टिप्पणीबुधवार, भाद्र २०, २०७५

रेलको रहर . . .

हिमालखबर

डा. प्रज्ज्वल काफ्ले

सम्भव होला नहोला तर, नेपाली मन रेल चढेर चीन जाने सपना देख्न थालिसकेको छ ।

विज्ञान प्रविधिको विकासबाट असम्भव मानिएका असंख्य सपना यथार्थ भएका छन् । असाध्य ठानिएका रोगको उपचार सम्भव भएको छ । चन्द्रमालाई टाढैबाट ढोगेर बसेका हामीले त्यहाँ अमेरिकी नागरिकको पाइला परेको थाहा पाएकै आधा शताब्दी नाघिसक्यो । 

संसार चहार्न हाम्रा हात–हातमा मोबाइल र इन्टरनेट छ । यद्यपि हामी गम्नु जरुरी छ, विज्ञान कुनै फिल्मी चटक होइन जहाँ बलिउडको हिरोले भुस्तिघ्रे गुन्डाहरूको ग्याङलाई दुई मिनेटसम्म हावामै उडेर किक् हानिरहन्छ वा चाइनिज निन्जा जसले एउटा तरबार घुमाई सयौं दुश्मनलाई चित् पार्छ । पर्दाको त्यो भ्रमबाट ब्युँझिएर विना प्रविधि हावामा उडिरहन कसरी सम्भव छ भनेर प्रश्न गर्न सिक्नुपर्छ ।

प्रविधिको सीमा
चीनबाट झर्ने रेल र भारतबाट उक्लिने पानीजहाज नवीनतम प्रविधिबाट नेपाल आइपुग्ने ठानेर हामी ढुक्क छौं । मानौं कसैले जादूको छडी घुमाउँछ र रेल सरर्र दैलोमै आइपुग्नेछ वा हाम्रा खोला नदीहरूमा थुप्रिएका बालुवा सिल्ट चिर्दै जहाजहरू उकालो चढ्नेछन् ।

अग्ला हिमाल र अक्करे भीर छेडेर नेपालसम्म चिनियाँ रेल आइपुग्न प्राविधिक र आर्थिक रूपले सम्भव छ/छैन भन्नेबारे अनुसन्धान र विमर्श प्रखर रूपमा भएकोे छैन, कमसेकम वैज्ञानिक र अनुसन्धानकर्ताहरूको स्तरमा । मिडियामा विपक्षमा केही सशक्त तर्क आएका छन् तर, तिनको बुँदागत वैज्ञानिक जवाफ कतैबाट आएको छैन । ज्ञानको अमृत तर्क–वितर्कको मन्थनबाटै निस्कने हो । हामी भने प्रश्नलाई नै निस्तेज पार्न उद्वेलित छौं ।

हामीले बुझ्नुपर्छ, विज्ञानको आफ्नै परिधि हुन्छ, जसबाट प्रविधिको सम्भाव्यता निर्धारण हुन्छ । विकसित देशहरूले वार्षिक ठूलो धनराशी खर्च गर्दा पनि क्यान्सर हुनबाट रोक्ने खोप अझै बनेको छैन । भारत र चीन जस्ता विशाल अर्थतन्त्र अझै चन्द्रमासम्म पुग्नसकेका छैनन् ।

हामी आफैं पनि प्रविधि बाहिरबाट किन्ने र भित्र्याउने गरिरहेका छौं । स्कूले बालबालिकाले तेलको डब्बाबाट हेलिकप्टर बनाए भन्ने समाचार प्रथम पृष्ठमा पढेर रमाइरहेका छौं, हामी । हाम्रा धार्मिक ग्रन्थमै हात्तीको टाउको प्रत्यारोपण (गणेश भगवानको प्रसङ्ग) र पुष्पक विमानका प्रसंग छन् भन्दै गर्व गरी बसिरहेका छौं । राशिफलमा विश्वास गर्छौं । तर अब हामी वैज्ञानिक धरातलमा ओर्लनै पर्छ ।

