नवाज शरिफकी पत्नी कुल्सूम नवाजको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी पत्नी कुल्सूम नवाजको बेलायतको लन्डनमा निधन भएको छ।
६८ वर्षीया कुल्सूमलाई करिब एक वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । उनलाई करिब दुई महीनाअघि हृदयाघात पनि भएको थियो।
पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम दुवै जना अहिले पाकिस्तानको जेलमा छन्।
कुल्सूमलाई लन्डनमै छोडेर गत जुलाई महिनामा निर्वाचनअघि छोरीसहित शरिफ स्वदेश फर्किएका थिए।
त्यसअघि नै नवाज शरिफ र मरियम शरिफलाई उनीहरूको अनुपस्थितिमा भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर गरी जेल सजाय सुनाइएको थियो।
भ्रष्टाचारको मुद्दामा दोषी भएको भन्दै पाकिस्तानको अदालतले शरिफलाई राजनीतिमा संलग्न हुन प्रतिबन्ध लगाएको छ।
गत वर्ष उनी पदमुक्त भएपछि खाली भएको निर्वाचन क्षेत्रबाट कुल्सूम सांसद निर्वाचित भएकी थिइन्। तर विदेशमा क्यान्सरको उपचार चलिरहेका कारण उनले शपथ भने लिन सकिनन्।
तीन पटक प्रधानमन्त्री भइसकेका शरिफलाई गत वर्ष अदालतले पदमुक्त गरिदिएको थियो ।