सप्तरीका बाढीपीडितको उपचारमा डा केसी
सप्तरीका बाढीपीडितको उपचारका लागि डा गोविन्द केसीले तिलाठीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
तिलाठीका बाढीपीडितलाई स्थानीय राप्रावि विद्यालयको प्राङ्गणमा उनले उपचार गरेका हुन् ।
सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँका १०० भन्दा बढी बाढीपीडितलाई हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गरेका थिए ।
डा केसी आफैं विभिन्न औषधि, फलफूललगायतका सामग्री बोकेर काठमाडौंबाट रात्रीबस चढेर तिलाठी पुगेका हुन् ।
सरकारले स्वास्थ्य क्षेत्रमा दिइरहेको सेवा ग्रामीण भेगका जनतामा पुग्न नसकेको गुनासो गर्दै डा केसीले बाढी प्रभावित क्षेत्रमा आफूले मानवताका आधारमा सेवा गर्न आएको बताए ।
यसैबीच डा केसीले गरिब बालबालिकाका लागि शिक्षामा पहुँच हुनुपर्ने मागसहित गरिरहेको सङ्घर्षप्रति उच्च सम्मान गर्दै तिलाठीका युवाले उनलाई सम्मानसमेत गरेका छन् ।