नेपाल एशिया कपमा पुग्न असफल, जित्नैपर्ने खेलमा हङकङसँग पराजित
एशिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग एक दिवसीय खेल्ने नेपालको सपना अधुरै रहन पुगेको छ । नेपाल मलेसियामा जारी एशिया कप छनोट प्रतियोगिताबाटै बाहिरिएको हो ।
छनोट चरणका शुरुवाती दुइ खेलमा पराजय व्यहोरेको नेपालले १९ भदौको अन्तिम खेलमा हङकङलाई पराजित गर्नैपर्ने दबाब थियो, त्यो पनि ठूलो अन्तरले । तर, हङकङको बलिङ र फिल्डिङ सामु नेपाली व्याटिङ नराम्रोसँग धर्मरायो ।
टस जितेर पहिले व्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा ९५ रनमै अलआउट हुन पुग्यो । इनिङको पहिलो बलमै ओपनर सुवास खकुरेललाई गुमाएको नेपाल कुनै पनि समय सम्हालिन सकेन ।
९६ रनको सहज विजयी लक्ष्य पछ्याएको हङकङमाथि नेपाली बलरले तीब्र दबाब राख्ने प्रयास गरे । सन्दीप लामिछानेले फेरि एकपटक शानदार बलिङ गर्दै १० ओभरमा २७ रन खर्चेर ५ विकेट लिए पनि उनको मात्र प्रदर्शन नेपाललाई जित दिलाउन पर्याप्त रहेन । हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाउँदै विजय हात पार्यो । उसको जितमा अंशुमान रथले शानदार अर्धशतकीय पारी खेले ।
यो जितसँगै हङकङ एसिया कप छनोटको फाइनल पुगेको छ । फाइनलमा उसले युएई वा ओमनमध्ये एउटासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल जित्ने टिम एशिया कपमा छनोट हुनेछ, जसले भारत र पाकिस्तान रहेको समूहमा सहभागिता जनाउनेछ । अहिले युएई र ओमनबीचको खेल जारी छ ।