समाचारमंगलवार, भाद्र २६, २०७५

सलाम एयरले उडान शुरु गर्‍यो

हिमालखबर

थाइल्याण्डको थाइ लायन एयरले नेपालमा उडान शुरु गरेको दुई साता नबित्दै ओमनको सलाम एयरले आजदेखि काठमाडौँमा उडान शुरु गरेको छ । 

हाल विभिन्न ३२ अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले काठमाडौँमा उडान गर्दै आएका छन् । नेपालको व्यावसायिक समूह आइएमइले प्रवर्धन गरेको आइएमइ इन्टरनेशनल ट्राभल्सको संयोजनमा ओमनको सलाम एयरले काठमाडौँ उडान शुरु गरेको हो । कूल १७४ सिट क्षमता रहेको उक्त विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

सस्तो भाडामा नै सेवा दिने लक्ष्यका साथ आफूहरूले ओमनको ‘बजेट एयरलाइन्स’ भित्र्याएको आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । सलाम एयरले काठमाडौंदेखि ओमनसम्मको न्यूनतम् भाडा रु १६ हजार तोकेको छ । एयरलाइन्सले हरेक दिन बिहान ८ बजे अवतरण र ८:४० मा उडान भर्ने गरी तालिका मिलाइएको छ । 

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आइएमइ समूहका अध्यक्ष ढकालले भने, “वैदेशिक रोजगारीका लागि ओमन जाने नेपालीको सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएको छ । सलाम एयरको उडान तालिकापछि सहज र सरल मूल्यमा हवाइयात्रा गर्न सहज व्यवस्था मिलाइएको छ ।”

सलाम एयरले ओमनको पहिलो बजेट एयरलाइन्सको रूपमा सन् २०१७ देखि व्यावसायिक उडान शुरु गरेको हो । सलाम एयरले मस्कटलाई केन्द्र बनाएर कूल १७४ सिट क्षमताको एयरबस ३२० जहाजले विभिन्न १५ स्थानमा उडान गर्दै आएको छ । काठमाडौँ उडान थपिएपछि सो विमान कम्पनीको १६ औँ गन्तव्य भएको हो । 

प्रतिकृया दिनुहोस