कला/साहित्यशनिवार, भाद्र १६, २०७५

एउटा फरक इतिहास

रामेश्वर बोहरा

स्थापित तथ्य नै छ– इतिहास जित्नेहरुको लेखिन्छ । तथ्य अर्को पनि छ– इतिहास प्रायः (उच्च) पदमा पुग्नेहरुकै लेखिएको छ । राजनीति होस् या अर्थतन्त्र, निजामती सेवा होस् या सैन्य संगठन; उच्चपदस्थहरुकै वरिपरि घुमेको देखिन्छ– इतिहास लेखन ।

सैन्य संगठनकै कुरा गर्दा पनि इतिहास लेखन मूलतः नेतृत्व तहमा पुग्नेहरुकै भूमिकामा ज्यादा केन्द्रित छ । सैनिक जवानका रुपमा सैन्य सेवा शुरु गरेर सुबेदार पदबाट अवकाश पाएका मोहन थापाले इतिहासको यो मान्यतामा क्रमभंग गर्ने प्रयास गरेका छन् । पूर्वसुबेदार थापाको पुस्तक सुबेदारः सैनिक संगठनको गौरव त्यसको उदाहरण हो ।

सुबेदार को हो ? सैन्य संगठनमा उसको खास भूमिका के हुन्छ ? सैनिक इतिहासमा सुबेदारहरुले के चाहिं योगदान गरे ? यो तथ्य बुझाउन संसारभरका ऐतिहासिक तथ्यहरु समेट्दै नेपाली सन्दर्भमा सुबेदार पदको उत्पत्ति, विकासक्रम र सैन्य सेवामा यसको योगदान झल्काउने एकमुष्ट संग्रह बनेको छ, पुस्तक ।

सेनामा सुबेदार वा सो सरहको पदलाई सम्बोधन गरिने विभिन्न मुलुकमा भिन्नाभिन्नै शब्दावली प्रचलनमा छन् । जिम्मेवारी र मर्यादाक्रम पनि देशपिच्छे फरक छन् । र पनि, सेनामा सदियौं अघिदेखि महत्वपूर्ण पदका रुपमा रहँदै आएको सुबेदारलाई सैनिक संगठनको आन्तरिक व्यवस्थापन तथा युद्धका बेला सैनिक नेतृत्व र तल्लो तह (जवान) बीच सेतुको काम गर्ने संवेदनशील अंग मानिन्छ ।

सुबेदारहरु तल्लो तहका सैनिकका आवेश–आक्रोशबाट पैदा हुनसक्ने अराजकता नियन्त्रण गर्दै माथिल्लो तहका सैनिक अधिकृतका अस्वाभाविक महत्वाकांक्षालाई समेत सन्तुलनमा राखेर सैनिक संगठन सञ्चालन गर्ने महत्वपूर्ण भूमिकामा हुन्छन् । यही कारण पनि सैनिक संगठनमा सुबेदारलाई ‘आदर्श गुरु’ को स्थानमा राखिएको हुन्छ ।

सैनिक संगठनमा प्रवेश गर्ने ९० प्रतिशतभन्दा बढीले सुबेदार पदमा पुग्नुलाई आफ्नो सैन्य जीवनकै गौरव ठान्नुको कारण यही हो । पुस्तकमा सुबेदार पदको यही भूमिका र संवेदनशीलता बुझाउन लेखक सफल छन् ।

हुन पनि नेपाली सेनामा सिपाहीमा भर्ना हुने सैनिकले प्राप्त गर्ने उच्चतम कार्यकारी पद सुबेदार नै हो । थोरैले यसभन्दा माथिको प्रमुख सुबेदार पद तथा मानार्थ उपसेनानी र मानार्थ सहसेनानीको पद पाउनु बेग्लै कुरा हो ।

