रिपोर्टसोमवार, भाद्र १८, २०७५

मदिरा सेवन पूर्ण असुरक्षित र मृत्युकाे जाेखिम बढाउने कारक

रामु सापकोटा

विगतका अनुसन्धानले थोरै परिमाणको मद्यपानले स्वास्थ्यमा हानि नगर्ने देखाए पनि नयाँ अध्ययनले मदिरा सेवन पूर्ण रूपमा असुरक्षित रहेको तथा अशक्तता र मृत्युको जोखिम बढाउने तथ्य सार्वजनिक गरेको छ।

मदिरा स्वास्थ्यका लागि कति घातक र कति उपयोगी भन्नेमा समाजमा आ–आफ्नै बुझइ र भ्रम छन्। यसबारे समय–समयमा अनुसन्धान पनि भएका छन्। पछिल्ला विभिन्न अध्ययनले निश्चित परिमाणको मदिरा सेवनले मुटुलाई फाइदा गर्ने औंल्याएका थिए। तिनै अध्ययनका आधारमा कतिपय चिकित्सकले पनि पूर्ण रूपमा स्वस्थ व्यक्तिले ‘थोरै मदिरा पिउँदा हुन्छ’ भनेर सुझउने गरेका थिए। तर, भर्खरैको एक नयाँ अध्ययनले मदिरा कुनै पनि हालतमा स्वास्थ्यका लागि उपयोगी नरहेको देखाएको छ।

७ भदौ २०७५ मा बेलायतको ल्यानसेट जर्नलमा प्रकाशित ‘मदिरा सेवन र १९५ देशमा यसको असर’ विषयक अध्ययनले मदिरा पूर्ण रूपमा घातक रहेको निष्कर्ष निकालेको छ। अध्ययनले मदिरा सेवनका कारण रोग निम्तिने, अशक्तता र मृत्युको सम्भावना बढाउने देखाएको छ। अमेरिकाको ‘इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आईएचएमई)’ ले गरेको उक्त अध्ययनमा मदिरा सेवनका कारण नसर्ने रोगको जोखिम बढ्ने, शारीरिक अशक्तताको समस्या निम्तिने र ज्यानै जाने खतरा रहेको उल्लेख छ।

ज्यानमारा मदिरा
अध्ययनमा मदिरा सेवनका कारण कलेजो सम्बन्धी रोग, क्यान्सर, चोटपटक र सामाजिक समस्या निम्तिएको आंैल्याइएको छ। एक वर्षको समय लगाएर विभिन्न विषयका करीब दुई हजार विज्ञ सहभागी भएर गरिएको अध्ययन प्रतिवेदन मार्फत मदिरा सेवन कुनै पनि स्तरमा सुरक्षित नभएको सार्वजनिक भएपछि विश्वव्यापी रूपमा चर्चाको विषय बनेको छ।

यसअघि भएका अध्ययनले निश्चित परिमाणमा मदिरा सेवन गर्नु कार्डियोभास्कुलर लगायत मुटु सम्बन्धी केही रोगका लागि फाइदाजनक हुने देखाएका थिए। ती अध्ययनहरूमा पुरुषले दैनिक ३० ग्राम र महिलाले दैनिक २० ग्राम मदिरा सेवन गर्दा स्वास्थ्यलाई असर नगर्ने बताइएको थियो। सन् २०१७ मा बेलायतको द बिएमजे जर्नलमा प्रकाशित अध्ययनले मुटु सम्बन्धी धेरैजसो स्वास्थ्य समस्यालाई मदिरा सेवनले फाइदा गर्ने देखाएको थियो। तर, आईएचएमईको पछिल्लो अध्ययनले मदिरा सेवन मानव स्वास्थ्यका लागि कुनै पनि रूपमा सुरक्षित नभएको तथ्य सार्वजनिक गरेको छ।

