टिप्पणीशनिवार, भाद्र १६, २०७५

बुद्धबारे अपव्याख्या

वसन्त महर्जन

आफ्नो स्वार्थपूर्ति र व्यावसायिक प्रयोजनमा गौतम बुद्धको नाम जथाभावी प्रयोग गर्ने प्रवृत्ति चिन्ताको विषय बनेको छ ।

गौतम बुद्ध (इ.पू. ५६३–४८३) ऐतिहासिक पात्र भएकाले उनका सम्बन्धमा जति पनि व्याख्या गरिन्छ, तथ्यमा आधारित हुनुपर्छ । ऐतिहासिक पात्रका हिसाबले उनीबारेको कल्पना र मनगढन्ते कहानीलाई ठाउँ छैन । तर, हालै प्रकाशित एक पुस्तकले बुद्धलाई तेस्रोलिङ्गी भनेर प्रस्तुत गरेको छ ।

आस्थासँग पनि सम्बन्धित यी पात्रका सम्बन्धमा यस्तो कुरा निस्कनु संवेदनशील त हो नै, साथै उक्त भ्रामक कुरा नेपालबाटै फैलिनुले धेरै अर्थ राख्ने हुँदा यसबारे चर्चा गर्नु आवश्यक छ । 

माइनोरिटी स्टडी सेन्टर अफ मोक्षतीत दर्शन इन्टरनेशनलको प्रस्तुतिमा छापिएको पुस्तकको शीर्षक ‘ब्लूडाइमण्ड बुद्ध’ छ, जसमा लेखकको नाम हिज होलीनेस मोक्षतीत उल्लेख छ । पुस्तकमा अन्य गम्भीर विषयलाई पनि हल्काफुल्का ढङ्गले उठाएको देखिएकाले चर्चामा आउन गरिएको काम भनेर बुझ्न गाह्रो छैन ।

पुस्तकको परिचय दिंदा गौतम बुद्ध जन्मिंदा नै तेस्रोलिङ्गी भएको, श्रीमती यशोधरा, आमा प्रजापति गौतमी, मित्र तथा दरबारका हजारौं सुसारे महिलाहरूको यौन हिंसाको शिकार भएको र अन्त्यमा सबथोक त्यागेर इच्छा महारोगमाथि दिग्विजय गरी शुद्ध अनि पूर्ण नीलहीरा बुद्ध भए भनी लेखिएको छ ।

आफ्नो स्वार्थपूर्तिका लागि गौतम बुद्धलाई गलत रूपमा प्रस्तुत गर्ने प्रचलन नौलो होइन । बुद्ध जीवित छँदै नातामा भाइ पर्ने भिक्षु देवदत्तले भिक्षु संघ फुटाएर स्वयम्लाई बुद्धका रूपमा प्रस्तुत गरेका थिए । तर, केही समयपछि नै भिक्षुद्वय सारिपुत्र र मौद्गल्यायनले यो समस्या समाधान गरेका थिए ।

ऐतिहासिक पात्रका रूपमा प्रमाणित भइसक्दा पनि पौराणिक पात्रका रूपमा प्रस्तुत गरी दुनो सोझयाउने एक जमात ‘आध्यात्मिक बजार’ मा उहिलेदेखि नै अस्तित्वमा छ ।

आफ्नो विचार वा दर्शनलाई आध्यात्मिक बजारमा स्थापित गर्न गौतम बुद्धलाई बैसाखीका रूपमा प्रयोग गर्नेहरू पनि छन् । त्यसमध्ये ओशो पनि एक हुन् । शुरूमा आचार्य रजनीशका नामबाट चिनिएका यिनले एक समय आफूलाई बुद्ध भनेर घोषणा पनि गरेका थिए ।

उनले बुद्धको आत्मा आफूमा अवतरण भएको हल्ला मात्रै फिंजाएनन्, केही दिनपछि त्यो आत्मालाई आफूले अस्वीकार गरेको भनेर प्रचार पनि गरे । निर्वाण नै भइसकेका अनात्मवादी बुद्धको आत्मा आफूमा अवतरण भयो भन्नु रजनीशको बेतुकको दाबी हो ।

बौद्धहरू भविष्यमा मैत्रेय बुद्ध आउने मान्यता त राख्छन्, तर बौद्ध धर्मको प्रभाव हुन्जेल (गौतम बुद्धको शासन) अर्को बुद्धको शासन शुरू हुँदैन भन्ने मान्यता पनि बलियो छ । बुद्धको दाबीबाट पन्छिए पनि ओशोले आफ्नो दर्शनको रंगरोगन बुद्ध र बौद्ध दर्शनका कुराबाट गरिरहे ।

