महाभियोगबाट सकारात्मक शिक्षा: प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमूख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित हुने बताएका छन् ।
कार्की विरुद्धको महाभियोग प्रस्ताव चाँडै पारित गराउनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आएको सयुंक्त विद्यार्थी मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएको उनको निजी सचिवालयले जनाएको छ ।
"अख्तियारको दुरुपयोग रोक्ने, सुशासन कायम गर्ने जिम्मेवारी पाएको व्यक्तिलाई नै महाअभियोग लगाउनुपर्ने बाध्यता पक्कै राम्रो होइन । तर, यसले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सकारात्मक शिक्षा पक्कै दिन्छ ।"
विद्यार्थी नेताहरुले संसदमा पेश भएको महाअभियोग प्रस्ताव सकारात्मक रहेको भन्दै प्रस्ताव चाँडै पारित गर्न विशेष भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
'१७ गते विदा दिने मेरो एक्लो निर्णय होइन'
भेटमा उनले छिमेकी भारतका राष्ट्र प्रमूख नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिने निर्णय राष्ट्रपति र अन्य दलका नेताहरुसँगको सहमतिमा गरिएको पनि बताए ।
उनले राजनीतिक दलका नेताहरु लगायत सुरक्षा निकायबाट समेत एक दिन विदा दिंदा राम्रो हुने राय आएपछि मन्त्रिपरिषदले बिदा दिने निर्णय गरेको दाबी गरे ।
प्रधानमन्त्रीले भने, "भ्रमणको तयारीका लागि राष्ट्रपतिज्यू समेतको सहभागितामा राष्ट्रपति निवासमा बैठक भएको थियो । उक्त बैठकमा राजनीतिक दलका प्रमूख नेताहरु पनि हुनुहुन्थ्यो । छिमेकीहरु प्रतिको सद्भाव र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन समेतलाई विचार गरेर एक दिन बिदा दिँदा राम्रो सन्देश जाने राय आएपछि मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो । बिदा दिने प्रस्ताव र निर्णय प्रधानमन्त्री र प्रचण्डकै भएकोझैं गरी प्रचार गरिएको छ, यो बिलकूल गलत र भ्रामक कुरा हो ।"
भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका शुरु दिन १७ कात्तिकमा विदा दिने सरकारी निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।