नेपाल समूह बिजेता बन्दै साफ च्याम्पियनसिपको सेमिफाइनलमा, आयोजक बांगलादेश २-० ले पराजित
नेपाल बांगलादेशमा जारी साफ च्याम्पियनसिप फूटबलको सेमिफाइनलमा पुगेको छ । २३ भदौमा घरेलु टिम बांगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
सेमिफाइनलमा नेपालले भारत वा माल्दिभ्समध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालका लागि बांगलादेशसँगको खेल जित्नैपर्ने दबाब थियो । समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा भने भूटानमाथि शानदार जित हात पारेको थियो । यो खेलअघि नेपाल र पाकिस्तानको समान तीन तीन अंक थियो भने बांगलादेश लगातार दुइ जितबाट प्राप्त ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा थियो ।
शुरुदेखि नै खेल नियन्त्रणमा राखेको नेपालले बांगलादेशविरुद्ध ३३ औं मिनेटमा अग्रता लियो । विमल घर्तीमगरको लेफ्ट फूटर फ्रिकिकलाई रोक्ने क्रममा बांगलादेशका गोलरक्षकले गल्ती गरेपछि बल गोलरक्षकको हातबाट जाली चुम्न पुगेको थियो ।
नेपालले दोस्रो हाफमा पनि दबाब कायमै राख्यो । भरत खवासको स्थानमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्चित गरे । नवयुगलाई विमलको स्थानमा मैदान प्रवेश गरेका विशाल राइले सटिक पास मिलाइदिएका थिए ।
यो हारसँगै बांगलादेश समूह चरणबाटै बाहिरिएको छ भने समूह उपबिजेताका रुपमा पाकिस्तान सेमिफाइनल प्रवेश गरेको छ ।