गिरानचौरको एकीकृत नमुना बस्ती राष्ट्रपतिबाट हस्तान्तरण
मेलम्ची नगरपालिका–८ गिरानचौरमा कलाकारद्वय धुर्मुस र सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्ती आज सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती स्थानीयलाई हस्तान्तरण गरेकी हुन् ।
कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को नेतृत्वमा रु पाँच करोड १४ लाख ४९ हजार १८७ को लागतमा निर्माण भएको वस्ती ३५ रोपनी जग्गामा फैलिएको छ ।
स्वच्छ र हरियाली बस्तीको अवधारणासहित अपाङ्गमैत्री, बालमैत्री, वातावरणमैत्री र भूकम्प प्रतिरोधात्मक भवन निर्माण भएको कट्टेलले जानकारी दिए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका र भवन विभागसँग समन्वय गरी बस्ती निर्माण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका भूकम्प पीडितलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी ६५ घरधुरीका एक/एक तथा दैनिक ज्यालादारीमा काम गर्ने ३१ र विभिन्न सङ्घसंस्थाबाट गरी एक सयजनाको दैनिक श्रमबाट बस्ती निर्माण सम्पन्न गरिएको हो ।
हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब ६ किमी उकालो लागेपछि उक्त बस्तीमा पुग्न सकिन्छ । सो बस्तीमा खानेपानीको व्यवस्थाका लागि सिन्धुखोलाबाट पानी ल्याउने प्रबन्धसमेत मिलाइएको छ ।