ब्लगशनिवार, भाद्र १६, २०७५

‘हम मछलीके राजा हुँ न !’

भैरव रिसाल

नेपाली राजनीतिमा बेलाबेला विचित्रका राजनीतिक प्राणीले स्थान लिएको पाइन्छ, जयप्रकाश तिनैमध्येका एक पात्र थिए ।

पञ्चायती व्यवस्थामा जयप्रकाश नामका अनौठो स्वभावका व्यक्ति थिए । राजनीतिक रूपमा टाठो भए पनि उनी आफ्नै पाराका थिए । सरकारी कुर्सीमा बस्दा पनि भन्न हुने/नहुने केही नविचारी बोल्थे । प्रजातन्त्र पुनस्र्थापनापछि उनको राजनीतिक जीवन अन्त्य भयो । तर, दरबारले राजसभाको सदस्यमा राखेको थियो ।

राजदरबार हत्याकाण्डपछि नयाँ राजा छान्न २० जेठ २०५८ सालमा बहादुर भवनमा तत्कालीन राजसभाको बैठक डाकिएको थियो । बैठकमा जयप्रकाशले बुलन्द आवाज उठाएछन्, “राजा वीरेन्द्रको हत्या कसले गर्‍यो, पत्ता लाग्नुपर्छ !” एक सय भन्दा बढी सदस्य भएको राज सभाको बैठकमा त्यसरी चर्को स्वरमा आवाज उठाउने उनी मात्र थिए ।

उनी राष्ट्रिय पञ्चायतमा पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्थे । पञ्चायतकालभरि नै उनी राष्ट्रिय पञ्चायत सदस्य भए जस्तो लाग्छ । छोटो–छोटो कार्यकालका लागि सहायक र राज्यमन्त्री पनि भए । फुलमन्त्री भने कहिल्यै बन्न सकेनन् ।

१३ भदौ २०२८ सालमा कीर्तिनिधि विष्टको प्रधानमन्त्रीत्वमा गठित मन्त्रिमण्डलमा जयप्रकाश स्वास्थ्य सहायक मन्त्रीमा राखिए । तर, उनी आठ महीना पनि टिकेनन् । हामी पत्रकार भेट्न जाँदा सरकारका निर्णय कुन गोप्य कुन अतिगोप्य भन्ने कुरा विचार नगरी हामीलाई भनिदिन्थे ।

उनी खुला खालका र अलि उट्पट्याङ स्वभावका थिए । आफ्नो अंगरक्षकबारे भन्थे, “यो मेरो अंगरक्षक हो र ? सीआईडी हो सीआईडी ! म कहाँ कति बजे कसलाई भेट्न जान्छु, कति बेर कुरा गर्छु जस्ता कुरा उसको अफिसर हाकिमलाई खबर गर्छ । मेरो सुरक्षा त निहुँ मात्र हो ।”

आठ महीनामै गुमेको कुर्सी
सहायक मन्त्रीबाट जयप्रकाश आठ महीनाको अल्पकालमै फालिए । ठाडै बर्खास्त गर्न के भएर मिलेनछ र उनलाई हटाएर राजीनामा दिएको भन्नु परेछ । राजनीतिको भित्री तहमा केके खेल थियो, त्यो त बाहिर आएन ।

राजीनामा देऊ भन्दा उनले मानेनछन् । सरकारका मुख्य सचिव जनरल क्षेत्रविक्रम राणा स्वयं जयप्रकाशको अफिसमा गएर भनेछन् “मन्त्रीजी घर जानु पर्‍यो ।” उनले प्रतिप्रश्न गरेछन्, “घरमा कुनै काम नै छैन । अहिल्यै किन जानु घर ?”

