कला/साहित्यशनिवार, भाद्र २३, २०७५

अहिंसाका हिमायती

रविन गिरी

‘सरकारको अनुमति नलिई विदेश जान लागेको’ आरोपमा ८ भदौ मा सरकारले पूर्व माओवादी बालसैनिक लेनिन विष्टलाई त्रिभुवन विमानस्थलबाटै फर्कायो । द्वन्द्वमा परेका युवाको सामाजिक संलग्नता बढाउने विषयको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन थाइल्याण्ड जान लाग्दा उनलाई रोकियो । 

सरकारका यस्ता अलोकतान्त्रिक व्यवहारलाई कतिपयले अधिनायकवादको अभ्यास भनेका छन् । कतिपयलाई भने जननिर्वाचित सरकारमाथिको यस्तो आरोप बेतुकको शंका लाग्न सक्छ । तर, हालै प्रकाशित कुलचन्द्र गौतमको जीवनी ग्लोबल सिटिजन फ्रम गुल्मीः माइ जर्नी फ्रम द हिल्स अफ नेपाल टु दि हल्स अफ युनाइटेड नेशन्स् मा विष्ट प्रकरणसँग मिल्ने गजबको प्रसंग भेटिन्छ ।

एसएलसी सकेपछि गौतम एक अमेरिकी पिस कोर स्वयंसेवीको सल्लाहमा अमेरिकाको डार्टमथ कलेजमा छात्रवृत्तिका निम्ति आवेदन दिन्छन् । आवेदन कलेजले स्वीकार्छ ।

गुल्मीको विकट गाउँ अमरपुरको ठिटो जसै पासपोर्ट बनाउन परराष्ट्र हुँदै शिक्षा मन्त्रालय पुग्छन्, उनले आफू गैरकानूनी भएको पाउँछन् । “कलेजमा आवेदन दिनुअघि सरकारको अनुमति किन नलिएको ? राजपरिवार, सत्तानिकट र पहुँचवालाले मात्र वैदेशिक अध्ययनको सुविधा पाउँछन् भन्ने किन थाहा नपाएको ?” सरकारी अधिकारीका यस्ता प्रश्नले उनी हैरान हुन्छन् । अन्ततः पुनः सरकारी प्रक्रिया पूरा गरी डेढ वर्षपछि बल्लतल्ल पासपोर्ट पाएर अमेरिका उड्छन् ।

गौतमको यो पुस्तक साधारण मानिसको असाधारण उपलब्धिको अभिलेख हो, जसमा जताततै एक दुस्साहसी चरित्र भेटिन्छ । बनारसमा भरपेट खान मन्दिर चहार्दा होस् या अमेरिकी कलेजमा आवेदन दिंदाको उल्झन, न जीवनप्रति गुनासो उब्जिन्छ न असफलताको भय ।

अविश्रान्त यात्राको यही गुणले हुनुपर्छ, गौतम दुर्गम पहाडबाट युनिसेफको कार्यकारी उपनिर्देशक र राष्ट्रसंघको उप–महासचिवसम्म बने । बालबालिका, महिलाको जीवनरक्षा र शान्ति स्थापनार्थ आफ्नो ज्यान नै जोखिममा राखे ।

पिस कोर प्रभाव
हजुरबुबा कपिलमणि नाति कुञ्जरमणिलाई पण्डित बनाउन चाहन्थे । त्यसैले संस्कृत पढ्न बनारस पठाइँदा उनको संसर्ग नेपाली साहित्य र खासगरी कवितासँग भयो । मनपर्ने कवि थिए, कुलचन्द्र गौतम । उनैबाट प्रेरित भई कुञ्जरमणि कुलचन्द्र बन्छन् ।

१२ वर्षको छँदा मामाको आग्रहमा अंग्रेजी पढ्न काठमाडौं पठाइएका उनी फेरि घरनजिकको पाल्पा पुगेर तानसेनस्थित जनता विद्यालयमा पढ्छन् । पिस कोरका स्वयंसेवी शिक्षकसँग प्रभावित उनले त्यहीं पहिलोपटक अमेरिका र पश्चिमा देशबारे सुन्छन् ।

पुस्तक र पुस्तकालयप्रति गहिरो रुचि राख्ने उनी एसएलसी भने काठमाडौंको जेपी हाइस्कूलबाट सन् १९६६ मा दिन्छन् ।

दुई वर्षपछिको अमेरिका प्रवेशलाई गौतमले ‘विश्व नागरिकको लामो यात्रा’ भनेका छन् । शुरुआती दिनमा गौतमलाई पढाइभन्दा सांस्कृतिक संक्रमणले चुनौती दिन्छ । बाथरुममा नांगै पुरुषहरू देख्दा उनलाई कम्ती लाज लाग्दैन । हरेक वाक्यमा ‘प्लिज’ र ‘थ्यांक यू’ सुन्दा उनलाई झर्को लाग्छ ।

