समाचारबुधवार, भाद्र २७, २०७५

एक वर्षभित्रै नेपालबाट चीनमा सिधा उडान हुन्छ:  मन्त्री अधिकारी

हिमालखबर

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एक वर्षभित्र नेपाली वायुसेवा कम्पनीले चीनमा सिधा उडान गर्ने बताएका छन् ।

हालै चीन भम्रणबाट फर्केका मन्त्री अधिकारीले छेन्दुमा नेपाली वायूसेवा कम्पनीलाई उडान अनुमति दिने विषयमा सिचुवानका गभर्नरसँग छलफल भएको जानकारी दिए।

"गभर्नरले विमानस्थलको चाप व्यवस्थापन गर्दै नेपाली कम्पनीलाई छेन्दुमा उडान अनुमति दिने प्रतिवद्धता जनाएका छन्, " अधिकारीले भने।    

नेपाल–चीन बीचको हवाई सम्झौताअनुसार नेपाली एअरलाइन्स कम्पनीले चीनका ७ वटा शहरमा उडान गर्न पाउँछन्। सम्झौतामा बेइजिङ, सांगहाई, ल्हासा, क्वाङजाउ, कुनमिङ, छेन्दु र चियानमा नेपालका एअरलाइन्सले उडान गर्न सक्ने उल्लेख छ।

तर 'स्लट' नभएको कारण देखाउँदै चिनिया पक्षले नेपाली विमानलाई उडान अनुमति दिन आनाकानी गर्दै आएको छ।

चिनियाँ विमान कम्पनीले नेपालमा निर्वाध उडान गरे पनि नेपालका हिमालयन एअरलाईन्स  र नेपाल एअरलाईन्सले भने चीन उडान गर्न खोजे पनि अनुमति पाउन सकेका छैनन् ।

बेईजिङमा ९ महिना भित्र नयाँ विमानस्थल निर्माण सम्पन्न हुने र त्यसलगत्तै नेपाली कम्पनीले बेईजिङमा उडान अनुमति पाउने मन्त्री अधिकारीले बताए ।

 

प्रतिकृया दिनुहोस