कला/साहित्यआइतवार, भाद्र २४, २०७५

अमेरिकी गायक म्याक मिलरको ड्रग ओभरडोजका कारण निधन

हिमालखबर

अमेरिकी र्‍यापर म्याक मिलरको २६ वर्षको उमेरमा निधन भएको छ । म्याकले अत्यधिक लागूऔषध लिएको र त्यसपछि उनलाई कार्डियाक अरेस्ट भएर निधन भएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । उनी क्यालिफोर्नियास्थित आफ्नो घरमै मृत भेटिएका थिए ।

म्याकले १५ वर्षको उमेरदेखि र्‍याप गाउन थालेका थिए । सन् २०११ मा आएको एल्बम 'ब्लू स्लाइड पार्क' बाट उनी चर्चामा आएका थिए । उनको पाँचौं एल्बम 'स्विमिङ' अगस्त २०१८ मा रिलिज भएको थियो ।

उनको निधनमा विज खलिफा, जोन मेयर, डीजे खालिद जस्ता सेलिब्रिटीहरुले सामाजिक सञ्जालमा दुःख प्रकट गरेका छन् ।

म्याक गायकीसँगै व्यक्तिगत जीवनका कारण पनि समाचारमा आउने गर्थे । गायिका एरियाना ग्राण्डेसँगको प्रेम सम्बन्धले निकै चर्चा बटुलेको थियो । दुवैले करीब दुई वर्षसम्म डेट गर्नुका साथै एकसाथ 'माई फेवरेट पार्ट', 'द वे' जस्ता कैयौं गीत रेकर्ड गरेका थिए ।

तर, उनीहरुबीच मनमुटाव आएर सम्बन्ध तोडिएको थियो । गायिका एरियानाले म्याकको कुलतकै कारण सम्बन्ध तोडेकी थिइन् । त्यसपछि एरियानाले हास्य अभिनेता पीट डेविडसनसँग डेट गर्दै  गत जून महीनामा इन्गेजमेन्ट समेत गरेको रिपोर्टहरुमा बताइएको छ ।

एरियानासँगको सम्बन्ध टुंगिएपछि म्याक निकै चोटमा परेका थिए । - एजेन्सी

प्रतिकृया दिनुहोस