रिपोर्टआइतवार, भाद्र २४, २०७५

फेरिंदो गौरा र तीज

सेवा भट्टराई

एकातिर भूमि, कृषि, प्रेम सम्बन्ध र माइतीभाव बोक्ने गौरा पर्वमा रमाउने सुदूरपश्चिमका महिलाहरू आधुनिकताले संस्कृति संकटमा परेको चिन्तामा छन् । अर्कोतिर, पितृसत्तात्मक समाजमा आफ्नो आवाज बोल्ने तीजलाई भने समग्र महिलाले आधुनिक तवरले मनाउन थालेका छन् ।

तस्वीरहरुः बिक्रम राई

गएको हप्ता गौरा पर्व मनाउन घर फर्किनेको लर्कोले सुदूरपश्चिमका पहाडी जिल्ला जाने सबै बसहरू भरिभराउ थिए । गौरा पर्वकै लागि केही बस थपिएका पनि थिए । गौरा अवधिभर सुदूरपश्चिमका शहर–बजार सुनसान जस्तै थिए भने गाउँगाउँमा रौनक थियो । मुलुककै सातौं धामका रूपमा प्रख्यात दार्चुलाको मालिकार्जुन मन्दिरमा टाढाटाढाका दर्शनार्थी भेला भएका थिए ।

हरिया पहाडको बीचमा रहेको मन्दिरमा वरिपरिका गाउँबाट दर्शनार्थी समूह दमाहाको घन्काइसँगै आउँथे । केही महिला सारी र कुर्तामा देखिन्थे भने केही परम्परागत आङ्डो र घाँघरमाथि कम्पनीमाला र चाँदीको झुमझुमीमा सजिएका थिए । महिला र पुरुषहरूले आपसमा हात समाएर देउडा, चैत, धमारी जस्ता गीत गाएको दृश्य आकर्षक थियो ।

नेपालमा हिन्दू महिलाले मनाउने थुप्रै चाडमध्ये गौरा र तीज यही भदौ महीना परेका छन् । शिव–पार्वतीमा समर्पित यी दुवै चाडमा केही समानता पनि छन् । पहिले महिलाहरूले यी पर्वलाई पितृसत्तात्मक संरचनाभित्र बसेर त्यसै सत्ताको विरोध गर्ने मञ्च बनाएका थिए, आजकाल नयाँ व्याख्या हुँदा र परम्परागत पक्ष पछि पर्दै जाँदा यी पर्व जमघट र भोजभतेरका रुपमा मनाइन थालेका छन् ।

‘माइती आएकी छोरी’
गौरा पर्व मनाउँदा थुप्रै रीतिरिवाज पूरा गरिन्छ । महिलाले गहुँ, केराउ, गहत लगायत पाँच प्रकारका अन्न मिसाएर तामाका भाँडामा भिजाएपछि यो पाँचदिने पर्व शुरु हुन्छ । यसरी भिजाइएको अन्नलाई बिरुडा भनिन्छ । हरेक दिन महिलाहरूले व्रत बसेर राति एक छाक मात्रै खाने गर्छन् । तेस्रो दिन बोटबिरुवाबाट गौरा देवीको प्रतिमा बनाएर त्यसलाई दुलही जस्तै सिंगार्छन् ।

गंगा धामी (७५) परम्परागत पहिरनमा ।

बैतडीको रिजपाला गाउँमा सरस्वती भट्ट लगायतका महिलाले गौरा देवीको प्रतिमालाई पहिले रातो पहिरन र रातो घुम्टी लगाइदिए । त्यसपछि गहनाहरू थपिदिए । योबीचमा उनीहरू गौरा गीत पनि गाउँदै थिए ।

गौरा देवीलाई माइत आएकी छोरी मानिंदै छोरीप्रति बाबुआमाको मायाभाव गीतका शब्द मार्फत प्रकट भए । गीतकी गौरा दुर्गम क्षेत्रकी प्रतिनिधि पात्र जस्तै छन्, जसको कथाले त्यो क्षेत्रको सम्पूर्ण जनजीवन झल्काउँछ । गौरा र महेश्वरको प्रेम सम्बन्धदेखि सन्तान जन्माउँदासम्मको विस्तृत विवरण, छोरी माइत आउँदाको खुशी, बाबुआमाको स्नेह र बिदा हुँदाको पीडा यी गीतमा भेटिन्छन् । त्यस्तै, कुन ऋतुमा के कुरा खाने, पानी कस्तो ठाउँमा पाइन्छ र कुन बालीको महत्व के हो भन्ने जस्ता जानकारी पनि गीतले दिन्छन् ।

गौरा गीतमा देवीदेवता र स्थानीय इतिहासका प्रसंग पाइने रिजपाला गाउँकी सरस्वती बताउँछिन् । उनी भन्छिन्, “गौरा चाड निकै धुमधामका साथ आज पनि मनाइन्छ, तर यी गीत सिक्न भने युवा पुस्ताले ध्यान दिएको छैन । पहिले गौरा पर्वले हप्तौंसम्म मानिसको ध्यान तान्थ्यो । अहिले यो रमाइलो र भेटघाट गर्ने उत्सव बनेको छ ।”

