रिपोर्टबुधवार, भाद्र २०, २०७५

प्रविधि बनाउँदै, थन्क्याउँदै

विनय बञ्जारा

विज्ञान–प्रविधि क्षेत्रमा अनुसन्धान गर्ने प्राज्ञिक संस्था नास्टले भित्र्याएका/विकास गरेका प्रविधिको व्यावसायिक प्रयोग हुनसकेको छैन ।

नास्टले स्थापना गरेको जैविक इन्धन नमूना उद्योग । यसले प्रतिदिन १०० लिटर इन्धन उत्पादन गर्न सक्छ । तस्वीरहरुः नास्ट

नेपालमै डिजल उत्पादन गर्न एक दशकयता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले तीन किसिमका अनुसन्धान अघि बढायो । सात वर्षअघि सजिवनको तेलबाट जैविक इन्धन (इथानोल) बनाउन अनुसन्धान गरेको नास्टले त्यसपछि डढेको खानेतेल र प्लास्टिकबाट पनि डिजल बनाउने प्रविधि विकास गर्‍यो । 

प्लास्टिक फोहोरको व्यवस्थापन चुनौतीपूर्ण भइरहेको बेला नास्टले कम लागतमै प्लास्टिकबाट पेट्रोलियम बनाउने प्रविधि नेपाल भित्र्याएको हो । तर, नास्टका यस्ता धेरै प्रविधिको व्यावसायिक प्रयोग हुन नसक्दा आमरूपमा लाभ हुनसकेको छैन ।

नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालको टोली डिजल उत्पादन गर्ने प्रविधिको व्यावसायिक उपयोगमा केन्द्रित छ । “रु.३ करोड खर्चने हो भने एउटा महानगरपालिकामा उत्पादन हुने सबै प्लास्टिकजन्य फोहोर प्रशोधन गरेर पेट्रोलियम बनाउन सकिन्छ”, ढकाल भन्छन् ।

पछिल्ला तीन वर्षमा नास्टले यही कुरा ४० वटा नगरपालिकाका जनप्रतिनिधि र व्यवसायीहरूलाई सुनाउँदै हिंड्यो । “फोहोर प्लास्टिक प्रशोधन गरेर डिजल बनाउँदै, स्थानीय सरकारलाई हस्तान्तरण गर्दै हिंड्यौं” ढकाल भन्छन्, “यसबाट कतिपय स्थानीय सरकार फोहोर व्यवस्थापनमा लगानी गर्ने सोचमा पुगेका छन् ।”

२०४४ सालमा घाटबेसी धादिङमा बिजुली निकाल्न प्रयोग हुने बहानाचक्र (प्याडल ह्वील जेनेरेटर) को परीक्षण गरिंदै ।

हालसम्मको अध्ययनले एक किलो प्लास्टिकबाट एक लिटरसम्म डिजल उत्पादन गर्न सकिने देखिएको छ । तर, कुनै स्थानीय सरकार वा निजी उद्यमीले यसको व्यावसायिक उत्पादन थालेका छैनन् ।

नास्टले प्लास्टिक अनुसन्धानका लागि उपकरण किन्न रु.३५ लाख खर्च गर्‍यो । प्रयोगशालाका लागि बेग्लै भवन पनि बनायो । अनुसन्धान अघि बढेपछि रु.१५ लाख पर्ने उपकरण जापानले अनुदानमा दियो । अहिले नास्टले वागमती किनारमा फालिएका र नयाँ प्लास्टिकबाट डिजल निकाल्दा उत्पादनमा कस्तो भिन्नता आउँछ र त्यसमा केकस्तो प्रशोधन र विधि प्रयोग गर्न सकिन्छ भनेर थप अनुसन्धान भइरहेको छ ।

सात वर्षअघि ढकाल नास्टमा आउँदा बायोडिजल (जैविक इन्धन) उत्पादन गरेर २० वर्षपछि नेपाललाई तेल निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित गर्ने सपना साँचेका थिए । तर, बायोडिजलको अनुसन्धानमा गरिएको लगानीले त उपलब्धि दिने संकेतसम्म देखिएको छैन ।

