विराटनगरको प्राइम सहकारीद्वारा पाँच करोड ८० लाख ठगी
विराटनगरको प्राइम बचत तथा ऋण सहकारी संस्थाले रु. पाँच करोड ८० लाख ७९ हजार ठगी गरेको छ ।
बचतकर्ताको रकम लिएर सञ्चालक फरार भएपछि पीडितको उजुरीका आधारमा प्रहरीले छानविन गर्दा उक्त रकम ठगी भएको पत्ता लागेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका नायब उपरीक्षक निशान थापाले सर्वसाधारणको उजुरीपछि सहकारीका कागजात नियन्त्रणमा लिइएको जनाएका छन् ।
बचतकर्तामध्ये हालसम्म २६८ जनाले रु. तीन करोड ९७ लाख ९५ हजार फिर्ता पाउनुपर्ने माग गर्दै निवेदन दिएका छन् ।
सर्वसाधारणले बचत गरेको रकमबाट सहकारीका सञ्चालकहरुले अन्य ठाउँमा लगानी गरेको समेत पाइएको छ ।
प्रहरीले नौजना सञ्चालकमध्ये कार्यकारी प्रमुख इन्द्रलाल श्रेष्ठ, सचिव ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीलाई पक्राउ गरेको छ ।
अध्यक्ष विष्णुलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष लिला खानम, सदस्यहरु गोपाल साह, तेजप्रसाद ढकाल, शारदादेवी उदास र अनिल जोशीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कमल रिमाल, विराटनगर