ब्लगशनिवार, कार्तिक १३, २०७३

'घुम्ने मेचमाथि'

कमलमणि दीक्षित

कवि भूपिले 'घुम्ने मेच माथि अन्धो मान्छे' भन्दै 'होमेरिक सिमिली' हरूको पौल दिएका छन्।

जङ्गबहादुरको शासनकालमा १९२० सालतिर हाम्रा आदिकविले लेखे–

बिन्ती डिट्ठा बिचारीसित म कति गरूँ, चुप् रहन्छन् नबोली।

बोल्छन् ता ख्याल् गरुर्‍या झैं अनि पछि दिनदिन्, भन्दछन् भोलिभोली।।

की ता सक्तीन भन्नु कि तब छिनिदिनू, क्यान भन्छन् इ भोली।

भोलीभोली हुँदैमा सब घर बितिगो, बक्सियोस् आज झोली।।

त्यसको सय वर्ष जति पछि पञ्चायतकालमा हाम्रा अर्का थकाली कविले त्यस्तै कविता कोरेर 'घुम्ने मेच माथि अन्धो मान्छे' भन्दै आदिकविको समयका जस्तै हालका हाकीम साहेबहरूको हुर्मत लिए।

यो माथिको फाँकी अलि व्यङ्ग्यात्मक शैलीमा लेखियो। तर, लोकप्रिय कवि भूपि शेरचन कुनै व्यङ्ग्यका पात्र होइनन्। र, भानुभक्तका डिट्ठा बिचारीहरू भूपिका घुम्ने मेचमा बसेका ऐलेका अन्धा हाकीम साहेबहरूसित तुलनीय हुनु पनि व्यङ्ग्य होइन बरु, यथार्थ हो, कटु सत्य हो।

त्यस्तै के पनि सत्य हो भने आदिकविको त्यो श्लोक जसरी नेपालीका वार्तालापहरूमा बारबार पाठ गरिन्छ त्यस्तै गरेर भूपिका घुम्ने मेचका अन्धा मान्छे पनि पटकपटक 'कोट' हुने गर्छन्।

त्यो एउटा कविता मात्र होइन, त्यस किताबका अन्य कविताका पंक्तिहरू पनि सूक्ति जस्तै गरी प्रयोग भएका सुनिन्छन्। 'साँघुरो चोकका द्यौता' हुन् कि रानीपोखरीमा माछा मार्न बसेको बूढो 'घन्टाघर' होस्, अथवा 'वीर भएका बुद्धू हौं कि बुद्धू भएका वीर हौं' सबै उस्तै 'कोटेबल' छन् र उत्तिकै उच्चारित पनि हुन्छन् बातबातमा।

साधारणतः एउटै किताबबाट कुनै व्यक्ति यति बढी प्रशंसित हुँदैनथ्यो, तर भूपि भैदिए! त्यही यथार्थ छ 'घुम्ने मेच माथि, अन्धो मान्छे' हाम्रो 'पुस्तक सम्पदा' मा भित्रिनुमा पनि।

यति भूमिका बाँधिसकेपछि अब यो किताब कसरी छापियो भन्ने पनि बताऊँ अलिकति, किनभने म त्यसको प्रत्यक्षदर्शी हुँ, केही अंशमा त्यसको 'कारणी' पनि।

यो किताब प्रकाशित गरेको हो साझा प्रकाशनले २०२६ सालमा। त्यस बेला साझा प्रकाशनको अध्यक्ष थिएँ म, अनि महाप्रबन्धक थिए नरेन्द्रविक्रम पन्त। हामी दुईको 'टीम' राम्रो जमेको थियो। एकआपसमा सल्लाह नगरी हामी केही गर्दैनथ्यौं।

त्यस बेला भूपिको लोकप्रियता बढेको नरेन्द्रविक्रमले भाँपेछन्। उनले कविताहरूको एउटा संग्रह प्रकाशित गर्ने भनेर भूपिलाई भनेछन् दुईचार पटक। तर भूपिले 'टेरपुच्छर लगाएनन्' रे! अनि उनले मलाई आग्रह गर्न भने।

नरेन्द्रलाई थाहा रहेछ– अनङ्गमान शेरचनका कान्छा भाइ भूपि मलाई पनि आफ्ना दाजु झैं मान्छन् र टार्न सक्दैनन् भन्ने। नभन्दै, मैले भनेपछि भूपिले माने तर भने, “दाजु, हजुरले नै खोज्न लगाउनुपर्दछ कविताहरू।”

हामीलाई त्यो समस्या थिएन। नरेन्द्रविक्रमले कविताहरू सबै जम्मा पारिसकेका थिए! त्यसको भूमिका जस्तो गरेर प्रकाशकीय मैले लेख्नुपर्‍यो। अलि व्यङ्ग्यात्मक पाराले भूपिलाई नै प्यारोडी गरेर मैले यस्तो लेखें– 'केही लेख्छन्, लामो सास फेर्छन्, यस्ता भूपि शेरचन, हामीले दिक्क पारेपछि, एक दिन भन्छन्– छाप्ने भए छाप्नू खोजेर जहाँ जे छन्, भयो। हामीले खोज्यौं खोजायौं, अनि अलिकता रोजायौं, इत्यादि।'

माथि हामीले भूपि शेरचनलाई अत्यन्त 'कोटेबल' कवि भनेर बखान त गरुर्‍यौंतर प्रमाण दिएका छैनौं। अब 'घुम्ने मेच माथि अन्धो मान्छे' बाट केही नमूना उद्धरणहरू दिएर यस प्रकारणलाई टुङ्ग्याऊँ― संस्कृतका कवि कालिदासलाई 'उपमा कालिदासस्य' भनेर सह्राइन्छ।

