समाचारशुक्रवार, भाद्र २२, २०७५

प्रधानसेनापतिको सम्मानमा इज्जत अर्पण कवाज

हिमालखबर

नेपाली सेनाले सेवा निवृत्त हुनै लागेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेको छ । 

सैनिक मञ्च टुँडिखेलामा आज, २२ भदौ साँझ आयोजित समारोहमा प्रधानसेपति क्षत्रीले उक्त इज्जत अर्पण कवाजको निरीक्षण गरे । उनको सम्मानमा आयोजना गरिएको कवाज प्रदर्शनीमा शार्दुलजङ्ग गुल्म, राजदल गण, गोरखबहादुर गण, जगदल गण, गोरखकाली गण, क्याभलरी र सैनिक ब्याण्ड सैनिक टोली सहभागी थिए । 

सो अवसरमा राष्ट्रिय गीतका धुनका साथै नेपालको विभिन्न भेगको रहन सहन र वेषभूषा झल्कने गीत र नृत्य प्रस्तुत गरियो । प्रधानसेनापति क्षत्री शनिबारदेखि सेवा निवृत्त हुनेछन् । प्रधानसेनापति क्षत्री र उनकी धर्मपत्नीलाई सैनिक मञ्च टुँडिखेलबाट सैनिक मुख्यालयभित्र रहेको सभामण्डपसम्म बग्गीमा लगिएको थियो । 

सेवा निवृत्त हुन लागेका प्रधानसेनापतिको औपचारिक बिदाइ सैनिक मञ्च टुँडिखेलबाट हुने चलन नेपाली सेनाले यो वर्षबाट शुरु गरेको हो । यसअघि सैनिक मुख्यायलभित्र बिदाइ कार्यक्रम गर्ने चलन थियो । 

सैनिक मञ्चको कार्यक्रममा कामु प्रधानसेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापतिहरु, सुरक्षा निकायका उच्च पदस्थ अधिकृत लगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस