समाचारमंगलवार, भाद्र २६, २०७५

रौतहटः बलात्कारका आरोपी छुटाउन चक्काजाम, एक हवल्दार र दुई प्रदर्शनकारी घाइते

हिमालखबर

रौतहटको गरुडामा बालिका बलात्कारका आरोपीलाई प्रहरी नियन्त्रणबाट छुटाउन गरिएको चक्का जाम खुलाउन प्रहरीले बल प्रयोग गर्दा दुई जना प्रदर्शनकारी र एक प्रहरी घाइते भएका छन् ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियाका ५५ वर्षीय सहमद अन्सारीलाई छुटाउन आज उनका आफन्तले गरुडामा चक्का जाम गरेका थिए ।

स्थानीयका अनुसार बलात्कारको घटना गत १९ भदौमा भए पनि घटनालाई गाउँघरमै मिलाउन दबाब परेपछि अन्सारी पक्षले बालिकाका परिवारलाई १ लाख २० हजार रुपैयाँ दिने सहमति भएको थियो ।

तर बालिकाका परिवारले कबोल वमोजिमको रकम नपाएपछि प्रहरीमा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले अन्सारीलाई पक्राउ गरेपछि त्यसको विरोधमा अन्सारीका आफन्तले गरुडा बजारमा यातायात बन्द गराउँदै प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले सडक खुलाउने क्रममा दुई पक्षबीच भिडन्त भएको हो

त्यसक्रममा प्रहरीले सामान्य लाठी चार्ज समेत गरेको थियो । प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरी हवल्दार अनिल कुशवाहा घाइते भएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रदर्शनकारीतर्फ दुई जना घाइते भएका छन् ।

प्रदर्शनकारीले प्रहरीको ना.१ झ. ५४२ नम्वरको जीपमा तोडफोड गरेका छन् भने अर्को ना १ ज ६१९२ नम्बरको म्याजिक भ्यानमा पनि तोडफोड भएको छ ।

तोडफोडमा संलग्न गढीमाई नगरपालिका–३ का शाहीद अन्सारी, अबुसैद अन्सारी र अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी अर्को एक बलात्कारको आरोपमा प्रहरीले ईशनाथ– १ औरैयाका १७ वर्षीय विकासराज यादवलाई नियन्त्रणमा लिएको छ ।

दुवै अभियुक्तलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको रौतहट प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिएका छन् ।
सञ्जय मित्र, रौतहट

प्रतिकृया दिनुहोस