कला/साहित्यआइतवार, भाद्र २४, २०७५

मेरा सबै फिल्ममा प्रतिबन्ध लाग्नुपर्छ: ट्विंकल खन्ना

हिमालखबर

सन् १९९० को दशककी चल्तापुर्जा बलिउड अभिनेत्री ट्विंकल खन्नाले आफूले अभिनय गरेका सबै फिल्महरु प्रतिबन्धित हुनुपर्ने बताएकी छन् ।

'बरसात', 'जान', 'मेला', 'जोडी नम्बर वान' जस्ता फिल्महरुमा अभिनय गरेकी ट्विंकल पछिल्लो पटक पति अक्षय कुमार अभिनीत फिल्म 'तीस मार खान' (२०१०) मा देखिएकी थिइन् ।

२०१८ मा आएको चर्चित फिल्म 'प्याडम्यान' की सह-निर्माता समेत रहेकी उनले आफ्नो फिल्मी करिअरमा अभिनयको गुण नै नरहेको बताउँदै आएकी छन् । उनका अनुसार, विगतमा आफ्नो काम सम्झँदा उनलाई लाज लाग्छ ।

शनिबार मुम्बईमा आफ्नो किताब 'द पाइजामाज आर फरगिभिङ' सार्वजनिकीकरणका क्रममा ट्विंकलले आफ्नो अभिनय करिअरको फेरि लेखाजोखा गरिन् । पति अक्षय कुमार, रणवीर सिंह, सोनम कपुर, करण जौहर लगायत कलाकारको उपस्थिति रहेको कार्यक्रममा उनलाई एक पत्रकारले सोधे, "आफूले काम गरेका फिल्म मध्ये कुनको रिमेक बनोस् भन्ने चाहनुहुन्छ ?" यसको जवाफमा उनले हाँस्दै भनिन्, "मलाई लाग्छ, मेरा सबै फिल्ममा प्रतिबन्ध लाग्नुपर्छ ।"

उनले थप्दै भनिन्, "जब मैले अभिनय गरेका फिल्महरुको कुरा आउँछ, म आफूलाई सबै कुरा बिर्सने रोग अल्जाइमर्स भएको होस् भन्ने कल्पना गर्छु ।" पछिल्लो समय अभिनयबाट टाढा रहेकी उनी करण जौहरको निर्देशनमा एउटा विज्ञापनमा अभिनय गर्दैछिन् ।

यसबारे जानकारी दिंदै उनले आफैंप्रति व्यङ्ग्य कसिन्, "भगवानले करणलाई बचाऊन्, किनकि आज पनि मलाई अभिनय गर्न आउँदैन ।" उनले यसो भन्दै गर्दा करण भने हाँसिरहेका थिए । - एजेन्सी

प्रतिकृया दिनुहोस