टिप्पणीआइतवार, भाद्र २४, २०७५

फोहोर व्यवस्थापनः शहरी क्षेत्रमै सम्भव

हिमालखबर

डा. वेदमणि दाहाल

फोहोरको प्रकार अनुसार बेग्लाबेग्लै संकलन गरेर प्रशोधन गर्न मिल्नेलाई बेच्ने तथा कुहिने फोहोरबाट कम्पोष्ट मल वा बायोग्यास निकाल्ने गरेमा वैज्ञानिक र दिगो व्यवस्थापन हुन सक्छ ।

मानिसले प्रयोग गरिसकेपछि बचेका वस्तुलाई फोहोरमैला भनी परिभाषित गरे पनि केही फोहोर प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिन्छ । प्रशोधन गर्न नसकिने र स्वास्थ्यलाई हानिकारक मानिने वस्तु मात्र व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

विगतमा जनसंख्या थोरै भएकाले फोहोरको उत्पादन पनि कम थियो । समय अनुसार मानिसले अत्यधिक स्रोत–साधनको प्रयोग गर्न थालेसँगै फोहोरको परिमाण पनि बढेर व्यवस्थापन गर्नुपर्ने चुनौती थपियो ।

विभिन्न देशले फोहोर व्यवस्थापनका लागि बेग्लै इकाइहरूको स्थापना गर्ने गरेका छन् । नेपालको इतिहासमा शहरी फोहोर व्यवस्थापनको शुरूआत सन् १९७९ मा फोहोरमैला व्यवस्था बोर्डको स्थापना र जर्मन सरकारको सहयोगमा काठमाडौंको टेकुमा फोहोर थुपार्ने कामबाट भएको मानिन्छ । फलस्वरूप टेकुमा फोहोरबाट कम्पोष्ट मल बनाउने कारखानाको स्थापना र सन् १९८६ मा मूलपानीमा गोकर्ण ल्याण्डफिल साइटको शुरूआत भयो ।

नेपालका शहरी भेगमा जसै जनसंख्या बढ्न थाल्यो, फोहोरको मात्रा र प्रकार पनि बढ्न थाल्यो । महानगरमा एक व्यक्तिले दैनिक करीब ४६५ ग्राम फोहोर उत्पादन गर्ने काठमाडौं महानगरपालिकाको तथ्यांकमा उल्लेख छ । २०१६ को तथ्यांक अनुसार महानगरमा दैनिक साढे ४०० देखि ५०० टन फोहोर निस्किन्छ ।

संकलित फोहोरमा रहेका वस्तुको अध्ययन गर्दा तिनमा करीब ६३ प्रतिशत कुहिने फोहोर, ११ प्रतिशत प्लास्टिक, ९ प्रतिशत कागज, ५ प्रतिशत सिसा, ०.५ प्रतिशत धातु र बाँकी अन्य फोहोर रहेको पाइएको छ । प्रायः प्लास्टिक, कागज, सिसा र धातुहरू प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिने वस्तु हुन् ।

यस्ता वस्तु घरघरबाट संकलन र किनबेचमा केही व्यक्ति तथा संस्था सक्रिय पनि छन् । काठमाडौंको फोहोरमा रहेका नकुहिने विभिन्न वस्तु र कुहिने फोहोरबाट कम्पोस्ट मल बनाई बेच्न सक्ने हो भने प्रतिकिलो तीन रुपैया“ १५ पैसा आम्दानी गर्न सकिन्छ भनेर दशौं वर्ष अघि हाम्रो अनुसन्धानले देखाएको थियो । अहिले यी वस्तुको मात्रा अझ् बढेकोले आम्दानी पनि पक्कै बढ्छ ।

तर, यसका लागि सबैखाले फोहोर एकै ठाउँमा मिसाएर फाल्ने बानी बदल्नुपर्छ । सके फोहोरलाई बेग्लाबेग्लै वर्गमा छुट्याउने र नसके कम्तीमा कुहिने र नकुहिने फोहोर छुट्याउने व्यवस्था गर्नुपर्छ ।

