समाचारसोमवार, भाद्र २५, २०७५

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक असोजमा

हिमालखबर

नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित ऊर्जा संयन्त्रको पहिलो बैठक ११–१२ असोजमा हुने भएको छ ।

काठमाडौंमा हुने बैठकमा सहभागिता जनाउनुअघि चिनियाँ पक्षले अजेण्डा पठाउन नेपाली पक्षसँग आग्रह गरेको छ ।

बैठकमा नेपाल–चीनबीचको अन्तरदेशीय प्रसारण लाइन र ग्रिड कनेक्सन, दुई देशबीचमा संयुक्तरुपमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत् परियोजना र ऊर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत असारको चीन भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सम्झौतामा हस्ताक्षर भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनका ऊर्जामन्त्री नुर बेक्रीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

समझदारीअनुसार दुवै देशले ऊर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमति भएको थियो । नेपालले उक्त सम्झौताअनुसार सात सदस्यीय संयन्त्र गठन गरेको छ ।

ऊर्जामन्त्री पुनले चीनसँग भएका सहमतिलाई अघि बढाउन संयन्त्रको बैठक बोलाउने निर्णय भएको जानकारी दिए । रासस

 

प्रतिकृया दिनुहोस