रेडियो नेपालले सोही दिन दिउँसो साढे दुई बजेको समाचारमा जयप्रकाशको राजीनामा स्वीकृत भयो भन्ने खबर प्रसारण गर्ने रहेछ । तब मुख्य सचिव राणाले खुलेर भनेछन्, “अहिले साढे दुई बजे रेडियो नेपालले मन्त्रीज्यूको राजीनामा स्वीकृत भएको समाचार भन्छ । त्यसैले घर जानैपर्छ ।”

जयप्रकाशले च्याँट्ठिएर भनेछन्, “मैले राजीनामा दिएकै छैन, कसरी हुन्छ स्वीकृत ?” क्षेत्रविक्रमले थपेछन्, “यो दरबारबाट आएको कुरो हो । हामीले अर्डर आए अनुसार गर्ने हो । मन्त्रीज्यू यहाँबाट जानु भएन भने प्रहरी लगाएर भए पनि पठाउनुपर्छ ।”

त्यसपछि मात्रै जयप्रकाश निस्किएछन् । बाटोमा जाँदाजाँदै रेडियोले खबरमा भनेछ, “जयप्रकाशले स्वास्थ्य सहायक मन्त्री पदबाट श्री ५ मा दिएको राजीनामा मौसूफबाट स्वीकृत गरिबक्सियो ।”

निर्दलले जितेपछि टिपिए
जयप्रकाश आफ्नो थर वा जात लेख्दैनथे । उनी मलाह हुन् क्यार । मसँग कुरा हुँदा गर्वसाथ भन्थे, “मछलीके राजा हुँ न !” भोज वा पार्टीहरूमा माछाको टाउको खोजीखोजी खान्थे । राष्ट्रिय पञ्चायत सदस्यमा उनी नाटकीय ढंगबाट जित्थे । नेपाली भाषा खरर्र बोल्थे । उनको मातृभाषा भोजपुरी हो क्यार । भाषणमा लवज र लय मिसिंदा रमाइलो सुनिन्थ्यो । पहाडी मूलका थुप्रैसँग उनको निकटता थियो । तीमध्ये म पनि पर्थें ।

जनमत संग्रहपछि २ असार २०३८ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा गठित मन्त्रिमण्डलमा पनि जयप्रकाश परेनन् । १५ जना सहायक मन्त्रीबाट १२ जना हटाई चार जना थपिंदा उनमा न राजाको नजर पर्‍यो, न त प्रधानमन्त्रीको । तर ‘सुधारिएको’ पञ्चायतलाई पर्साबाट निकै मतान्तरले जिताएका जयप्रकाश अन्ततः सूर्यबहादुरकै मन्त्रिमण्डलमा गृह पञ्चायत सहायक मन्त्रीमा परे । २०४० असारमा सूर्यबहादुरलाई महाअभियोग लगाएर हटाइएपछि उनी पनि पदमुक्त भए ।

पञ्चायतसँगै अन्त्य
लोकेन्द्रबहादुर चन्दको सरकारमा जयप्रकाशले स्थान नपाए पनि त्यसपछि २ असार २०४३ सालमा मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा उनको पदोन्नति भई भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री नियुक्त भए ।

अर्को विभागीय मन्त्री नभएकाले सो मन्त्रालयको नेतृत्व जयप्रकाशले नै गर्थे । २०४६ सालमा जनआन्दोलनबाट पञ्चायत शासनको अन्त्यसँगै उनको पनि राजनीतिक जीवन सिद्धियो ।

जयप्रकाश, पञ्चायत आउनु अघि पर्सा जिल्लामा जिल्ला प्रशासनको गुप्तचरी गर्ने रहेछन् । त्यही कामका कारण उनको नेपाली भाषा सप्रिएको रहेछ । त्यतिबेला तराईमा गुप्तचरी गर्नेलाई ‘अडिटर’ भनिन्थ्यो । पूर्व अञ्चलाधीश मनमोहन मिश्रले १४ असार २०६० मा मसँगको रेडियो कुराकानीमा भनेका थिए, “म बारा जिल्लाको अडिटर थिएँ । त्यसबेला अडिटर भनेको तराईमा गुप्तचर हो भन्ने म बुझिदनथें ।”

जयप्रकाश मलाई साँच्चै अजीव प्राणी लाग्थे । उनी साउन २०७२ मा बितेछन् । उनको रगतमै राजनीति थियो भन्ने लाग्छ । उनका छोरा मेघराज नेपाली (निषाद) मधेश समता पार्टी नेपाल स्थापना गरी राजनीतिमै सक्रिय छन् । उनी असोज २०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री भएका थिए । 

प्रतिकृया दिनुहोस