राम्रा–राम्रा उपमा प्रस्तुत गरेका भनेर उनको प्रशंसा गरिएको छ। ग्रीक साहित्यका प्रखर कवि होमर पनि लामा–लामा उपमाहरू दिनेमा प्रख्यात छन् अनि 'होमेरिक सिमिलीज' दिने भनेर अंग्रेजीका कवि मिल्टन पनि प्रशंसित छन्।

नेपालीका कविहरूमध्ये उम्दाउम्दा उपमा दिनेमा कविशिरोमणि लेखनाथलाई कसैले उछिन्न सकेको छैन। अचेलका नेपाली कवितामा त उपमा भन्ने चलन नै छैन, 'बिम्ब' भन्नुपर्छ। तर, उपमा या बिम्ब जे भने पनि त्यस विधामा कवि भूपि शेरचन अद्वितीय छन् भन्ने मेरो धारणाको प्रमाण प्रस्तुत गर्न यही एउटा पुस्तक, 'घुम्ने मेच' पर्याप्त छ भन्ने मलाई लाग्छ।

यस किताबबाट एउटा मात्र कविता झिकेर हेरूँ न– 'मैनबत्तीको शिखा।' कति थरी उपमा दिएका छन् उनले त्यो एउटा बत्तीको, 'सन्तुष्ट पुत्रवतीको आँखा', 'एक्लै एक्लै मुस्कुराइरहेकी सुन्दरी नवयुवतीको अनुहार' या यो–

'एकातिर धप्पधप्प, बलिरहेछ अनुहार

अर्कातिर तप्पतप्प ढलिरहेछ अश्रुधार

मानौं यो कुनै विधवाको त्यो क्षणको अनुहार हो

जब कि उनलाई आएछ याद, एकसाथ, सुहागरात र पतिको

शुभ्र, शान्त र स्निग्ध, शिखा मैनबत्तीको।'

अर्को कविता छ– 'वसन्त', जसमा उपमा र बिम्बहरूको जुन पौल छ त्यो वर्णनातीत छ। त्यसको स्वाद लिन त पढ्नैपर्छ। भूपि शेरचनका 'भोकमा डुबेका चोक' र 'वैलाएका कलि जस्ता गल्ली' मा 'चियाको किट्लीबाट उदाउने र रक्सीका रित्ता गिलासमा डुब्ने सूर्य' सँग कसले सक्छ आँखा जुधाउन?

को जिस्काउन जान सक्छ भूपिको रानीपोखरीमा बल्छी हालेर झोक्राइरहेको घन्टाघरलाई? बिचरो त्यो पेन्सनर सिपाही, घन्टाघरले, फौजी जीवनका सबै बस्तु गुमाइसक्यो, केवल पुरानो डिजाइनको एउटा ठूलो गोलो जेबघडी छातीमा झुन्ड्याएको छ अनि शिरमा पुरानो टोप भिरेको छ। के यो 'होमेरिक सिमिली' होइन?

यस्ता उदाहरण नेपाली साहित्यमा अन्यत्र कहाँ पाइन्छन् मलाई थाहा छैन। तर, भूपि चाहिं भन्न सक्छन् 'नेपाल खुम्चिएर काठमाडौंमा, काठमाडौं डल्लिएर नयाँ सडकमा र नयाँ सडक– असंख्य मानिसहरूका पाउमुनि कुल्चिएर, टुक्रिएर अखबार, चिया र पानको पसल बन्छ।'

तर भन्छन् उनै– 'घुमिरहेकै छ म बसेको यो पृथ्वी पूर्ववत्। फगत् म अपरिचित छु वरिपरिका परिवर्तनहरूदेखि, रमाइलोदेखि प्रदर्शनीको घुम्ने मेचमा करले बसेको अन्धो जस्तै।'

भूपिका बिम्बहरू यस किताबमा नयाँ सडक र खिचापोखरीदेखि पोखरा र भैरहवासम्म पुगेका छन्। उनको पोखरा वरिपरि 'म्युजिकल चेयरका खेलाडी डाँडाहरू' उभ्याएर बसेको छ।

उनको सेती टेप रिकार्डको फित्ताझैं सङ्गीत छर्छ अनि माछापुच्छ्र्रे 'एका बिहानै अनुहार हेर्छ फेवामा' र 'मिलाउँछ शिरमा कालो–सेतो टोपी सक्कले ढाकाको।'

तल मठ्याहा नेपाली बोल्ने बिचरो भैरहवा छ भूपिको। 'जता हेरुर्‍यो उतै मैलो, फुस्रो धरतीको' 'नखदेखि शिखसम्म वक्ष, नितम्ब केही पनि विकसित नभएको बाँझी तरुनीको आङजस्तो सपाट।'

भैरहवा र खिचापोखरीलाई मात्र ताडने होइन, भूपि आफैंलाई समेत 'कठैबरा बिचरा भूपि शेरचन' भन्न छाड्दैनन्। यो मातृभूमि नेपालको पुत्र भएर पनि केही गर्न सकिएन भन्ने ग्लानि छ, उनमा। आफ्ना पाठकहरूलाई उचाल्न चाहेको भान हुन्छ उनले आफैंलाई 'गिराएर' यसरी–

“म एक पुत्र, एक पति र एक पिता हुँ

म एक होटल, एक बोतल र एक प्याला हुँ

म एक इन्टरभ्यू, एक लामो क्यू र एक क्यान्डिडेट हुँ

म एक सभा, एक श्रोता, एक वाह! र एक ताली हुँ

म केवल एक जुत्ता, एक सुरुवाल, एक कमीज र एक कोट हुँ

बस् म केवल एक क्रान्ति, एक प्रजातन्त्र, एक चुनाव र एक भोट हुँ

केवल एक भोट हुँ!!!”

प्रतिकृया दिनुहोस