समाचारबुधवार, भाद्र २७, २०७५

पत्रकार राजु बस्नेतलाई तत्काल रिहा गर्न कांग्रेसको माग

हिमालखबर

नेपाली कांग्रेसले प्रहरी हिरासतमा रहेका पत्रकार राजु बस्नेतलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा पत्रकार बस्नेतमाथिको आपत्तिजनक व्यवहारलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख छ ।

विज्ञप्तिमा सोधिएको छ, “हामी राज्यको सार्वजनिक जवाफ चाहन्छौं– संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको बिम्व के कलमजिवीका हातमा हतकडी हो ?”

“केही समय यता राज्य संयन्त्र नै मिडियाप्रति असहिष्णु ढंगले प्रस्तुत भइरहँदा त्यसले लोकतान्त्रिक सत्ता र संस्कृतिको होइन अधिनायकवाद उन्मुख प्रवृत्तिको शृंखलालाई पुष्टि गर्दै गएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

खोजतलास साप्ताहिक र खोजतलासडटकमका प्रकाशक तथा प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले २५ भदौमा ललितपुर ठेंचोस्थित उनको घरबाट पक्राउ गरेको हो ।

खोजतलास साप्ताहिक र खाजेतलासडटकमले  'हरिसिद्दिको जग्गा गैरकानूनी रुपमा बिक्री गर्न सांसदहरुले दबाब दिएको' दृष्टि साप्ताहिकमा प्रकाशित समाचार साभार गरेको थियो ।  समाचारमा नेकपाकी सांसद पम्फा भुषाललगायतले हरिसिद्दि इँटा उद्योगको जग्गा व्यक्तिको नाममा नामसारी गर्न दबाब दिएको उल्लेख छ ।

प्रहरीले अनुसन्धानका लागि बस्नेतलाई ४ दिन थुनामा राख्न जिल्ला अदालत ललितपुरबाट अनुमति लिएको छ ।

उक्त विषयकै समाचार प्रकाशन गरेका कारण बस्नेत यसअघि १६ साउनमा पनि पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस