मनाङको झोलुङ्गे पुल नेपालकै अग्लो
मनाङको ड्रोना खोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकहरुले दाबी गरेका छन् ।
नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न बनाइएको यो पुल खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको छ । यस पुलको लम्बाई १३५ मिटर रहेको छ।
हालै नाशोङ गाउँपालिकाका इञ्जिनियर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो। चार वर्षअघि नै पुल निर्माण गरिए पनि यसको वास्तविक उचाइ सार्वजनिक भएको थिएन।
विसं २०७२ मा निर्माण भएको यो पुल अग्लो मध्य विश्वकै पाँचौं नम्बरमा पर्छ। हालसम्म विश्वको तथ्याङ्क हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ। चीनको डुङ्ग्रे ब्रिज ५६५ मिटर अग्लो छ। त्यस्तै, चीनकै सिदु पुल ४९६, पुल्ली पुल ४८५, एचीपुल ४३४ मिटर अग्लो छ।
चीनका ती चारवटा पुलपछि ड्रोना खोलामा निर्माण भएको पुल नै सम्भवत: अग्लो भएको दाबी स्थानीयवासीको छ। हालसम्म नेपालको अग्लो झोलुङ्गे पुल भनेर चिनिएको पर्वत कुश्माको पुलको उचाइ जम्मा १६६ मिटर छ। ‘हामीले प्राविधिक हिसाबले नै नापजाँच गरेका हौँ। पुलको वास्तविक उचाइ ४१२ मिटर छ, इञ्जिनियर पाण्डेयले भने, “अब यसको प्रचार देशभरि गर्नसके यसले पनि मनाङको पर्यटन बढाउन थप सहयोग गर्छ।” – रासस