आज लक्ष्मी पूजा, महाकवि लक्ष्मी जयन्ती
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो ।
दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो ।
देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
लक्ष्मीपूजा गरिँदै
यमपञ्चकको तेस्रो दिन आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।
बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ ।
आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।