वाम विचारधाराबाट प्रेरित गौतम कलेजको इन्टरनेशनल स्टुडेन्ट्स एशोसिएसन (आईएसए) का संस्थापक अध्यक्ष समेत बन्छन् । ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ को पढाइ सकिएपछि प्रिन्स्टन युनिभर्सिटीमा ‘इकोनोमिक डेभलपमेन्ट एण्ड मोडर्नाइजेसन’ मा स्नातकोत्तर तहमा भर्ना भएका उनी इन्टर्नसिपमा नेपाल आउनेक्रममा बनारसमा बीपी कोइरालालाई भेट्छन् । ‘देशको शान्तिपूर्ण आर्थिक–सामाजिक रुपान्तरणका लागि राजाले बीपीलाई लखेट्नु दुर्भाग्य भएको’ उनलाई उतिबेलै लाग्छ ।

जनदुश्मन, अराष्ट्रियवादी
कलेजताका नै युद्ध विरोधी अभियानमा सक्रिय गौतम विश्व बैंक नभई संयुक्त राष्ट्रसंघ अन्तर्गत युनिसेफको जागिर रोज्छन् । उत्तरी भियतनाम पुग्दा राष्ट्रवादले प्रेरित हो ची मिन्ह सत्तामा हुन्छन् ।

उनी कम्बोडिया पुग्दा गृहयुद्ध चलिरहेको हुन्छ । सन् १९७५ मा खमेर कम्युनिष्ट पार्टीले पूरै देश नियन्त्रणमा लिन्छ । नरसंहार मच्चाएको खमेर रुजको ‘शत्रु सफाया’ शासन मुश्किलले पाँच वर्ष मात्र टिक्यो, जसमा १५ लाखले ज्यान गुमाए ।

युनिसेफकै निम्तामा सन् २००९ मा गौतम पुनः कम्बोडिया पुग्छन् । त्यहाँ उनले पुराना अनुभव सुनाउनुपर्ने कार्यक्रममा पहिले आफूसँग काम गरेका १८ कम्बोडियालीमध्ये कोही पनि जीवित नरहेको थाहा पाएपछि उनी भक्कानिन्छन् । “संसारमा म धेरै देशमा बसें, काम गरें, तर कम्बोडिया मात्र यस्तो देश हो, जहाँ पुग्दा मलाई पहिले चिनेजानेका मानिस भेट्न मन लाग्दैन”, गौतमले लेखेका छन् ।

ब्राजिलमा स्तनपान नगराउने प्रवृत्ति बढेपछि चिन्तित युनिसेफले बनाएको एउटा पोष्टर चर्चित भएको थियो, जसमा महान् फुटबलर पेलेकी आमा सेलेस्ते आरन्तिजले आफ्नो हात छोराको काँधमा राख्दै भनेकी थिइन्, “अवश्य ऊ विश्वकै उत्कृष्ट फूटबल खेलाडी हो, मैले स्तनपान गराएको ।”

पोष्टर बनाउन पहल गर्नेमा गौतमको भूमिका अहम् थियो । युनिसेफको कार्यक्रमकै क्रममा विभिन्न सेलिब्रेटीसँगको उनको सान्निध्य सूची लामो छ, रोचक प्रसंग पनि थुप्रै छन् ।

सन् १९९० मा भएको ‘वल्र्ड समिट फर चिल्ड्रेन’ लाई गौतमले आफ्नो सेवाकालकै ठूलो उपलब्धि ठानेका छन् । युनिसेफको योजना तथा समन्वय निर्देशकमा उनको पदोन्नति भएपछि विश्वका सरकार प्रमुखहरूलाई निम्त्याएर गरिएको उक्त शिखर सम्मेलन शीतयुद्धपछिकै पहिलो विश्व सम्मेलन थियो । यसैले बालबालिकाको सुरक्षा र अधिकारबारे अभूतपूर्व निर्णय सम्भव भएको उनको तर्क छ ।

गौतम सधैं अहिंसाका पक्षपाती रहे । उनले आँखैअघि कम्युनिज्म्का नाममा गरिएको लाल क्रान्ति र तिनको अवसान पनि देखे । त्यसैले उनलाई नेपालमा माओवादी हिंसा बीजारोपण गर्नेमध्येका बाबुराम भट्टराई ठ्याक्कै कम्बोडियाका खियू साम्फान जस्ता लाग्थे । नेपालका माओवादीले लेनिन र स्टालिनको रणनीति जस्तै कतिपय नेपाली र विदेशी बुद्धिजीवीलाई ‘युजफुल इडियट (लाभदायी बुद्धु)’ बनाएको र आफूलाई पनि उपयोग गर्न खोजेको उनको भनाइ छ ।

