साफ च्याम्पियनसिप फुटबल: नेपाल र भुटान भाेलि भिड्ने, जित्नैपर्ने दवावमा नेपाल
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि २१ भदौमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ।
बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ।
उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिप फाइनलमा पुग्न सकेको छैन। यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ।
मङ्गलबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो । खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले हार बेहोर्नु परेको थियो।
प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी सात राष्ट्रको सहभागिता रहेको छ।
नेपालसहित बङ्गलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन्। च्याम्पियनसिपमा समूहको शीर्ष दुई टोलीले अन्तिम चार भित्र (सेमिफाइनल) स्थान बनाउनेछन्।
नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन्। – रासस