समाचारशुक्रवार, भाद्र २२, २०७५

ऐनमा प्रेस स्वतन्त्रता विरोधि व्यवस्था भए संशोधन हुन्छः कानून मन्त्री ढकाल

हिमालखबर

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि ऐन संशोधनको मागसहित काठमाडौको नयाँ बानेश्वरमा शुक्रबार धर्नामा बसेका नेपाल पत्रकार महासंघका पदाधिकारीलगायत पत्रकार । तस्वीर: रासस

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकी अपराध संहिता ९ऐन०मा प्रेस स्वतन्त्रता हनन्‌सम्बन्धी कुनै प्रकारका व्यवस्था भए त्यसलाई संशोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

अनलाइन पत्रकार सङ्घले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले ऐनमा भएका प्रेस स्वतन्त्रता हननसम्बन्धी व्यवस्थालाई संशोधन गर्ने बताएका हुन् ।

उनले मानिसको व्यक्तिगत अधिकार कसैले हस्तक्षेप नगर्नका लागि नयाँ मुलुकी ऐन ल्याइएको भन्दै त्यसले प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश नलगाउने पनि बताए ।

“वैयक्तिक स्वतन्त्रता हनन् गर्नु हुँदैन भन्ने मानसिकताका साथ मुलुकी ऐन आएको हो”, उनले भने, “संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता भन्ने उल्लेख भएकाले कहीँकतैबाट प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुँदैन ।”

मन्त्री ढकालले पत्रकारलाई मनोवैज्ञानिक रूपमा हतोत्साही नभई काम गर्न समेत आग्रह गरे। उनले नेपाल पत्रकार महासङ्घले आफूलाई बुझाएको प्रेस स्वतन्त्रता हननसम्बन्धी संशोधन गर्नुपर्ने बुँदाको आधारमा परिमार्जन गर्नका लागि छलफल समेत चलाउने बताए ।

कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले ऐनमा भएका प्रेस स्वतन्त्रताविरोधी व्यवस्थालाई हटाई पत्रकारले स्वतन्त्ररूपले काम गर्न पाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले अहिले फौजदारी संहितामा भएका व्यवस्थालाई देवानी संहितामा राख्नुपर्ने बताएका थिए ।

यसै बीच एेन संशोधनको माग गर्दै अाज दिउँसो नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरुले धर्ना दिएका थिए ।

रासस

 

प्रतिकृया दिनुहोस