समाचारसोमवार, भाद्र २५, २०७५

पाँच भाइबैनी विचल्लीमा

हिमालखबर

बाबुको क्यान्सरका कारण मृत्यु र आमा समेत दोस्रो विवाह गरेर अन्तै गएपछि बाजुराको बडिमालिका– ५ मना गाँउका पाँच बालबालिका बिच्चलीमा परेका छन् ।

उनीहरुले गाउँमा मागेर खाइरहेको स्थानीय तुल साउद बताउँछन् । पाँचै जना बालबालिका कुपोषणको शिकार भएको वडाध्यक्ष बलबहादुर थापाले बताए ।

करिब तीन वर्षअघि मनाका राम बहादुर साउदको क्यान्सरका कारण ४३ वर्षको उमेरमा मृत्यु भयो । पतिको मृत्यु भएको १० महिना नपुग्दै पत्नी बिर्मा साउदले अर्को विवाह गरिन्– छोराछोरी रेखदेखको कुनै व्यवस्था नगरेरै ।

अहिले रामबहादुर र बिर्माका छोराछोरी १३ वर्षीय पार्वती, ११ वर्षीया सोबिना, ९ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र ४ वर्षीय रोशन बेवारिसे जस्तै भएका छन् ।

बिर्मा अर्को बिहे गरेर जाँदा कान्छो रोशन १२ महीनाको थियो । त्यसपछि केही समय उनीहरुकी फुपु पर्ने कोर्धुकी जमुना बडुवालले केही महिना बालबालिकाको रेखदेख गरेकी थिइन् । अहिले जमुनाले समेत उनीहरुको स्याहार गर्न नसक्ने भएपछि बालबालिका अलपत्र परेका हुन् ।

“बुवा बिरामी भई बिते, अस्पताल जान्छु भनेर हिंडेकी आमा अझै आएकी छैनन, फुपु पनि छोडेर गइन्,” १३ वर्षीया पार्वतीले भनिन् ।

पाँच बालबालिकामध्ये पार्वती कक्षा ८ मा, सोविना कक्षा १, अस्मिता कक्षा २ र सुवास कक्षा १ मा स्थानीय कैलाशेश्वरी माबिमा पढ्छन् । तर, पार्वती भदौ महिनादेखि विद्यालय जान पाएकी छैनन् । भाइबहिनीको खानाको जोहो गर्नुपर्नु भएकोले विद्यालय जान नपाएको उनी बताउँछिन् ।

पार्वतीले भन्छिन्, “कुनै दिन खाने कुरा केही नहुँदा पानीमात्रै खान्छौं, कापी कलम पनि छैन अब यिनीहरु (भाइ–बैनी) लाई कसरी स्कुल पठाउने ?”

वडाध्यक्ष बलबहादुर थापा भन्छन, “यि टुहुरालाई कसैले सहयोग गरिदिए हुन्थ्यो ।”
प्रकाश सिंह, बाजुरा

प्रतिकृया दिनुहोस