सन् १९९० देखि २०१६ सम्मको तथ्यांक विश्लेषण गरिएको अध्ययनमा नेपाल सहितका १९५ मुलुक सहभागी थिए। अध्ययन प्रतिवेदनले नेपालमा महिलाको तुलनामा पुरुषले बढी मात्रामा मदिरा सेवन गर्ने गरेको देखाएको छ। नेपालमा २१ प्रतिशत पुरुष र १.५ प्रतिशत महिलाले मदिरा सेवन गर्ने गरेको अध्ययनमा उल्लेख छ (हे.नक्शा)। तर, मदिरा सेवनका कारण नेपालमा कस्ता जोखिम कुन स्तरमा बढिरहेको भन्ने बारेमा अध्ययनमा उल्लेख छैन।

अध्ययनले विश्वमा मदिरा सेवनका कारण सन् २०१६ मा २८ लाख व्यक्तिको मृत्यु भएको जनाएको छ। नेपालमा त्यही वर्ष मदिराका कारण ३ हजार ९७२ जनाको मृत्यु भएको उल्लेख छ। नेपालको यो संख्या सन् १९९० मा ८३५ मात्र थियो। सन् १९९० देखि २०१६ सम्मको तथ्यांकलाई आधार मान्दा मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या २६ वर्षको अन्तरमा ३७६ प्रतिशतले बढेको देखिन्छ।

अध्ययनमा नेपालका तर्फबाट सहभागी नसर्ने रोगका अनुसन्धानकर्ता डा. कृष्ण अर्यालले हिमाल लाई उपलब्ध गराएको नेपाल सम्बन्धी तथ्यांकमा हामीकहाँ मदिरा सेवनका कारण कलेजो सम्बन्धी समस्या बढी देखिएको उल्लेख छ। सन् २०१६ मा विश्वका १९५ मुलुकबाट संकलित तथ्यांकमध्ये नेपालमा सोही वर्ष लिभर सिरोसिस र कलेजोको दीर्घ रोगका कारण १,३६६ जनाको मृत्यु भएको देखाएको छ। कलेजो सम्बन्धी यस्ता स्वास्थ्य समस्या निम्तिनुमा मदिरा सेवन नै प्रमुख कारण भएको प्रतिवेदनमा उल्लेख छ।

चिकित्सकहरूका अनुसार नियमित रूपमा धेरै परिमाणमा मदिरा सेवन गर्नेहरूलाई लिभर सिरोसिसको खतरा हुन्छ। वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा कलेजोका कोषहरूमा परिवर्तन आएर त्यसको संरचना नै बिग्रिनु लिभर सिरोसिसको समस्या भएको बताउँछन्। “अत्यधिक मदिरा सेवन गर्नेहरूलाई शुरूमा कलेजो सुन्निन्छ र विस्तारै कडा बन्न थाल्छ। त्यसपछिको अवस्थामा लिभर सिरोसिस हुन्छ”, डा. शर्मा भन्छन्।

उनका अनुसार समान परिमाणको मदिरा पिउने पुरुषलाई भन्दा महिलालाई छिटो लिभर सिरोसिसको समस्या निम्तिन्छ।

क्यान्सरको जोखिम
उक्त अध्ययनले नेपालमा कलेजो सम्बन्धी रोग बाहेक मदिरा सेवनका कारण सन् २०१६ मा ६९४ जनाको क्यान्सरका कारण मृत्यु भएको देखाएको छ। तीमध्ये १८९ जनाको मुखको क्यान्सर, २११ जनाको घाँटीदेखि माथिल्लो भागको नलीको क्यान्सर, ११० जनाको खाना नलीको क्यान्सर, ८२ जनाको कलेजोको क्यान्सर, ४९ जनाको घाँटीको तल्लो भागको क्यान्सर, ३४ जनाको मलाशय तथा ठूलो आन्द्राको क्यान्सर र १८ जनाको स्तन क्यान्सरका कारण मृत्यु भएको उल्लेख छ (हे. इन्फो)

