व्यक्तित्वबिहिवार, भाद्र २८, २०७५

आयुर्वेदको उद्यम

सविना देवकोटा

अमेरिकामा इञ्जिनियरिङ पढेर पनि आयुर्वेदको अध्ययनमा लागेकी श्वेताको कम्पनीले स्वदेशी जडीबुटीको प्रयोगबाट सौन्दर्य प्रसाधनका सामग्री बनाइरहेको छ ।

श्वेता उपाध्याय । तस्वीरहरु: मोनिका देउपाला

पाँच वर्षअघि पर्वतारोहण गरेर फर्केका एक विदेशी पर्यटक विभिन्न हस्पिटलमा उपचार गर्दा पनि छालाको सुक्खापन निको नभएपछि काठमाडौं, दरबारमार्गस्थित ‘लावण्य लग्जरी आयुर्वेद’ मा आए ।

आयुर्वेद सञ्चालक श्वेता उपाध्याय (४०) ले उनको छालाको प्रकृति हेरेर आफैंले बनाएको डिप नरिसिङ क्रिम दिइन् । क्रिम लगाएको एक दिनमै छालामा सुधार आएपछि ती पर्यटक धन्यवाद दिन आए । श्वेता भन्छिन्, “त्यतिबेला मलाई आफ्नो कामप्रति गर्व लागेको थियो ।” 

सन् २०१२ मा कम्पनी दर्ता गरेर सौन्दर्य सम्बन्धी सेवा दिंदै आएकी श्वेताका उत्पादनलाई बजारले पनि माग गर्न थालेको छ । विगत पाँच महीनादेखि उनले टंगालस्थित आफ्नै उत्पादन गृहमा सौन्दर्य सामग्री उत्पादन गर्न थालेकी छन् । आफ्ना प्रत्येक उत्पादन राज्यको अनुसन्धान र अन्य स्वतन्त्र अन्वेषणहरूबाट समेत गुणस्तर प्रमाणित भएको उनको दाबी छ ।

भन्छिन्, “हाम्रो उत्पादन चरकसंहिता, भावप्रकाश, अष्टाङ्गहृदयम् र मानव निदान जस्ता आयुर्वेदका पुराना शास्त्रीय पुस्तकहरूमा पाइने ज्ञानमा आधारित छ ।” उनले आफूकहाँ सेवा लिन आउने ग्राहकलाई आयुर्वेदका सिद्धान्त अनुसार शरीर, दैनिकी र जीवनशैली हेरेर आयुर्वेदिक परामर्श पनि दिने गरेकी छन् ।

काठमाडौंको गैह्रीधारामा आध्यात्मिक पृष्ठभूमिको परिवारमा हुर्किएकी श्वेताको बाल्यकाल भागवत गीता, उपनिषद् र वेदका श्लोकहरू सुनेर बितेको उनी बताउँछिन् । बाल्यकालदेखि नै वेदान्त र पूर्वीय दर्शन बारे सुन्ने–बुझ्ने अवसर पाएकी उनी आयुर्वेद क्षेत्रमा आउनुको कथा भने लामो छ ।

नेपालबाट एसएलसी गरेकी श्वेताले भारतको केरलबाट गणित र भौतिक विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरी सन् १९९७ मा इलेक्ट्रिकल इञ्जिनियरिङ पढ्न अमेरिकाको बोस्टन शहर पुगिन् । त्यहाँ स्नातक गरेपछि पनि उनलाई आफूभित्र कुनै ‘इलेक्ट्रिकल इञ्जिनियर’ तयार भएको महसूस भएन, त्यसैले बाल्यकालदेखिको रुचि पछ्याउँदै उनी जडीबुटी र आयुर्वेदशास्त्रतर्फ जिज्ञासु बन्न थालिन् ।

यसै क्रममा उनले ‘इन्ट्रो टु आयुर्वेद’ नामक १६ घण्टाको कक्षा लिइन् । आयुर्वेदको परिचयात्मक ज्ञानसँग सम्बन्धित त्यो कक्षा नै उनको जीवनको लक्ष्य बदल्ने मोड बन्न पुग्यो । आयुर्वेदलाई संसारभरका अधिकांश आयुर्वेदशास्त्रीले जस्तो स्वास्थ्योपचारमा मात्रै सीमित नगरी सुन्दरतासँग जोड्ने श्वेताले अठोट लिइन् ।

त्यसपछि अमेरिकाकै क्यालिफोर्नियास्थित ‘वेदिका ग्लोबल इन्ष्टिच्यूट’ मा पाँच वर्षसम्म अध्ययन गरी नेपाल फर्केर आयुर्वेदिक उत्पादनमा लागेकी हुन् । 