पतिको दीर्घायुका लागि महिलाले पाँच दिनसम्म व्रत बस्ने यो चाडका कतिपय गीतले पितृसत्ता झल्काउँछन् । महिला र पुरुषको व्यवहार कस्तो हुनुपर्छ, समाजको शक्ति संरचना कस्तो हुन्छ र समाजका मूल्य–मान्यताहरू के हुन् भन्ने यी गीतमा आउँछन् । गीत अनुसार, गौरा देवीलाई सुनको सिंहासनमा बसाउन लाग्दा गौराले नै त्यहाँ महेश्वरलाई बसाउँछिन् । सँगसँगै महिलाको भिन्न दृष्टिकोण र छवि सुधार्ने प्रयास पनि यिनै गीतमा पाइन्छन् । जमीन र बालीहरूसँग महिलाको गहिरो सम्बन्ध रहेको गीतले प्रष्ट्याउँछन् ।

मनोरञ्जनका आधुनिक प्रविधि आउनुअघि यी गीत र नाच नै मानिसलाई मनोरञ्जन, सन्देश दिने, समाजलाई एकसूत्रमा बाँध्ने माध्यम थिए । आधुनिकतासँगै लामो इतिहास बोकेका हाम्रा संस्कृति संकटमा परेका छन् ।

पहिचानको तीज
गौरा गीतको जस्तै महत्व विगतमा तीजका गीतले पनि बोकेका थिए, आफूमाथि भएका अन्याय र अत्याचारका वेदना तीज गीतमा पोखिन्थे ।

अचेल गाइने तीजका गीत परिवर्तन भए पनि उद्देश्य भने त्यही रहेको विद्वत् महिलाको बुझाइ छ । तीज गीतबारे अनुसन्धान गरेकी डा. इन्दिरा आचार्य मिश्र भन्छिन्, “पुराना गीतमा करुण रस बढी पाइन्थ्यो भने नयाँ गीतहरूमा हास्यरस बढी पाइन्छ । आशय भने त्यही हो, महिलाहरूले पितृसत्ताको प्यारोडी गर्ने मौका पाएका छन् ।”

पतिको दीर्घायुका लागि र शिव जस्तो पति पाउन महिलाले भोकै बस्नुपर्ने रीतिरिवाजका कारण तीजले पितृसत्तालाई प्रोत्साहन दिएको आलोचना पनि हुने गरेको छ । सबै लोकसंस्कृतिलाई जस्तै तीजलाई पनि फरक–फरक व्याख्या गरिन्छ ।

तीजको मूल महिला सशक्तिकरणसँगै सम्बन्धित थियो भन्ने व्याख्या पनि केहीले गर्छन् । “पार्वतीको व्रत पति पाउन भन्दा पनि समाजले थोपरिदिएको तर आफूलाई चित्त नबुझेको विवाहको विरोध थियो । आजका महिलाको व्रतले पनि महिलाको त्यो स्वतन्त्रतालाई सम्मान गर्छ” साहित्यकी विद्यार्थी नित्या पाण्डे भन्छिन्, “शिवलाई व्यक्ति होइन, गुणका रुपमा लिन सकिन्छ । सत्यम् शिवम् सुन्दरम् मानिसमा हुनुपर्ने गुण हुन् र यसमा शिवको अर्थ राम्रो, असल र शुभ हो । शिवको प्राप्ति भनेकै राम्रा गुणको प्राप्ति भन्ने हो ।”

पितृसत्तामा आधारित भए पनि तीजले महिलालाई स्वतन्त्र अभिव्यक्तिका लागि स्थान दिएको देखिन्छ । तर, यिनमा पितृसत्तात्मक पक्षको व्याख्या आज बढी प्रचलित छ । त्यसैले आजकाल महिलाहरू परम्परागत रुपमा आमाबुवाको घरमा गएर दर खाएर, व्रत बसेर भन्दा बढी जमघट, नाचगान र भोजभतेर गरी तीज मनाउन थालेका छन् ।

स्कूलहरूले बालबालिकाका आमाहरूसँग, कार्यालय र संघसंस्थाले महिला सदस्यसँग तीज कार्यक्रम बढी गरिरहेका छन् । एक महीना अघिदेखि नै तीज लाग्न थालेपछि यसको ‘व्यापारीकरण’ भएको आलोचना पनि गरिन्छ । यद्यपि धार्मिक पक्षलाई छाडेर नेपाली महिलाले तीज अझ बढी मनाएको देखिन्छ ।

तीजमा यस्तो परिवर्तन आउनुमा ‘पहिचान’ मुख्य कारण रहेको डा. इन्दिरा आचार्य मिश्रको बुझाइ छ । भन्छिन्, “तीज ब्राह्मण–क्षेत्री महिलाको परम्परा हो, त्यसैले उनीहरू यसलाई पहिचानका रुपमा मनाउन चाहन्छन् । तर, पतिका लागि व्रत बस्ने जस्ता कतिपय महिला सशक्तिकरणका अवधारणासँग मेल नखाने पक्ष हटाउँदै लगेपछि तीज धर्मनिरपेक्ष बन्दै गएको छ ।”

जतिसुकै आलोचना भए पनि महिलाहरूले पछिल्लो समय यी चाडपर्वलाई भेटघाट, भावना साटासाट र एकताको भावना बढाउनका लागि मनाइरहेका छन् ।

प्रतिकृया दिनुहोस