वीर अस्पतालको क्यान्सर रोग विभागका प्रमुख डा. विवेक आचार्य अहिलेसम्मका अध्ययन मार्फत मदिरा सेवनका कारण खाना नलीको क्यान्सर हुने गरेको विषय मात्र बाहिर आएको बताउँछन्। आचार्य मदिराले खाना नलीमा ‘क्रोनिक इरिटेसन’ (खाना नलीको दीर्घ समस्या) को समस्या निम्त्याएर घाउ बनाउने बताउँछन्। उनी भन्छन्, “त्यही घाउ बढेर क्यान्सरमा परिणत हुन्छ।” उनका अनुसार शरीरका कोषमा क्रोनिक इरिटेसन हुँदा चाहिनेभन्दा नचाहिने कोषहरू जन्मिन्छन् र तिनै कोषले क्यान्सर गराउँछ।

मदिरा सेवनका कारण विभिन्न खालका नसर्ने रोग लाग्छन्। यसरी मदिरा सेवनका कारण मृत्यु हुने तथा रोग लागेर अशक्त हुनेहरूको संख्या नेपालमा सन् २०१६ मा १ लाख ८४ हजार ९६८ रहेको अध्ययनले देखाएको छ। यो संख्या सन् १९९० मा ८२ हजार ६५८ थियो। २६ वर्षको अन्तरमा मदिरा सेवनका कारण अशक्त हुनेहरूको संख्या १२४ प्रतिशतले बढेको देखिन्छ।

अध्ययनले नेपाल सहित न्यून सामाजिक जनसांख्यिकीय सूचकांक भएका मुलुकमा मदिरा सेवन गर्नेहरूमा क्षयरोग निम्तिने र यसकारण हुने मृत्युको जोखिम पनि बढ्दै गएको देखाएको छ। यो समस्या युवामा भन्दा उमेर ढल्केकाहरूमा बढी देखिएको छ (हे.ग्राफ)। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका जनस्वास्थ्य विषयका प्राध्यापक डा. खेम कार्कीका अनुसार क्षयरोगका बिरामीको धेरै व्यक्तिसँग सम्पर्क हुँदा उनीहरूमा संक्रमण फैलने दर उच्च हुन्छ। त्यसमा पनि मदिरा धेरै पिउनेमा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ। यसैले मदिरा सेवन गर्नेहरूमा क्षयरोगको जोखिम बढ्ने कार्की बताउँछन्।

चुनौती घरेलु मदिरा
नेपालमा विभिन्न कम्पनीबाट उत्पादित मदिराको तुलनामा घरेलु मदिरा सेवन गर्नेहरूको संख्या बढी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सन् २००८ को तथ्यांक अनुसार मुलुकमा मदिरा सेवन गर्ने कुल व्यक्तिमध्ये ८५ प्रतिशतले घरेलु र बाँकी १५ प्रतिशतले कम्पनीबाट बनेका मदिरा सेवन गर्ने गरेका छन्।

नसर्ने रोगका अनुसन्धानकर्ता डा. कृष्ण अर्याल घरेलु मदिरा अन्य कम्पनीबाट उत्पादित भन्दा बढी हानिकारक हुने बताउँछन्। डा. अर्याल संस्कृतिका नाममा विभिन्न जातजातिमा मदिरा सेवन अनिवार्य जस्तै रहेकाले यसको प्रयोग रोक्न चुनौती रहेको बताउँछन्। “कतिपय समुदायमा चिसोबाट बच्न भन्दै गर्भवती महिलालाई समेत घरमा बनेको मदिरा पिलाउने गरिएको छ” उनी भन्छन्, “तर पछिल्लो अध्ययनले गर्भवती महिलाले मदिरा सेवन गर्दा स्वास्थ्यका लागि प्रतिकूल हुने देखाएको छ।”