शुरुआत गरौं
नेपाली माटो सुहाउँदो सुधारिएको चुलो नेपालीले नै बनाउनुपर्ने हो । ट्राफिक बत्ती जस्ता सरल प्रविधिमा हामी गरीब नहुनुपर्ने हो । दर्जनौं इन्जिनियरिङ संस्था भएको शहरमा, सरकारले एउटालाई प्रोत्साहन दिई काठमाडौं सुहाउँदो ट्राफिक प्रविधिको अनुसन्धान र विकासको जिम्मा दिन सक्छ ।

अर्कोलाई हाइड्रोपावरमा लाग्ने टर्वाइन बनाउन प्रेरित गर्न सक्छ । हाम्रा सडक, नहरहरूलाई वायो–रिइनफोस्र्ड बनाउनेदेखि सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड बनाउने जस्तो काम आफैं किन नगर्ने ?

झट्ट हेर्दा स्थापित प्रविधि बनाउनु भन्दा किन्नु सस्तो र आकर्षक हुन्छ । तर यस्ता विषयमा देश आत्मनिर्भर हुनसके त्यसको प्रभाव व्यापक क्षेत्रमा पर्छ । पहिलो, हामी सानातिना प्रविधिमा आत्मनिर्भर हुन्छौं । देशभित्रै प्रविधि सञ्चालन र हस्तान्तरण सजिलो र सस्तो हुन्छ । दोस्रो, हामीमा अनुसन्धान गर्ने बानी बस्छ र वैज्ञानिक ‘इको–सिस्टम’ स्थापना हुन्छ ।

हामी क्रमिक रूपमा थप जटिल अनुसन्धानतर्फ उत्प्रेरित हुन्छौं । तेस्रो, यसैबाट रोजगारी सिर्जना, उद्योगको विकास हुन्छ र दीर्घकालमा व्यापार घाटा कम गर्न मद्दत पुग्छ ।

तसर्थ, हरेक ठूला परियोजनाको लागतको सानो प्रतिशत अनुसन्धानका लागि छुट्याउनुपर्छ । विश्वविद्यालयको संयोजनमा हुने यस्तो अनुसन्धानको रुपरेखा बनाउन र अनुगमन गर्न उच्चस्तरीय आयोग बनाउन सकिन्छ । यही ढाँचामा विकास गरेको देश दक्षिण–कोरिया हामीबाट धेरै टाढा छैन । चीन पनि नयाँ प्रविधिको सिर्जना वा प्रयोगका लागि देशका वैज्ञानिकहरूमाझ छलफल गराउँछ । आवश्यक परे शोधकर्तालाई तालिमका लागि विदेश पठाउँछ ।

नेपालीहरू सिलिकन भ्यालीका फेसबुक–गुगलदेखि नासासम्मका उच्च पदमा रहेर प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् । उनीहरूको सीप, ज्ञान र पहुँच देशका लागि उपयोग हुनसकेको छैन । हरेकजसो देशमा हुने सरकारका मुख्य वैज्ञानिक सल्लाहकारको हामीकहाँ आवश्यकतासम्म महसूस गरिएको छैन ।

अन्त्यमा, भौतिक शास्त्रको विद्यार्थीको हैसियतले चीनको रेल र भारतको जहाज दुवै नेपाल आइपुग्न वर्तमान प्रविधिबाट सम्भव होला भनेर पत्याउन सकिंदैन । तर यो नेपाली मन दैलोमै आइपुगेको रेल चढेर चीन जाने सपना देख्छ । यो द्विविधा केवल विज्ञहरूको अनुसन्धान र व्यापक विमर्शबाट मात्र चिरिन्छ । आऔं बहस गरौं !

(काफ्ले दि युनिभर्सिटी अफ अष्ट्रेलियामा भौतिक शास्त्र अध्यापन गर्छन् ।)

प्रतिकृया दिनुहोस