिकल अंकोलोजीमा दुई विद्यार्थी पढाइरहेको थियो ।

वीर अस्पतालको न्याम्समार्फत सन् २००३ देखि रेडियसन अंकोलोजी र २०१३ देखि मेडिकल अंकोलोजी विषयको पढाइ शुरु भएको थियो ।

वीर अस्पतालका क्यान्सर रोग विभाग प्रमुख डा. विवेक आचार्य काउन्सिलले सिट कटौती गरेसँगै क्यान्सर रोग विषयको पढाइ बन्द भएको बताउँछन् ।

किन बन्द गरियो ?
मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्मा अनुगमनको क्रममा रेडियोथेरापी गर्ने लिन्याक मेसिन नभएको र भक्तपुर क्यान्सर अस्पतालसँग गरेको सम्झौतापत्र उपलब्ध नगराएका कारण पढाइ बन्द गर्नुपरेको बताउँछन् ।

डा. शर्मा भन्छन्, “लिन्याक मेसिन नै नभएपछि विद्यार्थीको पढाइमा असर पर्छ ।”

यस्तै, न्याम्सले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन भक्तपुर क्यान्सर अस्पतालसँग सम्झौता गरेको थियो । सम्झौताबारे न्याम्सले प्रमाण दिन नसकेपछि बन्द गर्नु परेको डा. शर्मा बताउँछन् ।

तर, विभाग प्रमुख डा. आचार्य मेसिन ल्याएर जडान गर्ने तयारी भइरहेका बेला काउन्सिलले पढाइ नै बन्द गरिदिएको गुनासो गर्छन् । उनी भन्छन्, “भक्तपुर अस्पतालसँग गरेको सम्झौतापत्र पनि काउन्सिलमा पठाइसकेका छौं ।”

काउन्सिल रजिष्ट्रार शर्मा आउने अक्टोबर महिनासम्म न्याम्सले लिन्याक मेसिन र भक्तपुर क्यान्सर अस्पतालसँग गरेको सम्झौतापत्र देखाए सिट दिन सक्ने बताउँछन् ।

काउन्सिलले उपलब्ध पूर्वाधार र जनशक्तिका आधारमा मेडिकल कलेजको सिट निर्धारण गर्दै आइरहेको छ ।

रामु सापकोटा

 

 

प्रतिकृया दिनुहोस