रक्सौलबासीद्वारा वीरगञ्ज–रक्सौल नाका दुई घण्टा ठप्प
दशगजा क्षेत्रमा फोहोर थुपारिएको विरोधमा भारत रक्सौलका स्थानीयवासीले १२ कात्तिकमा वीरगञ्ज रक्सौल नाका दुई घण्टा ठप्प पारेका छन् ।
वीरगञ्ज उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रबाट संकलित फोहोर दशगजा क्षेत्रमा फालेर रक्सौल क्षेत्रको समेत वातावरण प्रदुषित बनाएको भन्दै भारतीयहरुले दशगजा क्षेत्रको नेपाली भूमीमै प्रवेश गरेर बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नाराबाजी र प्रदर्शन गर्दै नाका ठप्प पारे ।
वीरगञ्ज–रक्सौल नाकामा रहेको मितेरी पुलमा सिरसिया नदी बचाउ संघर्ष समिति रक्सौलको अगुवाइमा भारतीयहरुले प्रदर्शन गर्दै नाका ठप्प पारेका हुन् ।
मितेरी पुलमा भारतीयहरुको प्रदर्शनका कारण सवारी साधनको आवागमन दुइ घण्टा प्रभावित भएको थियो ।
प्रदर्शनमा सहभागी भारतीयहरुले वीरगञ्ज उपमहानगरपालिका कार्यालय विरुद्ध नाराबाजी गर्दै ‘उपहानगरपालिका वीरगञ्ज नेपाल’ नेपाल लेखेको पुत्ला पनि दहन गरेका थिए ।
वीरगञ्ज नगर क्षेत्रबाट दिनहुँ संकलन हुने फोहोर वीरगञ्ज उपमहानगरपालिका कार्यालयले नेपाल भारतको सीमामा अवस्थित दशगजा क्षेत्र आसपासमा फाल्ने गरेको छ ।
सीमा क्षेत्रमा फोहोर फालिएको भन्दै भारत रक्सौलका स्थानीयले बिहान मितेरी पुलमा केहिबेर नाराबाजी गर्दै प्रदर्शन गरेको इनर्वा प्रहरी चौकीले पनि जनाएको छ ।
दगशजा क्षेत्रमा वीरगञ्ज उपमहानगरपालिका कार्यालयले दिनहुँ ट्याक्टरमा ल्याएर फोहोर फालेर प्रदुषण गरेका कारण रक्सौलवासीको जनजीवन अत्यन्त कष्कटर भएकाले सांकेतिक विरोध स्वरुप दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा दुई घण्टा धर्ना तथा प्रदर्शन गरेको सिर्सिया नदी बचाउ संघर्ष समिति रक्सौलका अध्यक्ष प्राध्यापक डाक्टर अनिल सिन्हाल बताए ।
“दशगजा क्षेत्रमै फोहोरको पहाड बनाउने काम भएको छ । महामारी फैलने खतरा भईसक्यो,” सिन्हाले भने, “नेपाली अधिकारीहरुलाई तीन वर्षदेखि भनिरहेका छौं, रोक्ने काम भएको छैन् । हैरानै भएपनि विरोध गर्नुपर्ने अवस्था आएको हो ।”
दशगजा क्षेत्रमा फोहोर नफाल्न आग्रह गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगञ्ज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृतलाई भेटेको भएपनि समस्या समाधान नभएको उनको भनाई छ ।
छठ पर्वसम्म नाकामा फोहोर फाल्ने काम नरोके छठपछि मितेरी पुलमा अनिश्चितकालीन धर्नामा बस्ने उनले चेतावनी दिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले मितेरी पुलमा प्रदर्शन गर्न आएका भारतीयहरुलाई सम्झाएर फिर्ता पठाईएको बताए ।
“सीमा क्षेत्रमा अब देखि फोहोर नफाल्न र अहिले थुपारिएका फोहोरको तत्काल व्यवस्थापन गर्न वीरगञ्ज उपमहानगरपालिका कार्यालयलाइ निर्देशन दिईसकेको छु,” उनले भने ।
तर वीरगञ्ज उपहानगरपालिकाले भने तत्काल फोहोर व्यवस्थापन गर्ने ठाउँ अन्त नभएकोले दशगजा क्षेत्रमा फोहोर व्यवस्थापन गर्नु परेको जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज