रिपोर्टशनिवार, भाद्र १६, २०७५

लोक मिथकमा महिला

सेवा भट्टराई

लिखित मिथकमा थुप्रै आदर्श र बुद्धिमान पुरुष भेटिए जस्तै लोक साहित्यमा महिलाहरूले पनि आदर्श र प्रशंसायोग्य महिला पात्र सिर्जना गरेको देखिन्छ ।

टुँडिखेल, काठमाडौंमा गौरा नाच्दै महिला । तस्वीरः गोपेन राई

यशोदाः बाह्र वर्ष भयो दिदी भेट नभया,
तम दिदी कति पुत छन ?
देवकीः पहिलीको पुत मेरो सूर्यकी ज्योति
मारिदियो कनिस पापीले ।

भदौ महीनामा सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाले मनाउने गौरा पर्वमा गाइने यो गीत डडेल्धुराकी पार्वतीदेवी पनेरुले गाएर सुनाएकी थिइन् । कृष्णको जन्मअघि कंसले कसरी देवकीका सात पुत्रलाई मारेको थियो भन्ने कथा त सबैलाई थाहा छ । त्यसपछि कृष्णको ज्यान कसरी जोगियो भन्नेबारे भने यो गीतले अलि फरक कथा सुनाउँछ ।

देवकीः (सात पुत्रको वर्णन)
सात पुत थ्या मेरा कनिसैले हर्‍यो,
आठौं पुत यो बोझा भार ।

यशोदाः तम पुत भया हम पाली दिउँला,
हाम कन्या मार्नकी दिउँला ।

महाभारतको कथा अनुसार, बाबु वसुदेवले मध्यरातमा यशोदाकी छोरीसँग साटेर कृष्णको ज्यान बचाउँछन् । यो गीतमा भने देवकी र यशोदाले कृष्णको ज्यान बचाउने योजना बनाएका छन् ।

वेदव्यासले लेखेको मानिने महाभारतमा पुरुषवादी विचारधारा नै प्रबल देखिन्छ । तर, त्यो महाभारत र महिलाका भावना प्रयुक्त गौरा गीतमा धेरै भिन्नता पाइन्छ ।

पौराणिक कथा अनुसार, देवकी र यशोदा दिदीबहिनी होइनन्, यो गीतमा भने उनीहरू ‘युनिभर्सल सिस्टरहुड’ मा बाँधिएका छन् । दिदी र बहिनी भेट हुँदा गर्ने भावनात्मक संवाद यहाँ भेटिन्छ । दिदीबहिनी बीचको प्रेम, मातृत्व र आमाले सन्तान गुमाउनुको पीडा यहाँ पोखिएको छ । प्रायः मिथकमा महिलाको भूमिका नै निष्क्रिय वा दोस्रो दर्जाको रहेको बहस आज हामी गर्दैछौं, यस गीतमा भने ठीक उल्टो पाइन्छ ।

प्रचलित कथा अनुसार, छोरी जन्मेको थाहै नपाई मस्त निद्रामा सुत्ने यशोदाभन्दा गौरा गीतकी यशोदा फरक छिन् । महाभारतको कथामा आफ्नो आवाज, शक्ति नभएकी र निर्णयात्मक भूमिका नपाएकी यशोदाले यो गीतमा ती सबै गुण पाएकी छन् । सात पुत्र गुमाएकी देवकीका लागि उनी आफ्नो सन्तान अर्पण गर्न तयार हुन्छिन्, जसले उनको भूमिकालाई सक्रिय बनाएको छ ।

महाभारत कथामा भेटिने महिला आदर्श पात्रको अभावलाई यी लोकगीतले पूरा गरेको देखिन्छ । यशोदाको ममतामयी चरित्रको प्रशंसा गर्दै गीत यसरी अन्त्य हुन्छः

देवकीः आफ्नो मारने बिरानो पालने
को होली बाबकी दिया ?
यशोदाः आफ्नो मारने बिरानो पालने
म हुँलो बाबकी दिया ।

गौरा पर्वमा गाइने अरु थुप्रै गीतमा महिलाको छवि यस्तै उन्नत किसिमको पाइन्छ । मूलधारको रामायणमा रावण भिक्षा माग्न आएका बेला सीताले लक्ष्मणरेखा नाघेर गल्ती गरेको देखाइन्छ, सीता जानीजानी आफ्नो विनाशतर्फ गइन् भन्ने व्याख्या गरिन्छ । यहाँ भने सीता सकेसम्म भिक्षा दिन ढिला गरेर आफ्नो बचाउ गर्न खोज्छिन् ।

रावणः लंका पुग्नकी अबेर होइगइ,
दिय सीता बाहुलीकी भिक्षा ।
सीताः आउन दे जोगी रामावतार
सुन कमण्डलु दिउँला ।

यसैगरी, सीताले आफ्ना देवर, ससुरा सबैको नाम लिएर सकेसम्म भिक्षा दिन ढिलाइ गर्छिन् ।

प्रायः लोक साहित्यले अक्सर यसरी नै मूलधारका दृष्टिकोणलाई चुनौती दिएको हुन्छ । सामान्यतः लिखित पौराणिक कथालाई आधिकारिक मानिने हुँदा यी लोक साहित्य छायाँमा पर्छन् । त्यति मात्रै होइन, मिथकभित्र पनि यी महिलाका कथा सीमान्तीकृत भएर रहेका हुन्छन् ।

जस्तोः सीताले एकछिन ढिलो गरे पनि त्यसले रामायणको मूलकथालाई असर पार्दैन । उल्लिखित गीतमा भएको देवकी र यशोदा भेटको प्रसंग मूल कथामा पाइँदैन, उनीहरूको संवादले वसुदेवको मध्यरातको यात्रालाई असर पनि पार्दैन । देवकी बन्दी थिइन्, त्यसैले यी दिदीबहिनीको भेट कहाँ भयो होला ? पार्वतीको जवाफ छ, “सपनामा होला !”

सपना, दिव्यदृष्टि जस्ता अलौकिक अर्थमा यस्ता कथा भेटिन्छन् । डडेल्धुराकै देवेन्द्र चटौतले मलाई एउटा गीत सुनाएका थिए, रावणका छोरा इन्द्रजितकी पत्नी सुलोचनाबारे । सुलोचनाबारे पौराणिक कथाहरूमा त्यति धेरै चर्चा पाइँदैन । तर नेपाल र भारतका थुप्रै लोक साहित्यमा उनी चर्चित र प्रशंसित पात्र हुन् ।

पौराणिक कथा अनुसार, इन्द्रजितको मृत्युपछि काटिएको उसको हात सुलोचनाछेउ पुग्छ र आफ्नो कथा लेख्न थाल्छ । त्यतिञ्जेल उसको मृत्यु भएको कसैलाई थाहा हुँदैन । एकछिनलाई दिव्यदृष्टि पाएकी सुलोचनाले रामसँग पतिको शव मागेर दाहसंस्कार गर्छिन् । छोराको मृत्युले भावविह्वल भएका रावणभन्दा एकछिनका लागि उनी बहादुर र बुद्धिमानी देखिन्छिन् ।

यो कथा पनि त्यस्तै ‘ड्रिम स्पेस’ मा आउँछ र जान्छ, मूलकथामा कुनै असर पार्दैन । तर, लोक साहित्यमा मूलकथाको साँघुरो परिधिबाट पनि शक्तिशाली, भूत–भविष्य द्रष्टा नारीको कथा बनाइन्छ ।

गौरा पर्वमा पुरुषले पनि गीत गाउँछन्, मुख्यतः महिलाले मनाउने यो पर्वका गीतमा महिलाकै दृष्टिकोण भारी देखिन्छ । यदाकदा अन्त पनि लोककथामा महिलाको यस्तो स्थान पाइन्छ । गन्धर्व युवाको ‘समुद्र ब्याण्ड’ले लोप भइसकेको ‘रानी मन्दोदरी’ बारे गीत सिर्जना गरेर गत वर्ष गाएको थियो । गीतमा रावणकी पत्नी मन्दोदरीले हरेक प्रहरमा एउटा सपना देख्छिन्, समुद्रपारि झुपडी बनेको, समुद्रमा पुल बनेको, सिंहासनको गजुर खसेको । अन्त्यमा गीतले भन्छः

चौथो प्रहरमा नि सपना पो देख्यो
हनुमानजीले लंका जलाएको
रानी मन्दोदरी सपनीको विपनी भयो ।

रानी मन्दोदरीको हरेक सपना साँचो हुन्छ । यो गीत अनुसार, उनलाई अघिदेखि नै कथाको अन्त्य थाहा हुन्छ । हुन त यो सब सपना हो र उनको सपनाले मूल कथाको दिशामा केही परिवर्तन ल्याउँदैन । तर, सपनामा उनी भविष्य द्रष्टा र रावणभन्दा बुद्धिमानी छिन् ।

जुनसुकै लोकगीतमा हरेक वर्गको र विशेषगरी महिलाको योगदान हुनसक्ने भएकाले यी गीतले हाम्रो जीवन र संसारको विविधता देखाउने गरेका छन् । महिलाकै पर्वमा गाइने गीतमा उनीहरूको दृष्टिकोण अझ स्पष्ट देखिने भइहाल्यो ।

लिखित मिथकमा थुप्रै आदर्श र बुद्धिमान पुरुष भेटिए जस्तै लोक साहित्यमा महिलाहरूले पनि आदर्श र प्रशंसायोग्य महिला पात्रहरू सिर्जना गरेको देखिन्छ । मूलकथामा यी पात्रको भूमिका जतिसुकै सानो किन नहोस्, त्यसलाई उनीहरूले विस्तार गरेर आफ्नो अनुकूल बनाएको देखिन्छ ।

लोक साहित्यमा आएका मिथकले महिलामा मनोबल बढाउन र पुरुष सहितको बृहत्तर समाजमा महिलाको सम्मानित छवि बनाउन मद्दत गर्छन् । तर, लोक संस्कृतिको प्रचलन घट्दै जाँदा लिखित मिथकको प्रभुत्वलाई चुनौती दिन सक्ने यी लोक मिथक लोप हुने जोखिममा छन् । पौराणिक कथालाई नागरिकले आफ्नै व्याख्या, बुझाइ र विवेकमा ढालेर बनाइएका यस्ता लोकगीतको अभिलेखीकरण आवश्यक छ ।

प्रतिकृया दिनुहोस