समाचारसोमवार, भाद्र २५, २०७५

कृष्णप्रसाद अधिकारी हत्याका आरोपी छविलाल रिहा

हिमालखबर

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपी छविलाल पौडेल कारागारबाट रिहा भएका छन् ।

हिजो, २४ भदौमा जिल्ला अदालत, चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले उक्त मुद्दाका १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल आज बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

गोरखा फुजेलका अधिकारीको हत्याका आरोपी छविलाल गत २५ असारमा जेल चलान गरिएका थिए । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ जनाले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।

जिल्ला अदालत चितवनका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं कारण नदेखिएको उल्लेख छ ।

मुद्दाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाएका हुन् । 

उनीहरुमध्ये छविलाल कारागारमा तथा अन्य सामान्य धरौटी र तारेखमा थिए । प्रतिवादीमध्ये रुद्र आचार्य भने विदेशमा रहेका आचार्यको मुद्दा भने मुल्तबीमा छ ।

फैसलामा भनिएको छ, “मृतकलाई गोली प्रहार गर्ने भनिएका प्रतिवादी रुद्र आचार्य अदालतको म्यादमा हाजिर नभई फरार रहेको हुँदा प्रतिवादी पछि हाजिर भए वा पक्राउ परेका बेला निजलाई यसै मिसिलबाट कारवाही हुने छ”, फैसलामा अगाडि भनिएको छ, “निजको हकमा सावित मुलुकी ऐन अदालती बन्दोबस्तीको १९० बमोजिम मुल्तवीमा राखिदिने ठहर्छ ।” 

प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्लामा हजुरबुबा भेट्न आएका कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीले अपहरण गरी रत्ननगरको बकुलहरमा हत्या गरेको थियो । 

त्यसपछि कृष्णका दाजु नुरप्रसाद र बाबु नन्दप्रसादले हत्याविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। 

मुद्दामा अनुसन्धान नै नभएपछि कृष्णका बाबुआमा नन्दप्रसाद-गंगामायाले अनशन शुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो। तर पनि प्रतिवादी विरुद्ध मुद्दा चल्न सकेको थिएन भने नन्दप्रसाद र गंगामाया अधिकारीले अनशन जारी नै राखिरहँदा ३० चैत २०७० मा चितवन जिल्ला अदालतमा १३ जना विरुद्ध मुद्दा दायर भएको थियो। 

छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका नन्दप्रसादको अनशनका क्रममा निधन भइसकेको छ । उनको अझै अन्त्येष्टी हुन सकेको छैन । गंगामायाले भने केही महिनाअघि अनशन तोडेकी थिइन्।

प्रतिकृया दिनुहोस