टिप्पणीआइतवार, भाद्र २४, २०७५

संयुक्त सैन्य अभ्यास किन ?

टीकाराम राई

संयुक्त सैनिक अभ्यास मार्फत भारतले चीन र पाकिस्तान विरुद्ध सैनिक गठबन्धन शुरू गर्‍यो भन्ने निष्कर्ष निकाल्नु गलत हुनेछ । 

भारतको पुनेमा बिम्स्टेक सदस्य राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास (२५–३१ भदौ) मा ३० जना नेपाली सैनिक सहभागी हुँदैछन् । भारतको विशेष पहलमा हुन लागेको सैन्य अभ्यासमा नेपाली सेनालाई सहभागी गराइएको भन्दै अहिले सरकारको विरोध पनि भइरहेको छ ।

काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक सम्मेलन (१४–१५ भदौ) हुनुअघि नै संयुक्त सैन्य अभ्यासको मिति टुंगो लगाउने बैठकमा नयाँदिल्लीस्थित नेपाली दूतावासका सैनिक सहचारीलाई भाग लिन लगाइएको थियो । यो सैन्य अभ्यास बिम्स्टेक सचिवालयको नभई भारतीय सेनाको विशेष पहलमा हुन लागेको हो । बिम्स्टेक सम्मेलनअघि यसबारे त्यति चर्चा थिएन ।

बिम्स्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सैन्य अभ्यास’ बारे बोलेपछि यो अभ्यास चीन र पाकिस्तान विरुद्ध लक्षित भएको भन्दै नेपालमा बहस चुलियो । पूर्व रक्षामन्त्री भीम रावलदेखि नेपाली सेनाका पूर्व जर्नेलहरूले समेत सरकारको आलोचना गरे । संसदमा चासो व्यक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘यो युद्धकेन्द्रित नभई सिकाइकेन्द्रित छ’ भन्ने जवाफ दिनुपर्‍यो ।

संघीय संसदले ३ भदौमा अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार सांगठनिक अपराध र अवैध लागूऔषध ओसारपसार सम्बन्धी बिम्स्टेक सन्धिलाई अनुमोदन गरेको छ । यसको अर्थ, बिम्स्टेक राष्ट्रबीच आतंकवाद नियन्त्रणमा सहकार्यको स्वीकृति संसदबाटै भएको छ । प्रतिआतंकवादमा सैनिक परिचालनदेखि गुप्तचरी सूचनाको आदान–प्रदानसम्म पर्छ ।

पछिल्लो समय प्रमुख कूटनीतिक विषयका रूपमा प्राकृतिक प्रकोप सम्बन्धी बहुपक्षीय सैनिक अभ्यास आमरूपमै प्रचलित छ । २०७२ सालको भूकम्पका बेला उद्धारका लागि आएका बहुराष्ट्रिय सेनाले नेपाली सेनाको कमाण्डमा उद्धार मात्र गरेनन्, सैन्य अभ्यास पनि भए । जसमा चीन, भारत र अमेरिकाका सेना पनि सहभागी थिए ।

उद्धार तथा प्रतिआतंकवाद सैन्य अभ्यासलाई गैरपरम्परागत सैन्य अभ्यास पनि भनिन्छ । जसमा सैनिकहरूबीच प्रतिआतंकवाद, लागूऔषध नियन्त्रण, प्राकृतिक प्रकोप उद्धार व्यवस्थापन आदिमा अनुभव, सीप, कला र दक्षता साटासाट हुन्छ । यसर्थ, नेपालले चीन, भारत, पाकिस्तान, श्रीलंका, अमेरिकासँग सैनिक अभ्यास गर्ने गरेको छ । यस सम्बन्धी सबैभन्दा ठूलो सैनिक अभ्यास भारतसँग हुन्छ ।

पछिल्लोपल्ट जेठ २०७४ मा भारतको पिथौरागढमा नेपाल–भारतबीच ‘सूर्यकिरण ११औं संस्करण संयुक्त सैनिक अभ्यास’ भयो । प्रतिआतंकवाद र उद्धार व्यवस्थापन विषयमा बटालियनस्तरको सैनिक अभ्यास प्रत्येक वर्ष पालैपालो नेपाल र भारतमा हुन्छ । पछिल्लोपटक सम्पन्न सूर्यकिरण अभ्यासमा महिला सैनिकलाई पनि सहभागी गराइएको थियो ।

नेपाल र चीनबीच उद्धार व्यवस्थापन र प्रतिआतंकवाद विषयमा वैशाख २०७४ देखि संयुक्त अभ्यास हुन थालेको हो । गत वर्ष ‘सगरमाथा फ्रेण्डसिप–१ संयुक्त सैनिक अभ्यास’ काठमाडौंको प्यारागणमा भयो । कम्पनीस्तरमा हुने भनिएको अभ्यासलाई पछि सेक्सनस्तरमा झारिएको थियो । यसपालि असोज १ देखि ७ गतेसम्म संयुक्त सैनिक अभ्यास चीनको छेन्दुमा हुँदैछ । नेपाल–चीनबीचको सैनिक अभ्यासबारे भारतीय मिडियामा कुरा उठ्दै आए पनि भारत सरकारबाट औपचारिक रूपमा चासो व्यक्त भएको छैन ।