उनले भौगोलिक सूचना प्रणाली (जीआईएस) तथ्यांक विश्लेषण गर्दा देशभर १९ लाख हेक्टर जमीन खेर गइरहेको देखेका थिए । त्यस्ता बाँझाे जमीनमा सजिवन खेती गरेर प्रतिहेक्टर औसत १५०० किलो कच्चा तेल उत्पादन गर्न सकिने ढकालको परिकल्पना थियो । 

उक्त कच्चा तेलबाट वार्षिक २९ लाख टन जैविक तेल उत्पादन गर्न सकिने अनुमानका आधारमा ढकाल र जापानी प्राध्यापक हिरोइ कोजिमाको टोलीले तीन वर्ष अध्ययन गर्‍यो । जैविक इन्धनको उत्पादन लागत घटाउन ‘डोलोमाइट’ भनिने एक प्रकारको चट्टानलाई क्याटालिस्ट (उत्प्रेरक) को रूपमा प्रयोग गर्ने प्रविधिको पनि विकास गर्‍यो । नेपालमा करीब ५० खर्ब टन डोलोमाइट मौज्दात रहेकाले वर्षौंसम्म यसलाई प्रयोग गर्न सक्ने अनुमान थियो ।

यो अनुसन्धानमा नास्टले तीन वर्षमा रु.१५ लाखभन्दा बढी खर्च गर्‍यो । अर्को २० लाख खर्चेर पाइलट प्लान्ट (नमूना उद्योग) पनि स्थापना गर्‍यो । तर, सबै कुरा तयार हुँदा पनि बायोडिजलको व्यावसायिक उत्पादन हुने छाँट देखिएन । एकातिर सजिवन खेती फस्टाउन सकेन, अर्कातिर इन्धन उत्पादन गर्न कुनै कम्पनी अघि सरेनन् । त्यस्तै, धादिङका जंगलबाट विभिन्न किसिमका बिरुवा संकलन गरेर त्यसबाट केकति डिजल निस्किन्छ भनेर समेत अनुसन्धान गरिएको ढकाल बताउँछन् । यो अनुसन्धान पनि प्रयोगमा नआई थन्कियो ।

डिजल उत्पादन गर्ने प्रविधि व्यावसायिक तथा व्यावहारिक प्रयोगमा ल्याउने आफ्नो प्रयास जारी रहेको डा. ढकाल बताउँछन् । “काठमाडौं उपत्यकाभित्रका होटल र पार्टी प्यालेसबाट मात्र एक वर्षमा एक करोड लिटर डढेको तेल निस्कने रहेछ, त्यसैलाई डिजल बनाऔं भनेर लागिरहेका छौं”, उनी भन्छन् । डढेको तेल होटल तथा रेस्टुरेन्टमा पुनः प्रयोग हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । “त्यसलाई डिजल बनाउन सकियो भने ती होटलमा अहिलेभन्दा स्वस्थकर खाना बन्थ्यो” उनी भन्छन्, “डिजल बनाएपछि पेट्रोलियम आयातमा पनि केही कमी आउनेथियो ।” साझ यातायात त्यस्तो डिजल प्रयोग गर्न राजी पनि भएको छ । गर्न कोही उद्योगी अघि सरेका छैनन् ।

अहिले मात्र होइन, नास्टका पुराना प्रविधिहरूको पनि बजारमा व्यावसायिक उपयोग भएन । २०४४ सालमै नास्टले ‘बहानाबक्र’ भन्ने मेशीन बनाएको थियो । इन्धन विना नै खोलाको पानी तान्ने र बिजुली पनि निकाल्ने यस्तो मेशीन धादिङको घाटबेसीमा परीक्षण गरिएको थियो । दाङको अम्मापुरमा त्यसै वर्ष सौर्य ऊर्जा मार्फत खोलाको पानी माथि तान्ने प्रविधि परीक्षण गरियो ।

त्यही वर्ष इन्धन विना चल्ने डुंगा बनाएर घाटबेसीमै परीक्षण गरियो । त्यसको कार्यक्षमता बढाउँदै थप अनुसन्धान गर्ने कार्यक्रम पञ्चायतको बहिर्गमनसँगै हरायो । “त्यसलाई प्रवद्र्धन गर्न सकेको भए अहिले जस्तो तुइनको समस्या आउँदैनथ्यो” नास्टको प्रविधि संकायका पूर्वप्रमुख डा. सुरेशकुमार ढुंगेल भन्छन् ।

