जोकोभिचलाई युएस ओपनको उपाधि
नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् । यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन् ।
जोकोभिचले डेल पोट्रोलाई ६–३, ७–६, ६–३ को सोझो सेटमा पराजित गरेका हुन् ।
यसअघि आठपटक युएस ओपनको फाइनलमा पुगेका जोकोभिचले सन् २०११ र २०१५ मा पनि उपाधि जितेका थिए ।
उनी राफेल नाडालभन्दा तीन वटा ग्रान्डस्लामले पछि छन् भने अर्का महान खेलाडी रोजर फेडररभन्दा ६ वटा ग्रान्डस्लामले । फेडररको नाममा हालसम्म २० वटा ग्रान्डस्लाम उपाधि जितेको रेकर्ड छ ।
उपाधि हात पारेसँगै उपस्थित दर्शकलाई सम्बोधन गर्दै पिट साम्प्रासका फ्यान जोकोभिचले भने, “म पिट साम्प्रासलाई प्रेम गर्दछु, तपाइँ मेरो आदर्श पुरुष हो ।”
गत वर्ष कुहिनाको चोटका कारण खेल्न नसकेका ३१ वर्षीय सर्बियाली जोकोभिच अहिलेका प्रतिभावान खेलाडी हुन् ।