चीन–भारतबीच पनि ‘हातेमालो’ संयुक्त सैनिक अभ्यास सन् २००६ देखि हुँदै आएको छ । पछिल्लोपल्ट २०७२ असोजमा दुवै देशबीच चीनको कुन्मिङमा प्रतिआतंकवाद विषयमा सैनिक अभ्यास भयो । दोक्लाम तनावपछि रोकिएको ‘हातेमालो’ संयुक्त सैनिक अभ्यास पुनः सञ्चालन गर्न दुवै देश सहमत भएका छन् ।

बिम्स्टेक संयुक्त सैनिक अभ्यासको आलोचना गर्नेहरूलाई ‘सांघाई सहयोग संगठन’ को बहुपक्षीय संयुक्त सैनिक अभ्यासबारे जानकारी नभए जस्तो छ । यही अगस्ट २२–२९ सम्म रूसको पहलमा बहुपक्षीय सैनिक अभ्यास रूसमै भयो । शान्तिका लागि प्रतिआतंकवाद विषयमा केन्द्रित उक्त सैनिक अभ्यासमा रूस, चीन, भारत, पाकिस्तान लगायत संगठन सदस्य राष्ट्रहरूका सैनिक सहभागी थिए ।

बेकारको चिन्ता
बिम्स्टेक संयुक्त अभ्यासबारे चीन र पाकिस्तानी सञ्चारमाध्यमहरूमा कुनै चासो व्यक्त भएन । बरु, चीन र भारतबीच सीधा सम्पर्क हुने विषयले चीनमा महत्व पायो भने भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ रक्षामन्त्रीबीच वार्ता भएको विषयले भारतीय सञ्चारमाध्यममा अधिक चर्चा पायो ।

नेपाली सञ्चारमाध्यमहरूमा भने बिम्स्टेक सैनिक अभ्यास मार्फत चीन र पाकिस्तान विरोधी गठबन्धन हुन थालेको तर्क गरियो । यस्तो तर्क वा चासोका दुई कारण छन्– पहिलो, चीन विरोधी नेपाल सम्बन्धी भारतीय विज्ञ । दोस्रो, अन्धाधुन्द भारतको विरोध गर्ने नेपाली समूह ।

पूर्व भारतीय जर्नेल अशोक मेहता जस्ता विज्ञहरू चीनलाई शत्रुको कित्तामा राखी नेपालबारे विश्लेषण गर्छन् । बिम्स्टेक सम्मेलनअघि मेहताले बीबीसी नेपाली सेवामा ‘बिम्स्टेक संयुक्त सैनिक अभ्यास पाकिस्तान र चीनलाई अलग्याउने उद्देश्यबाट प्रेरित छ’ भन्ने विश्लेषण गरे । मेहतालाई आधार मानी भारतविरोधी समूहले सैन्य अभ्यासबारे बहसलाई चर्काए । अनि, सैनिक अभ्यासलाई ‘सैनिक तालिम’ भन्न प्रधानमन्त्री ओली बाध्य भए ।

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच १४ र १५ वैशाखमा हुपेई प्रान्तको उहानमा अनौपचारिक शिखर वार्तापछि दोक्लाम सैनिक तनावपछि चिसिएको चीन र भारत सम्बन्धमा निकै सुधार आएको छ । त्यही बीचमा नेपालबारे चिनियाँ नीतिमा ‘दुई प्लस एक’ अवधारणा विकास भयो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वैशाखमा चीन भ्रमण जाँदा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पहिलोपल्ट उक्त अवधारणा ज्ञवालीसमक्ष सार्वजनिक गरे । प्रधानमन्त्री ओलीको पछिल्लो (५–१० असार) भ्रमणमा राष्ट्रपति सीले त्यो अवधारणा नेपाली पक्षलाई पुनः सुनाए । यसबाट स्पष्ट हुन्छ, नेपालको विकासमा भारतीय सहमति खोज्ने चिनियाँ नेतृत्वलाई बिम्स्टेक सैनिक अभ्यासबारे कुनै चिन्ता नहुन सक्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्ध राष्ट्रवादी नीतिले चीन र भारत व्यापारिक रूपमा झन नजिक बन्ने सम्भावना बढेको छ । अमेरिका प्रवेश हुने चिनियाँ उत्पादनमा ट्रम्प प्रशासनले चर्को भन्सार शुल्क लादेपछि चीनले पनि अमेरिकी उत्पादनमा त्यसै गरेको छ ।

यसकारण अमेरिकी कृषि उत्पादनको चीनमा आयात बन्दप्रायः भएको छ । यो चीन–अमेरिका व्यापारिक युद्धको फाइदा भारतलाई हुने विश्लेषण गरिंदैछ । अब चिनियाँ बजारमा अमेरिकी कृषि उत्पादनलाई भारतीय कृषि उत्पादनले प्रतिस्थापन गर्ने सम्भावना बढेको विश्लेषण चिनियाँ मिडियामा गर्न थालिएको छ ।

उपरोक्त उदाहरण र आयामहरूले पुष्टि गर्छ, बिम्स्टेक संयुक्त सैनिक अभ्यास मार्फत चीन र पाकिस्तान विरुद्ध भारतले सैनिक गठबन्धन शुरू गर्‍यो भनी निष्कर्ष निकाल्नु गलत हुनेछ ।

पढ्नुहाेस् । 

बिम्स्टेक सम्मेलनमा नेपालले देखाएको आत्मविश्वास

प्रतिकृया दिनुहोस