समाचारबिहिवार, भाद्र २८, २०७५

रघुगंगा नदीको बाढीले विद्यालय भवन बगायो, बेनी बजार जोखिममा

हिमालखबर

रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । रघुगंगा नदी छहरीमा थुनिएपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए।

बाढीले घ्याँसीखर्क्स्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनि क्षति पु¥याएको छ। खरीबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर र कुईनेमंगलेको तेर्साे भन्ने ठाउँमा अर्को एउटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको वडा अध्यक्ष छन्त्यालले बताए।

करिब बीस घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ। यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिराका साथै रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षति पु¥याएको छ।

सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्की पर्खाल बाढीले बगाएको प्रजिअ लिलाधर अधिकारीले बताए। करिब पचास मिटर पक्की पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको हो। यसैगरी उक्त गाउँपालिका ३ राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तर्गतको बेलिब्रिज कटानको जोखिममा परेको छ। - रासस

प्रतिकृया दिनुहोस