ब्लगमंगलवार, भाद्र १९, २०७५

पुरुषै पुरुष सम्पादक महोदय !

कनकमणि दीक्षित

तस्वीरले सम्पादकहरू पुरुष मात्र रहेको त प्रष्ट पार्‍यो । तर किन, र के हुँदैछ ? 

११ भदौमा प्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमका सम्पादकहरूसँग गरेको भेटपछिको सामूहिक तस्वीरले स्वाभाविक रुपमा सामाजिक सञ्जाल ततायो । किनकि ती सबै सम्पादक पुरुष थिए । (तथ्य यो पनि हो, ती २० जना सम्पादकमध्ये १३ जना बाहुन पृष्ठभूमिका छन्, तर त्यो विषय छुट्टै छलफलको लागि राखौं ।) 

उक्त तस्वीरमा महिला सम्पादकको अनुपस्थिति गम्भीर चिन्तन र चिन्ताको विषय हो । मुलुक आधुनिक युगमा प्रवेश गरेको ७० वर्ष पुग्नै लागेको छ । तर, महिला सम्पादक किन उत्पादन भएनन् ? यो लैंगिक असमानताको जड कहाँ छ ? ‘पुरुषप्रधान मूलधार’ मा जरो गाडेको स्त्रीद्वेष कति कारक हो ? संरचनागत सामाजिक, सांस्कृतिक, राजनीतिक र वर्गीय कारण कति हुन् ? यी विषय नियाल्नु जरुरी छ, न कि सामाजिक सञ्जालमा आएको बहसलाई पानीको फोका ठान्दै पन्छाउन मिल्छ ।

प्रधानमन्त्री निवासमा भएको भेलामा ‘राष्ट्रिय’ स्तरका प्रिन्ट तथा अनलाइन मिडियाको सहभागिता देखिन्थ्यो । त्यहाँ न रेडियो पत्रकारिताको उपस्थिति थियो, न त दलित, महिला, जनजाति वा अरु हिसाबले प्रेरित ‘मिशन’ पत्रकारिता गर्ने समूहको प्रतिनिधित्व (‘मिशन’ शब्द आदरका साथ प्रयोग गरिएको) । तर, भन्नेले यो त प्रिन्ट र अनलाइनको भेला बोलाइएको हो भन्ला ।

जे होस्, त्यो ग्रुप फोटोले प्रश्न जन्मायो, सम्पादक टोलीमा महिलाको यस्तो ‘टोटल’ खडेरी किन ?

पुरुषप्रधानता– नेपाली पत्रकारितामा पुरुषप्रधानता हावी हुँदा शुरुदेखि नै महिलाको क्षमता तथा व्यावसायिकतामा प्रश्न गर्ने चलन रह्यो । विशेष आत्मबल भएका महिलाले मात्र त्यो पुरुषप्रधानता छिचोल्न सके । अर्कातिर, पत्रकारिता जस्तो ‘बाहिर हिंड्नुपर्ने’ पेशामा अन्य व्यवसाय भन्दा कम महिलाले ठाउँ लिने भए ।

आज सम्पादक र प्रकाशक ‘राम्रो’ लेख, अनुसन्धान, विश्लेषणको खोजीमा छन्, आफ्नो पत्रिकालाई पाठकप्रिय बनाउन र प्रतिस्पर्धीलाई उछिन्न । यस्तै, डेस्क र सम्पादनको तहमा पुरुष हुन् या महिला, सक्षम व्यक्तिको खोजी छ ।

‘ल अफ प्रोबबिलिटी’– सामाजिक, सांस्कृतिक बन्धनबाट उम्कन सफल महिला स्वाभाविक रूपमा थोरै हुन्छन् । तसर्थ उनीहरूको ‘माग’ आधुनिक नेपालमा बढी हुने नै भयो । थोरै उत्पादन तथा बढ्दो मागका कारण ती सीमित क्षमतावान र ‘एक्स्पोजर’ भएका महिलाको अगाडि विकल्प धेरै भए, जस्तैः विकासे काम, ब्यांकिङ, अनुसन्धान, परामर्श, चिकित्सा, इञ्जिनियरिङ, बजार व्यवस्थापन इत्यादि ।

ती महिलामध्ये धेरैले पत्रकारिता रोज्न पुगेनन् अथवा पत्रकारिता गरेर अन्यत्र लाग्नपुगे, जसले गर्दा सम्पादक तहमा पुग्न वञ्चित भए । केही सक्षम महिला ‘मूलधार पत्रकारिता’ मा नअटाएर या अपहेलित महसूस गरेर ‘जेण्डर पत्रकारिता’ नै गर्नुपर्छ भनेर लागे । जसले बृहत् समाजलाई त राम्रो गर्‍यो, तर सम्पादन डेस्कमा महिलाको उपस्थिति न्यून बनायो ।

