समाचारसोमवार, भाद्र २५, २०७५

मिश्रको शाखा अधिकृतदेखि प्रधानन्यायाधीश सम्मको यात्रा

हिमालखबर

ओमप्रकाश मिश्र सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएका छन् ।

नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सोमबार सर्वोच्च अदालतमा स्वागत गर्दै न्यायाधीश दीपकराज जोशी । तस्वीर: रासस

२५ भदौमा संसदीय समितिबाट अनुमोदन भएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गरेकी हुन् ।

गत १ चैतमा सर्वोच्च अदालतबाट गोपाल पराजुलीको बहिर्गमन भएपछि प्रधानन्यायाधीश पद रिक्त थियो । मिश्र नेपालको २८औं प्रधानन्यायाधीश बनेका छन् ।

सर्वोच्च अदालतकाअनुसार १८ पुस २०१० मा जन्मेका मिश्रले प्रधानन्यायाधीशमा ६५ वर्षे उमेरहदका कारण आगामी १७ पुसमा अवकाश पाउनेछन् ।

मिश्र १३ जेठ २०७१ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

उनले शाखा अधिकृतबाट अतिरिक्त जिल्ला न्यायाधीश, जिल्ला न्यायाधीश, पुनरावेदन अदालतमा न्यायाधीश र मुख्य न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीशको यात्रा तय गरेका हुन् ।

२० असोज २०३८ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका मिश्र १६ वैशाख २०४२ मा सुर्खेत जिल्ला अदालतको अतिरिक्त जिल्ला न्यायाधीश भएका थिए ।

मिश्र ९ चैत २०४६ मा जिल्ला न्यायाधीश, १४ फागुन २०६२ मा पुनरावेदन अदालतको न्यायाधीश, २५ पुस २०६४ मा विशेष अदालतको न्यायाधीश र ११ जेठ २०७० मा पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीश भएका थिए ।

२० साउनदेखि मिश्रले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।

७ भदौमा सवैधानिक परिषद्ले मिश्रलाई प्रधान्यायाधीशमा सिफारिस गरेको थियो ।

उनले दिल्ली विश्वविद्यालयबाट कानून र त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

यसअघि प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको भए मिश्र न्यायाधीशबाटै सेवानिवृत हुने थिए ।

 

प्रतिकृया दिनुहोस