शेयर बजार निरन्तर उकालो, चार दिनमा ५० अंकले बढ्यो
साताको चौथो कारोबार दिन आजपनि शेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ ।
आज नेप्से परिसूचक २३ दशमलव ८९ अंकले उकालो लागेर १२३४ दशमलव १३ अंकमा पुगेको छ । आज लामो समयपछि एकैदिन शेयर बजार २४ अंकले बढेको हो ।
यसअघि साताको तीन कारोबार दिनमा नेप्से परिसूचक २८ अंकले उकालो लागेको थियो ।
लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले शेयर लगानीकर्ताको मनोबल बलियो हुँदा बजार उकालो लागेको बताए ।
उनले भने, “लामो समयदेखि बजार एउटै विन्दुमा रहेको थियो । अहिले कम्पनीहरुले प्रतिफल घोषणा गर्ने समय भएकोले बजार बढ्नु स्वभाविक हो । तर, चार दिनमा ५० अंकले नेप्से परिसूचक उकालो लागेकाले बजारको वृद्धि स्थिर हुन्छ भन्न सकिंदैन ।”
उच्च अंकले बढेको बजारमा कारोबार रकममा पनि सुधार देखिएको छ ।
आज दिनभरीमा १६७ कम्पनीका ७० करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ ।
बजार बढेको समयमा शेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ता भित्रिंदा नेप्से परिसूचक उकालो लागेको एक ब्रोकरको भनाइ छ ।
उनी भन्छन्, “लामो समय बजारबाट बाहिर रहेकाले शेयर किन्न शुरु गर्दा शेयरको माग बढेको छ । बिक्री गर्ने समुह पनि ठुलो रहेकाले यो साताको कारोबारले बजार कता जान्छ भन्न सकिंदैन ।”
आज १६७ कम्पनीको शेयर कारोबार भएकोमा १३ कम्पनीको मूल्य मात्र ओरोलो लागेको छ ।
रु. चार करोड ९० लाख बराबरको शेयर खरीद बिक्री भएको कुमारी ब्यांक धेरै रकमको कारोबार गर्ने कम्पनी बनेको छ ।
त्यस्तै, सबैभन्दा बढि रु २३ हजार १५३ मूल्य भएको युनिलिभर नेपाल लिमिटेड ३ दशमलव ९५ प्रतिशतले ओरोला लाग्दा सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी बनेको छ ।