कुहिने वस्तुबाट बायोग्यास निकाल्ने प्रविधि सन् १८५९ तिरबाटै प्रयोगमा आए पनि शहरको फोहोरबाट ग्यास निकाल्ने काम सन् १९७० तिर मात्र शुरू भएको पाइन्छ । जर्मनीको ह्याम्बर्गमा सन् १८९६ मा फोहोरबाट बिजुली निकाल्ने प्रविधि सञ्चालनमा आएको थियो । काठमाडौं महानगरपालिकाले शहरी फोहोरबाट १४ किलोवाट विद्युत् निकाल्ने प्रविधिको शुरूआत टेकुमा गत वर्ष मात्र गरेको हो ।

नेपालमा मुख्यतः गाईबस्तुको गोबर, पातपतिङ्गर, बालीनालीका अंश र भान्साबाट निस्किने कुहिने वस्तुबाट बायोग्यास निकाल्ने प्रविधि सन् १९५५ मा भिœयाइए पनि सन् १९७७ मा गोबरग्यास कम्पनीको स्थापनापछि मात्र सो प्रविधिले गति लिएको हो ।

गोबरबाट बायोग्यास निकाल्ने प्रविधि नेपालमा धेरै पुरानो भए पनि शहरको कुहिने फोहोरबाट बायोग्यास निकाल्ने प्रक्रिया विस्तारै अघि बढ्दैछ । विस्तारित बायोग्यास कार्यक्रम अन्तर्गत सरकारले ५० घनमिटरसम्मका ठूला बायोग्यास प्लान्ट मार्फत शहरको फोहोर उपयोग गर्ने कार्यक्रम ल्याएको छ । नगर क्षेत्रको फोहोरबाट बायोग्यास निकालेर समुदायमा ऊर्जाको रूपमा प्रयोग गर्ने उद्देश्य राखी विराटनगर, पोखरा र तनहुँमा प्लान्ट बन्न थालेका हुन् ।

गोबरग्यास प्लान्टमा गोबरको साथै मानव मलमूत्रबाट पनि ग्यास निकाल्न सकिन्छ । नेपालमा निर्माण भएका प्लान्टहरूमध्ये आधामा चर्पीको फोहोर पनि मिसाएर ग्यास बनाइन्छ भन्ने रिपोर्ट पढ्न पाइन्छ । तर, मानिसको मलमूत्रलाई मात्र प्रयोग गरेर बायोग्यास निकाल्ने प्लान्ट कम छन् । किनकि बायोग्यासका लागि कार्बन र नाइट्रोजनको अनुपात ३० भएमा राम्रो मानिन्छ र गोबरमा यो मात्रा २० देखि २५ सम्म हुन्छ भने मानव मलमा १० सम्म मात्र हुन्छ ।

नेपालका हिमाल आरोहण र पदयात्रामा जाने पर्यटक तथा सहयोगीहरूको मलमूत्र जथाभावी विसर्जन नगरी फेदीमा ल्याएर व्यवस्थापन गर्नुपर्ने नियम छ । यसै क्रममा चिसो ठाउँमा त्यस्तो फोहोरलाई बायोग्यासमा परिवर्तन गर्न सकिन्छ कि भनेर काठमाडौं विश्वविद्यालय र अमेरिकाको सियाटल विश्वविद्यालयका प्राध्यापकहरूले अनुसन्धान गरेका थिए । उक्त अनुसन्धानले सम्भावनाको बाटो खोलेको छ, अझ् विस्तारमा अनुसन्धान भइरहेको पनि छ ।

कुहिने फोहोर अस्तव्यस्त रहँदा निस्किने बायो वा मिथेन ग्यासले वातावरणका साथै मानव स्वास्थ्यमा असर गर्ने भएकाले त्यसबाट बायोग्यास निकाली इन्धनको रूपमा प्रयोग गर्न सके धेरै लाभदायी हुन्छ । वायुमण्डलको तापक्रम बढाउन कार्बनडाइअक्साइड भन्दा मिथेनको भूमिका २१ गुणा बढी हुन्छ । यसैले हरितगृह ग्यास उत्सर्जन घटाई विश्वव्यापी उष्णता रोक्न पनि फोहोरको वैज्ञानिक व्यवस्थापन जरूरी छ ।

डा. दाहाल काठमाडौं विश्वविद्यालयको वातावरण विज्ञान तथा इञ्जिनियरिङ विभागका एसोसिएट प्रोफेसर हुन् ।

पढ्नुहाेस् । 

फोहोर व्यवस्थापनः अव्यवस्थाको पहाड

प्रतिकृया दिनुहोस