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका जनस्वास्थ्य विषयका प्राध्यापक डा. कार्की पनि घरघरमा उत्पादन हुने मदिरामा रोक लगाउनु चुनौती रहेको बताउँछन्। मदिरा नीतिमा घरेलु मदिरा नियन्त्रण गर्ने विषय उल्लेख नै नभएको कार्कीको भनाइ छ। “सरकारले घरेलु मदिरा उत्पादन र सेवन गर्ने क्रम रोक्ने खालका कार्यक्रम ल्याउन जरूरी छ”, उनी भन्छन्। डा. कार्की स्थानीय सरकार मार्फत घरेलु मदिराको उत्पादन रोक्ने अभियान चलाउनुपर्ने सुझव दिन्छन्।

नियन्त्रणको बाटो
आईएचएमईको अध्ययनले नेपालमा दैनिक औसत १० ग्रामभन्दा कम परिमाणमा मदिरा सेवन गर्नेहरूको संख्या रहेको देखाएको छ। यो तथ्यांकले अन्य मुलुकको तुलनामा नेपालमा कम परिमाणमा मदिरा सेवन हुने गरेको देखाएको छ। तर, नेपालमा मदिरा सेवन गर्नेहरूको संख्या बढेसँगै यसले निम्त्याउने रोगको जोखिम पनि बढिरहेको चिकित्सकहरू बताउँछन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सन् २०१३ को तथ्यांक अनुसार १५ वर्षमाथिको कुल जनसंख्याको करीब आधाले मदिरा सेवन गर्ने गरेको देखाएको थियो। १५ वर्षभन्दा माथिको कुल जनसंख्यामध्ये दैनिक नछुटाई मदिरा पिउने पुरुषको संख्या २८ प्रतिशत र महिलाको संख्या ७ प्रतिशत छ। आईएचएमईको पछिल्लो अध्ययनलाई आधार मान्दा यो समूह ठूलो जोखिममा रहेको चिकित्सकहरू बताउँछन्। विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको ‘एनसीडी रिस्क फ्याक्टर्स स्टेप्स सर्भे’ ले १५ देखि ६९ वर्ष उमेर समूहको कुल जनसंख्यामध्ये १७ प्रतिशतले प्रत्येक ३० दिनमा कुनै न कुनै बेला मदिरा सेवन गर्ने गरेको देखाएको थियो।  

काभ्रेको धुलिखेल अस्पतालका मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजू मदिराले निम्त्याउने स्वास्थ्य समस्यालाई कम गर्न मदिरा सेवनलाई निरुत्साहित गर्ने नीतिनियम ल्याउनुपर्ने बताउँछन्। त्यसो त सरकारले १० फागुन २०७३ सालमा ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३’ जारी गरिसकेको छ। उक्त नीतिमा मदिराको हानिकारक प्रयोग र यसले निम्त्याउने जनस्वास्थ्यका साथै सामाजिक र आर्थिक समस्याका विषयमा जनचेतना बढाउने, मदिराको उत्पादन, बिक्री–वितरण र सेवन सम्बन्धी विज्ञापन, प्रवद्र्धन, प्रायोजन र समाचार सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न निषेध गर्ने, मदिराको सहज उपलब्धता र पहँुचलाई नियन्त्रण र नियमन गर्ने लगायतका उद्देश्य समेटिएको छ। डा. कोजू सरकारले मदिरा नीति ल्याए पनि थपिंदै गएका मदिरा उद्योगलाई कडाइ गर्न र खुला रूपमा भइरहेको मदिराको विज्ञापन रोक्न नसकेको बताउँछन्। उनी सरकारलाई मदिराका असरबारे जनचेतनाका कार्यक्रम सञ्चालन गर्न सुझव दिन्छन्। यस्तै, विभिन्न भोजभतेर तथा भेलाहरूमा मदिरा सेवनलाई बन्देज लगाउनुपर्ने उनको भनाइ छ। “मदिरा बिक्री तथा सेवन गर्न निश्चित ठाउँ तोक्दा मात्र पनि मदिरा सेवन घट्नेथियो”, उनी भन्छन्।

 

प्रतिकृया दिनुहोस