वर्गीय विश्लेषण– सामाजिक, सांस्कृतिक प्रभाव तथा व्यक्तिगत रुचिको कुरा गर्दा कतै वर्गीय कुरा पनि लुकेको त छैन भनी प्रश्न गर्न मिल्छ ।

यस पंक्तिकारकै अनुभवको कुरा गरौं, जो दुई वर्ष अघिसम्म दुइटा ‘हिमाल’ को प्रकाशक थियो, अंग्रेजी मासिक हिमाल साउथएशिएन तथा यस साप्ताहिक हिमाल खबरपत्रिका । नेपाली हिमालको टीममा महिला सहभागिता पहिलादेखि अहिलेसम्म साह्रै कमजोर छ भने अंग्रेजी हिमालमा प्रधान सम्पादकदेखि सम्पादन मण्डलीमा अधिकांश महिला नै थिए ।

पुरुषप्रधानताको कारक तत्व स्वीकार्दा उक्त सन्दर्भले आजसम्मका केही वर्गीय वास्तविकता पनि झल्काउँछ जस्तो लाग्छ, जबकि त्यो वास्तविकता कायापलट हुने समयमा समाज पुगेको छ ।

सम्पादकीय तहमा महिला किन छैनन् भन्ने गहन समाजशास्त्रीय अध्ययन हुनुपर्ने विषयमा मैले यति टिप्पणी गर्ने दुस्साहस गरें । पुरुषले सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्र जति नियाल्न सक्छन्, महिलाले उत्तिकै सक्छन्, यो त भन्नै नपर्ने कुरा । तर, महिलाले आफ्नो चिन्तन र अनुभवबाट पत्रकारितामा जे कुरा थप ल्याउन सक्छन्, त्यसबाट आजसम्म पाठक र समाज वञ्चित छ ।

यसो भनेर महिलाले महिलाकेन्द्रित भएर मात्र बोल्छन्, लेख्छन् वा सम्पादन गर्छन् भनेर ‘घेटोआइज्’ गर्न खोजेको होइन । पुरुष र महिला पत्रकारका अनुभव र प्रस्तुति एउटै खालको हुनसक्छ र बेग्लै हुन पनि सक्छ ।

नेपालको पत्रकारिता जगत र उसको प्रस्तुतिमा विकृति तथा अकर्मण्यताको चाङ नभएको होइन । तर, यस जगतले तुलनात्मक रुपमा २०४६ सालयता फड्को मारेको छ र ‘मूलधार’ मा व्यावसायिकता देखिन्छ ।

आज सम्पादक र प्रकाशक ‘राम्रो’ लेख, अनुसन्धान, विश्लेषणको खोजीमा छन्, आफ्नो पत्रिकालाई पाठकप्रिय बनाउन र प्रतिस्पर्धीलाई उछिन्न । यस्तै, डेस्क र सम्पादनको तहमा पुरुष हुन् या महिला, सक्षम व्यक्तिको खोजी छ ।

मिडियागृहहरूले महिला रिपोर्टर, स्तम्भकारलाई घरबार, फेशन, जेण्डर लगायतका ‘महिला केन्द्रित’ विषयमा मात्र लेखाउने प्रवृत्ति घट्दैछ । अतः भोलिका दिनमा पुरुषलाई पत्रकारितामा जति खुलापन मिलेको छ, महिलालाई पनि त्यो मिल्नेछ ।

यसरी ढोका खोल्दै जानुका दुई कारण छन्, एक त वर्तमान अग्रिम पंक्तिका निर्धक्क बोल्ने र लेख्ने महिला पत्रकार । अर्को, कायापलट हुँदै गएको सामाजिक र आर्थिक परिवेश । नेपाली समाजमा राष्ट्रिय, प्रान्तीय र स्थानीय तहमा नयाँ मान्यता जसरी स्थापित हुँदैछन्, तीमध्ये महिलाको सम–स्थान, सम–अधिकार र सम–क्षमताको कदर पनि स्थापित हुँदैछ ।

यस्तो उर्लंदो संक्रमणको बेलामा पत्रकारिताले बाटो देखाउने छ । किनकि पुरुष होउन् वा महिला, उपलब्ध बौद्धिक साधन प्रयोग गरेर समाज परिवर्तन गर्ने एउटा मूल माध्यम मिडिया नै हो ।

निस्सन्देह पुरुष सम्पादक र पुरुष प्रकाशकले चाहे पनि नचाहे पनि सामाजिक रुपान्तरणले व्यावसायिक पत्रकारिता र सम्पादनमण्डलमा महिलालाई ठाउँ बनाउनेछ । र आशा छ, यस सामाजिक संक्रमणकाल छँदै भोलिका बालुवाटार पत्रकार जमघटमा यस्तो तस्वीर देख्न पाउने छौं, महिला र पुरुष पत्रकारको उपस्थिति बराबरी ! त्यो दिन पनि आउनेछ, जब ‘पत्रकार’ भनेरै पुग्नेछ ‘महिला पत्रकार’ भनिरहनुपर्ने छैन ।

प्रतिकृया दिनुहोस