कला/साहित्यबुधवार, भाद्र २०, २०७५

२७ वर्षपछि 'सडक' फिल्मको सिक्वल बन्दै, सञ्जय दत्त र पूजा भट्ट दोहोरिने

हिमालखबर

 सन् १९९१ मा महेश भट्टको निर्देशनमा बनेको रोमान्टिक थ्रिलर फिल्म 'सडक' को सिक्वल निर्माण हुने भएको छ। निर्देशक भट्टले उक्त फिल्मको सिक्वल बनाउने विचार गरिरहेको भनेर लामो समयदेखि खबर आइरहे पनि अन्तत: उनले 'सडक २' बनाउने निर्णय गरेका छन्।

फिल्मको कथा कस्तो हुने र अघिल्लो फिल्मबाट कति प्रभावित होला भन्ने विषयमा हालसम्म कुनै कुरा आएको छैन। तर, सिक्वलका कलाकार टोली हेर्दा रोचक देखिन्छ। यस फिल्ममा महेश भट्टले कान्छी छोरी आलिया भट्टलाई निर्देशन गर्नेछन् । बलिउड हंगामाको रिपोर्ट अनुसार 'सडक २' मा आलिया भट्ट र सञ्जय दत्त देखिनेछन्। यसका साथै, फिल्ममा आदित्य राय कपुर र पूजा भट्ट पनि महत्त्वपूर्ण भूमिकामा देखिने बताइएको छ। 'सडक' मा सञ्जय, पूजा, दीपक तिजोरी लगायतले अभिनय गरेका थिए।

 फिल्मको सुटिङ यसै महिनाको अन्तिमदेखि शुरु हुनसक्ने रिपोर्टमा उल्लेख गरिएको छ। निर्देशक भट्टले यो फिल्म २०१९ नोभेम्बरमा रिलिज गर्ने सोच बनाएको छ । यद्यपि यस फिल्मबारे कुनै पनि आधिकारिक घोषणा आइसकेको छैन।

 पछिल्लो समय आलिया फिल्म 'ब्रह्मास्त्र' को सुटिङमा व्यस्त छिन्। उक्त फिल्ममा आलियाका साथै रणवीर कपुर, अमिताभ बच्चन, अकिनेनी नागार्जुना लगायतको मुख्य अभिनय छ। भारतीय सञ्चार माध्यमहरुले आलिया र रणवीरबीच प्रेम सम्बन्ध रहेको भन्दै गसिपको विषय बनाउँदै आएका छन्। - एजेन्सी

प्रतिकृया दिनुहोस