माओवादीले ‘जनदुश्मन’ भन्नु र राजा ज्ञानेन्द्रको मन्त्री प्रस्ताव नमान्दा ‘अराष्ट्रियवादी’ भनिनु उनलाई उस्तै लाग्छ । शान्ति प्रक्रियामा सघाउने नाममा राष्ट्रसंघकै मिसन अनमिन माओवादीप्रति अनावश्यक नरम देखिएकोमा उनलाई अहिले पनि क्षोभ छ । गौतमले राष्ट्रसंघभित्रैको आन्तरिक लोकतन्त्र र पारदर्शितामाथि पनि प्रश्न उठाएका छन् ।

गौतमले पुस्तकमा ‘सपनाको संसार’ को कुरा गरेका छन्, ‘सपनाको नेपाल’ देखेका छन् । उनलाई नेपालमा मण्डेला जस्तो नेता खोज्नु भने गलत लाग्छ । ‘हामीले हाम्रै गाउँ र जिल्लाहरूबाट हजारौं मण्डेला जन्माउन सक्छौं’ उनको अनौठो विश्वास छ, ‘मण्डेला, महाथिर र लि क्वान यु पर्खनुभन्दा गाउँघरकै नेताले अहिलेको दुर्दशाबाट पार लगाउन सक्छन् ।’

पहिचानको चुनौती
एउटै पुस्तकबाट संसारका विभिन्न भूगोल, त्यहाँको समाज, संस्कृति, अर्थ–राजनीति र समस्याबारे थोरबहुत जानकारी दिन सफल छन्, गौतम । पुस्तकले असल कर्म गर्ने प्रेरणाका साथै सफलताको सुझाव पनि दिएको छ । सरल भाषाले पुस्तक छिचोल्ने बल त दिन्छ, तर कतिपय जिज्ञासा भने रहिरहन्छन् ।

पुस्तक विवरणको भारीले यति थिचिएको छ, गौतमले पाठकलाई आफ्नो विश्व यात्राका विविध घटना र प्रसंगको अनुभूति गराउन सकेका छैनन् । उनी जागिरको सपाट टिपोट उतारिरहेका जस्ता लाग्छन् । आफ्ना हाकिम जीम ग्रान्टप्रति पटकपटक अनुगृहित कवि हृदयका उनी मिर्गौला दिएर नयाँ जीवन दिने बहिनी रमा भुसालबारे भने खासै खुल्दैनन् ।

बेलाबेला अध्यात्म र धर्मका कुरा त गर्छन् तर, आफ्ना कमजोरी र आत्मस्वीकारोक्तिलाई भने पुस्तकमा कुनै स्थान दिएका छैनन् । कतिपय सन्दर्भमा घटनाक्रम उल्लेख गर्दा मितिलाई बेवास्ता गर्दा पाठकले गुनासो गर्ने ठाउँ पाएका छन् ।

‘विश्व नागरिक’ आफैंमा हैसियत नभई चेतनामा आधारित मान्यता हो, जुन स्थानीयता र राष्ट्रियताभन्दा माथि हुन्छ । मानवताका पक्षधर गौतम ‘विश्व नागरिक’ त बनेका छन् तर यस्तो नागरिक बन्नेतर्फका चुनौतीबारे भने खासै घोत्लिएका छैनन् ।

अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस् फुकुयामाले पछिल्लो पुस्तक आइडेन्टिटी मा पहिचानमा आधारित आत्मसम्मानको राजनीतिले उदारवादको नयाँ चुनौती देखिएको स्वीकारेका छन् । पहिचानको राजनीतिबाट नेपाल पनि अछुतो छैन । जनजातिको असन्तुष्टि र मधेश आन्दोलन पछिल्लो दशक सबैभन्दा मुखर पहिचानका आवाज हुन् ।

पहिचानका मुद्दा सम्बोधन नगरी समृद्धि हासिल होला ? लेनिन विष्ट जस्ता इतर विचारबाट भयभीत सरकारले नेपालीलाई वैश्विक पहिचान दिलाउन सक्ला ? गौतम जस्ता विद्वानबाटै स्पष्ट मार्गचित्र अपेक्षित हुन्छ ।

पुस्तक: ग्लोबल सिटिजन फ्रम गुल्मी 

लेखक: कुलचन्द्र गौतम

प्रकाशक: पब्लिकेसन नेपालय

पृष्ठ: ५४७+१३

मूल्य: रु.१३९५ (हार्ड कभर)

 

प्रतिकृया दिनुहोस