ढुंगेलकै नेतृत्वमा तीन वर्षअघि नास्टले ‘सोलार प्यानल क्लिनर’ बनायो । सडक बत्तीहरूमा जडान गरिएको सोलार प्यानलमा जम्मा हुने धूलो सफा गर्ने त्यस्तो मेशीनमा नास्टले पेटेण्ट दर्ता गर्न उद्योग विभागमा पठाएको छ । “२०४२/४३ सालमा काठमाडौंका सबैजसो मूल सडकमा ट्राफिक लाइट भए पनि सोलार प्यानल सफा गर्नुपर्छ भन्ने चेतना अभावले लामो समय चल्न सकेन” ढुंगेल भन्छन्, “अहिलेका सडकबत्तीको पनि त्यही अवस्था नहोस् भनेर यस्तो मेशीन बनाएका हौं ।”

यो मेशीन भने अनुसन्धानमा सहभागी एक वैज्ञानिकले नै व्यावसायिक उत्पादन गर्ने योजना बनाएर कम्पनी दर्ता गरेका छन् । “ठूलै व्यवसायीहरू पनि यसमा लगानी गर्न तयार भएका छन्”, उनी भन्छन् । 

तर उनै ढुंगेलले हाल बजारमा पाइने ‘सिलिकन सोलार’ भन्दा निकै सस्तो मूल्यमा नेपालीलाई सौर्य ऊर्जा प्रदान गर्न भन्दै ‘डाई–सेन्सिटाइज्ड’ प्रविधिको सोलार प्यानल बनाउने अनुसन्धान गरे । अप्रत्यक्ष प्रकाशमा समेत ऊर्जा उत्पादन गर्न सकिने यो सस्तो प्रविधिले आम नेपालीलाई सौर्य ऊर्जाको पहुँचमा ल्याउने सपना देखेर नास्टले शुरूमै रु.१० लाख खर्च गर्‍यो ।

सुर्खेतमा किसानलाई बायोचार बनाउन सिकाउँदै नास्टका वैज्ञानिक ।

पछि रु.१ करोडभन्दा महँगो मेशीन पनि किन्यो । नेपालमै पाइने वनस्पतिका जैविक रङ प्रयोग गरेर यस्तो सोलार प्यानल बनाउने उनको योजना त्यसबेला ‘फेल’ खायो, जतिबेला यस्तो सोलार प्यानलमा प्रयोग हुने तरल रसायन ‘इलेक्ट्रोलाइट’ को तापमानलाई व्यवस्थित गर्न संसारभरको अनुसन्धान सफल हुन सकेन ।

अहिले त्यो मेशीनको प्रयोग चाहिं विश्वविद्यालयका विद्यार्थीले गरिरहेका छन् । बरु नेपाल भित्रिने सौर्य प्यानलको गुणस्तर परीक्षण गर्ने ‘सन सिमुलेटर’ प्रणालीले भने राम्रो परिणाम दिएको छ ।

नास्टले स्वास्थ्य क्षेत्रमा उपयोगी हुने अनुसन्धान पनि गरेको थियो । लौठ सल्लाको चोपमा क्यान्सर रोगसँग लड्ने क्षमता ‘एन्टी क्यान्सर प्रपर्टी’ छ भन्ने पत्ता लागेको थियो । तर, त्यो उत्पादनको तहमै गएन । “त्यसका लागि ठूलो लगानी चाहिन्छ वा ठूला औषधि उद्योगले मात्र उत्पादन गर्न सक्छन्” ढुंगेल भन्छन्, “तर त्यस्तो उद्यमी नै भेटिएन ।”

त्यस्तै, जंगली च्याउबाट ढुसीमल बनाउने प्रविधिमा पनि नास्टका वैज्ञानिकहरूले काम गरिरहेका छन् । ज्यादै प्रभावकारी हुने भनिएको यस्तो प्राङ्गारिक मलको पेटेण्ट दर्ता भएपछि व्यावसायिक रूपमै ढुसीमल उत्पादन गर्न सकिने भए पनि उत्पादन गर्ने व्यक्ति भने भेटिएको छैन ।