“प्रत्येक रोग र विकारको निवारण प्रकृतिमै उपलब्ध छ भन्ने मलाई लाग्थ्यो” उनी भन्छिन्, “अध्ययनका क्रममा आयुर्वेद अन्तर्गत पनि छाला सौन्दर्यमा मलाई विशेष रुचि भयो । अनि, यसमा खोज र प्रयोगात्मक अध्ययन गर्न थालें ।” शुरुमा उनले विभिन्न जडीबुटीको मिश्रणबाट क्रिम, तेल, साबुन लगायत सौन्दर्य सामग्री बनाउन थालिन् ।

“पहिलो पटक अग्र्यानिक रातो गुलाफ र स्याफरोन मिसाएर क्रिम बनाएकी थिएँ” उनी सम्झन्छिन् “प्रयोग गर्दै जाँदा बनेका विभिन्न फर्मूलाहरूले बिस्तारै गुरुहरूबाट पनि स्वीकारोक्ति पाउन थाल्यो ।” यस्तै अध्ययन र अभ्यासले उनलाई आयुर्वेदिक उत्पादन कम्पनी खोल्ने बल मिल्यो ।

उनी आफ्नो कम्पनीको नाम लावण्य राख्नुको कारण प्रष्ट्याउँछिन् “आयुर्वेदले सुन्दरतालाई विभिन्न तहमा परिभाषित गरेको छ । लावण्य शब्दले त्यस्ती सुन्दर महिलालाई बुझाउँछ, जो भित्री र बाहिरी दुवै रुपमा सुन्दर छिन् । त्यसैले कम्पनीको नाम लावण्य राखेकी हुँ ।”

तुलसी, बेसार, खमिर, चन्दन, नीम, मह, अदुवा, मन्जिस्ता, गुलाफ, कागती, जपाकुसुम, भृङ्गीराज, चौंरीको दूध जस्ता आयुर्वेदिक महत्व भएका जडीबुटी र घरेलु उत्पादनको प्रयोगबाट उनको कम्पनीले छाला सौन्दर्यका सामग्री उत्पादन गर्ने गर्छ । सौन्दर्य सामग्री उत्पादनका लागि विभिन्न कच्चा पदार्थ तथा ताजा जडीबुटी उनले मुलुककै हिमाली र तराई भेगबाट ल्याउने गर्छिन् ।

खेतबारी र वनमा खेर जाने जडीबुटीलाई पहिचान गरी सरकारले संरक्षण र प्रवद्र्धन गर्न ढिलाइ गरेको उनको गुनासो छ । इसापूर्व ३००० भन्दा पहिले नै भारत वर्षबाट विकसित भएको मानिने अथर्ववेदको उपवेद, आयुर्वेद अनुसार शरीर, मन र आत्माको सन्तुलनमा मानव स्वास्थ्य निर्भर हुन्छ । त्यस्तै, शरीरमा रोग मुख्यतः त्रि–दोषहरू (बाथ, पित्त र कफ) को असन्तुलन हुने गर्दछ । सबै रोग जीवनयापनमै निर्भर हुने हुँदा प्रत्येक मानिसमा आयुर्वेदको सामान्य चेत हुनुपर्ने श्वेताको बुझाइ छ । 

छाला सौन्दर्यमा बढ्दो चेत
पछिल्लो समय छालाको सौन्दर्यलाई लिएर नेपाली उपभोक्तामा चेतनास्तर बढेको श्वेताको अनुभव छ । उनी भन्छिन्, “पहिलेपहिले हाम्रो उत्पादन विदेशीले बढी खरीद गर्थे, अहिले नेपाली उपभोक्ताहरू उल्लेखनीय मात्रामा बढेका छन् ।”

श्वेताका अनुसार हाल लावण्य का उत्पादनको ८० प्रतिशत नेपालमै बिक्री हुन्छ । बाँकी २० प्रतिशत अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलिया जस्ता देशमा जान्छन् । नेपालमा गुणस्तरीय कस्मेटिक सामग्री नपाइने भन्दै विदेशबाट मगाउने नेपाली उपभोक्ता अहिले लावण्य का सामग्री र सेवाप्रति आकर्षित हुन थालेको उनी बताउँछिन् ।

आफ्ना उत्पादनमध्ये मुखमा लगाउने क्रिमबाहेक अन्यमा ‘प्रिजरभेटिभ’ प्रयोग नगरिएको र सबै सामान हातैले बनाउने गरिएको उनको दाबी छ । लावण्य का लागि आफूले करीब रु.२ करोड लगानी गरिसकेको बताउने श्वेता भन्छिन्, “मैले सोचेजस्तो गर्न अझै धेरै काम बाँकी छ ।”

प्रतिकृया दिनुहोस