कला/साहित्यबुधवार, भाद्र २७, २०७५

समाजले विवाह नामको संस्थामा महिलाहरुलाई कमजोर बनाएको छ : कल्की कोचलिन

हिमालखबर

फ्रेन्च अभिनेत्री तथा लेखक कल्की कोचलिनले एक दशकयता भारतलाई कर्मथलो बनाएकी छन्। ३४ वर्षीया अभिनेत्रीले बलिउडका व्यावसायिक र नयाँ धारका सहित करीब दुई दर्जन फिल्ममा अभिनय गरिसकेकी छन्। लन्डनमा थिएटर पढेकी उनी बौद्धिक विचार मन्थनमा अघि सरिरहेकी हुन्छिन्। हालै एक कार्यक्रममा उनले भनेकी छन्, "समाजले विवाह नामको संस्थालाई यस्तो स्वरुपमा ढालेको छ, जहाँ महिलालाई कमजोर रुपमा हेरिन्छ।"

शैली चोपडा र मेघना पन्तले लेखेको पुस्तक ‘फेमिनिस्ट रानी’ को नयाँ दिल्लीमा आयोजित विमोचन समारोहमा कल्कीले महिलाको मुद्दामा विचार राखेकी हुन्। उनले एक महिलाको जीवनमा विवाहसँगै 'स्वामित्व' पनि जोडिएर आउने र त्यो सबैभन्दा ठूलो समस्या रहेको टिप्पणी गरिन्।

कल्कीले बलिउडका फिल्म निर्माता तथा निर्देशक अनुराग कश्यपसँग सन् २०११ मा विवाह गरेकी थिइन्। तर, दुई वर्षमै उनीहरु अलग भए, २०१५ मा सम्बन्ध विच्छेद नै गरे।

कल्कीका अनुसार, विवाहपछि कतै बोलाउँदा अनुरागलाई आमन्त्रित गरिएपछि मात्र उनलाई निम्ता दिइन्थ्यो। मानिसहरु उनलाई ‘अनुरागकी पत्नी’ भन्थे। तर, अनुरागलाई कहिले पनि ‘कल्कीका पति’ भन्थेनन्।

उनले भनिन्, "विवाह नामको संस्थाले महिलालाई कमजोर बनाउँछ। कतिसम्म भने, पतिले सशक्त बनाउन चाहे पनि महिला कमजोर नै रहन्छन्। कारण, समाजले यो संस्थालाई यसै प्रकारले बनाएको छ।"

उनले कुनै पनि सम्बन्धमा इमानदारी र स्वतन्त्रता जरुरी भएको पनि बताइन्। अनुरागसँग सम्बन्ध विच्छेद गरेपछि उनी कुन हदबाट गुज्रिइन्, यस बारे पनि उनले सुनाइन्। उनले भनिन्, "मैले आफूलाई लामो समयसम्म एक्लो पाएँ। कसैगरी त्यो खालीपनलाई मैले भर्नु थियो। यो शून्यतालाई कुनै पनि प्रकारको पागलपन अपनाएर, रक्सी पिएर वा हरदम मानिसहरुबाट घेरिएर भर्ने मेरो चाहना थिएन। मैले त्यो शून्यता हटाउन आफ्नो अन्तर्मुखी रुपलाई नै छानेँ। घरमा बस्नुका साथै परिवारका सदस्यहरुसँग धेरै समय बिताउन थालेँ। यस्तो यात्राबाट गुज्रिएकोमा म खुशी छु।"

कार्यक्रममा कल्कीले आफ्नो फिल्मी करिअर र नारीवादबारे पनि कुरा राखिन्। यस क्रममा उनले नारी र पुरुष बराबर भएको र एक-आपसलाई सम्मान गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘हामी पितृसत्तात्मक समाजमा बसिरहेका छौं, यसै कारण नारीवाद शब्दलाई पितृसत्ता विरुद्ध प्रयोग गरिन्छ। तर, नारीवादको अर्थ पुरुष सत्तालाई गाली गर्नु नभई नारी पनि पुरुषसरह हुन् भन्नुसँग छ। मलाई लाग्छ, 'नारीवाद' को साटो 'समानतावादी’ शब्द प्रयोग गरिनुपर्छ। किनकि यसले सबै मानिस बराबर हुन् र एक-अर्काको सम्मान गर्नुपर्छ भन्ने मर्म बोक्छ।"

बलिउडमा 'देव-डी', 'जिन्दगी ना मिलेगी दोबारा', 'सांघाई' जस्ता व्यावसायिक फिल्ममा अभिनय गरेकी कल्की 'मार्गरिटा विथ अ स्ट्र', 'द्याट गर्ल इन यलो बूट्स', 'वेटिङ' जस्ता फिल्ममा गैरपरम्परिक भूमिकामा देखिएकी छन्। अभिनय यात्राबारे उनले भनिन्, "आफ्नो गैरपरम्परागत रुचिका लागि मैले फिल्म र वास्तविक जीवन ठूलो मूल्य चुकाउनु परेन।"

फिल्म क्षेत्रमा गर्नुपरेको संघर्षबारे उनी भन्छिन्, "मैले सोचविचार गरेर फिल्म छनोट गर्ने आफ्नो स्वतन्त्रता र योग्यता कायमै राखेको छु। के साँचो हो भने, मानिसहरुले मलाई रुढिवादी बनाउने प्रयास पनि गरे, तर त्यो पानीको फोका साबित भयो। तपाईंले आफ्नो नयाँ फिल्म जस्तै नयाँ हुँ भन्ने महसूस गरेपछि कसैले थोपर्न सक्दैन। तपाईंले शुरुवाती प्रतिक्रियाहरुबाट टाढा बसेर हेर्नुपर्छ र यो बोध गर्नुपर्छ, अझै बढी काम गर्नु छ र केही गजब गर्ने कोशिश अझै बाँकी छ।" – 'द वायर'बाट

 

प्रतिकृया दिनुहोस