अपर्याप्त लगानी
केही दिनअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेललाई बोलाएर प्रगति विवरण माग्यो । पोखरेलले प्रगति सुनाउँदै भने, “नेपालमा पहिलो पटक इमेलको प्रयोग नास्टले नै गरेको हो ।” नास्टको दस्तावेजमा रहेका २० ओटा कामको सूचीमा रेडियोमा विज्ञान–प्रविधि कार्यक्रम चलाउने र विज्ञान सप्ताह मनाउने जस्ता बुँदा पनि समेटिएका छन् । यो सुनेपछि मन्त्रालयका उच्च अधिकारीहरूले पोखरेललाई भने, “यस्तो प्रगति सुनाउँदै हिंड्नुभयो भने मान्छे हाँस्छन् ।”

हुन पनि ‘विज्ञान र प्रविधिको प्रवद्र्धन गरेर राष्ट्रिय विकासमा योगदान गर्ने’ भन्दै स्थापना गरिएको प्राज्ञिक संस्थाको ३५ वर्षको प्रगति उल्लेखनीय नभएको स्वयम् नास्टका प्राज्ञहरू नै स्वीकार्छन् । तर, त्यसो हुनुमा नास्टको नभएर सरकारकै कमजोरी देख्छन्, नास्टका पूर्व उपकुलपति दिनेश भुजु ।

उनका अनुसार २० मंसीर २०३९ मा स्थापना भएयता नास्टले सरकारबाट रु.३ अर्बभन्दा कम बजेट पाएको छ । “३५ वर्षमा नास्टलाई दिएको बजेट र यो एक आर्थिक वर्ष खेलकुदका लागि छुट्याएको बजेट बराबर छ” उनी भन्छन्, “यस्तो स्थितिमा नास्टबाट बढी अपेक्षा के गर्ने ?” उनकै भनाइसँग जोड्दै नास्टका प्रविधि संकाय प्रमुख डा. ढकाल थप्छन्, “यति ठूलो लगानी गर्दा पनि विश्व फूटबल वरियतामा नेपाल १६१औं स्थानमा छ भने विज्ञान, प्रविधिको वरियतामा १०९औं स्थानमा ।”

भुजु भन्छन्, “प्रविधि विकास एक व्यक्तिको चिन्तन र प्रयासले मात्र हुँदैन । त्यसका लागि समूह र ठूलो लगानी चाहिन्छ ।” नास्टको प्रविधि संकाय प्रमुख ढकालको विचारमा निजी उद्योगहरूले पनि प्रविधिमा लगानी गर्नुपर्ने हो । स्थानीय सरकारहरू पनि नास्टको बजार हुनसक्छन् । तर, अहिले ‘इनोभेटिभ आइडिया’ चाहने उद्योग नै नेपालमा नभएको उनी बताउँछन् । “उद्योगीहरू प्रविधिमा लगानी गर्नुको साटो बाहिरबाट खरीद गरेर काम चलाउने सोच्छन्”, उनले भने ।

नास्टका अनुसन्धान र उसले विकास गरेका वा भित्र्याएका अधिकांश प्रविधि उपयोगविहीन अवस्थामा रहेकोमा तिनलाई व्यावसायिक आकार दिन आफूहरू लागिपरेको डा. ढकालको भनाइ छ ।

नास्टले ‘बायोचार’ भनिने अँगार (गोल)को मल बनाउने प्रविधि अहिले किसानको घरघरसम्म पुर्‍याइरहेको छ । हालसम्म १५०० जनालाई बायोचार बनाउने तालिम दिएको नास्टले जनाएको छ । उद्योगले प्रविधि किन्ने वातावरण नबनेपछि किसानलाई प्रविधिक सीप हस्तान्तरण गर्दै जान खोजिएको छ ।

एशियाली विकास ब्यांकले रु.५ करोड अनुदान दिएपछि कृषि अनुसन्धान परिषद् (नार्क) र कृषि मन्त्रालयलाई समेत लिएर नास्टले देशभर २४४ स्थानमा २२ वटा बालीमा बायोचारको परीक्षण गरेको थियो ।