ओशोले यौन सम्बन्धी आफ्नो अवधारणालाई स्थापित गर्ने क्रममा सुजाता नामकी महिलासँग बुद्धको यौन सम्बन्ध रहेको पनि भन्न भ्याए । बुद्धत्व प्राप्तिको अघिल्लो दिन खीर दान गर्ने सुजातासँग सम्भोग भएको र यो कुरा ढाकछोप गर्न बौद्धहरूले यसलाई ‘खीर दान’ को रूपमा प्रस्तुत गरेको भनी उनले मन्तव्य दिएका थिए । तर, एक बौद्ध भिक्षुले तत्काल आपत्ति जनाउँदा उनले यस्तो कुरा ध्यानको बलले आफूले देखेको र सर्वसाधारणले देख्न नसक्ने तर्क गर्दै आफ्नो बचाउ गरेका थिए ।

बुद्ध कुनै व्यक्तिको नाम नभएर बुझाइको उपल्लो तह हो । सामान्य भाषामा भन्दा ‘जसले बुझयो वा बोध गर्‍यो’ त्यो बुद्ध हो । तर, बोध गर्ने कुरा एउटै नहुँदा दार्शनिक जगतमा फरक–फरक सम्प्रदायको उदय भएको हो ।

भाषागत रूपमा ‘बुद्ध’ शब्द गौतम बुद्ध वा बौद्धहरूको मात्रै पेवा नभए पनि व्यावहारिक प्रयोगमा गौतम बुद्ध र उनको धर्म–दर्शनसँग सम्बन्धित भनेर बुझ्ने र बुझाउने गरेको पाइन्छ ।

बुद्ध शब्दलाई व्यापारिक ब्राण्डका रूपमा प्रयोग गर्नेहरूको संख्या पनि कम छैन । पश्चिमा मुलुकमा एक नेपालीले बुद्धको नामबाट एउटा ‘बार’ खोल्न लागेका थिए र सुझावका लागि सामाजिक सञ्जालमा राख्दा केहीले सराहना पनि गरेका थिए ।

‘बार’ सँग बुद्धको नाम किन जोड्नुपर्‍यो भनेर सोधिंदा ती व्यक्तिले आफूले बुद्ध नेपालमा जन्मेका भनेर प्रचार गर्न खोजेको बताएका थिए । तर, उनले आफू स्थापित हुन बुद्धको नाम प्रयोग गर्न खोजेको भनेर बुझ्न गाह्रो छैन । बुद्धको नामबाट प्रचारमा आउन खोज्नेहरू नेपालमै पनि प्रशस्त भेटिन्छन् ।

काठमाडौं लगायत शहरी क्षेत्रमा बुद्धको नाम प्रयोग गरी मदिरा बेच्ने, बुचर हाउस, रेस्टुरेन्ट आदि खोलिएको प्रसङ्गमा एक श्रीलंकाली राजदूतले आश्चर्य व्यक्त गरेको यहाँ स्मरणीय छ । बुद्धको जन्मस्थल लुम्बिनी नेपाली भूमिमा परेको आधारमा उनलाई नेपाली भनेर गौरव गरिन्छ । तर, उनकै मर्यादा राख्न नजान्नु र आवश्यक पनि नठान्नु लज्जास्पद हो ।

माथि उल्लिखित पुस्तककै प्रसंगमा फर्कंदा, बौद्ध साहित्यमा पनि तेस्रोलिङ्गीहरूको उल्लेख पाइन्छ र यसलाई पूर्वजन्मको कर्मविपाकको रूपमा लिइएको छ । बुद्धका उपस्थापक भिक्षु आनन्द (नाताले बुद्धका भाइ) पनि पूर्वजन्ममा तेस्रोलिङ्गी भएर जन्मिएको उल्लेख भएको पाइन्छ ।

सम्पूर्ण विपाक तथा क्लेशबाट मुक्त भएर बुद्ध नै भइसकेकालाई तेस्रोलिङ्गी भनेर चित्रण गरिनुले बुद्ध र बौद्ध धर्म–दर्शनका बारेमा अलिकति पनि हेक्का नराखिएको भन्ने स्पष्ट छ ।

प्रतिकृया दिनुहोस