हाल बेलायती संस्था ‘डार्बिन इनिसियटिभ्स’ बाट साढे ३ करोड रुपैयाँको परियोजना पाएपछि वनमारा झरलाई बायोचार बनाएर बालीमा प्रयोग गर्ने र उत्पादकत्व बढाएर आर्थिक स्तर उकास्ने काम भइरहेको ढकालले बताए । उक्त परियोजनाले बर्दिया, मकवानपुर र नवलपरासीमा काम गरिरहेको छ ।

नास्टले कर्णाली प्रदेशका किसान र त्यहाँ कृषि विज्ञान अध्ययनरत विद्यार्थीलाई पनि यस सम्बन्धी तालिम दिएको थियो । “कर्णालीका मुख्यमन्त्री र अरू मन्त्रीहरूलाई समेत भेटेर ‘अर्गानिक प्रदेश’ बनाउने हो भने यो अचूक उपाय हो भन्ने सुझव पनि दिएका छौं”, डा. ढकालले भने । उनको भनाइमा घरघरमा मात्र होइन, वैज्ञानिक वन व्यवस्थापन गर्दा झडी फाँडेर निस्कने ठूलो परिमाणको फोहोरलाई पनि बायोचार बनाउने हो भने उद्योग नै स्थापना गरेर उत्पादन गर्न सकिन्छ ।

‘स्वदेशी प्रविधि प्रयोग गर्न चाहन्छौं’
वैज्ञानिकहरुले कुनै नयाँ प्रविधि तयार पारेको छ भने त्यसलाई प्रचारमा ल्याउनुपर्छ । विदेशतिर नयाँ प्रविधि तयार गरेपछि सार्वजनिक सूचना मार्फत आफ्नो प्रविधि खरीद गर्न बोलपत्र माग्ने प्रचलन छ । नास्टले पनि व्यावसायिक उपयोगका लागि संभाव्य प्रविधि बनाएको छ भने सार्वजनिक सूचना मार्फत आशयपत्र माग्न सक्छ ।

हरिभक्त शर्मा 
अध्यक्ष, नेपाल उद्योग परिसंघ

त्यसपछि निजी कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार ती प्रविधि खरीद गर्न सक्छन् । अन्यथा, कुन संस्थाले के काम गरेको छ भन्ने कसैलाई पनि जानकारी हुन्न ।

हामीकहाँ उपयोगी प्रविधिको विकास गर्ने भन्दा अनुसन्धान सम्बन्धी ‘पेपर’ निकाल्ने काममा वैज्ञानिकहरु बढी मिहिनेत गरिरहेका हुन्छन् । त्यसले गर्दा पनि नेपालमा प्रविधिको प्रभावकारी विकास हुनसकिरहेको छैन । नेपाली औद्योगिक क्षेत्रले अहिलेसम्म एउटा पनि स्वदेशी प्रविधि प्रयोग र प्रवद्र्धन गर्न सकेका छैनन् । कम्तीमा एउटा प्रविधिलाई प्रयोग गर्न सकियोस् भन्ने हाम्रो पनि आशा छ ।

दुई वर्षअघि ‘पारासिटामोल बनाउने सस्तो प्रविधि तयार पारेका छौं’ भन्नुभयो । मैले ‘ल्याउनुस्, हामी प्रयोग गर्छौं’ भनें । पारासिटामोल बनाउने प्रविधि अघिल्लै पुस्तामा बनेको हो । तर साँच्चै नयाँ, उपयोगी र प्रतिस्पर्धी प्रविधि छ भने प्रयोग गर्न सकिन्छ भनेर मागेको हो ।

त्यसपछि नास्टका पदाधिकारीले कुनै कुरा गरेनन् । पुरानै प्रविधि हो भने त त्यसै पनि बजारमा किन्न पाइन्छ । प्रतिस्पर्धा गर्न नसक्ने र संभाव्यता नभएको प्रविधिलाई हामीले किन्न सक्दैनौं किनकि चीन र भारतका ठूल्ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्नु छ ।

प्रतिकृया दिनुहोस