पुस्तकमा ईसा मसीहको जीवनकालमा अरबका विभिन्न प्रान्तमा सुबेदार पदको व्यवस्था रहेको, ईसाको सातौं शताब्दीमा सिरियाका प्रान्त प्रमुख रहेका सुबेदार विशाल इस्लामिक साम्राज्यका खलिफा बनेको, त्यसपछि अफगानको गजनी, भारतवर्षको सिन्ध, दिल्ली राजधानी भएको भारतीय इस्लामिक साम्राज्य र भारतकै मराठा राज्यमा सुबेदारको सैन्य पदको उत्पत्ति र विकासक्रम सम्बन्धी ऐतिहासिक तथ्यहरुलाई मिहिन ढंगले प्रस्तुत गरिएको छ ।

उन्नाइसौं शताब्दीअघिको नेपाल सरहदको गण्डकी प्रदेशमा अस्तित्वमा रहेका चौबिसी राज्य– गोरखा र लमजुङमा समेत सुबेदारको पद प्रचलनमा थियो । यद्यपि, नेपाल एकीकरण अभियानका क्रममा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले गठन गरेको सेनामा गरिएको सुबेदारको व्यवस्थालाई यसको औपचारिक प्रस्थानविन्दु मानिन्छ । पृथ्वीनारायणले वि.सं. १८१९ मा स्थापना गरेका पाँच वटा स्थायी सैनिक कम्पनीका मुख्य अधिकृत सुबेदार नै थिए ।

पृथ्वीनारायण शाहका दिव्योपदेशमा ‘... पजनि गर्दामा पनि सये नालका कम्पनी जमाउनु र सये नालका सुबेदार चार–पाँच लडायीमा जस पाई आयाका यसता आफूले जाँचि सुबेदार हालनु...’, ‘...सुबेदारले पनि सात पगरि दुई चार वाढ षायाका यस्ता सात पगरि हाल्नु...’ जस्ता प्रसंगले पनि यो पदको ऐतिहासिकता झल्काउँछन् ।

पुस्तकले नेपालको सैन्य संगठनमा सुबेदार पदको विकासक्रमसँगै नेपाल एकीकरणमा योगदान गर्ने, उच्च पदमा पुग्ने, कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्ने र शासकको सनकका भरमा मृत्युदण्ड पाउने सुबेदारहरुको कथालाई समेत लिपिबद्ध गरेको छ ।

लेखकले नेपाल–अंग्रेज युद्धमा सहभागी सुबेदार, राणाकालअघिको र राणाकालीन सैनिक संरचनाका सुबेदारसँगै २००७ सालको क्रान्तिमा सहभागी सुबेदारहरुको भूमिका समेत छुटाएका छैनन् । पुस्तकको निचोड छ– नेपालका सुबेदारहरुले नेपाली युवामा निहित वीरतालाई समूहीकृत रुपमा प्रस्तुत गर्न थालेपछि गोरखाली/नेपाली वीरता संसार प्रसिद्ध भयो ।

नेपालमा १०३ वर्षे राणाशाहीको शुरुआत गर्ने जंगबहादुर कुनै बेला सुबेदार थिए । नेपाली वीरताका प्रतीक मानिने भक्ति थापा, अमरसिंह थापा, भीमसेन थापा र बलभद्र कुँवरको परिचय पनि सुबेदारकै थियो । सुबेदारबाटै उठेका दिलबहादुर लामा कालान्तरमा प्रहरी महानिरीक्षक बने, अनि गिरिप्रसाद बुढाथोकी पञ्चायतमा रक्षामन्त्री बनाइए ।

सैन्य इतिहासभित्रका यस्ता थुप्रै तथ्यले पुस्तकलाई पठनीय बनाएका छन् । इतिहासका अनेक पाटा उजागर गरेको पुस्तक आधुनिक सैनिक संगठनमा सुबेदारको भूमिका, योगदान र नालीबेली खोतल्न भने चुकेको छ । नाम अनुसार नै पुस्तक सुबेदारको वीरगाथामा केन्द्रित हुनु स्वाभाविक भए पनि त्यसको आलोचनात्मक प्रस्तुति कतै नभेटिनु यसको कमजोर पक्ष हो ।

सुबेदार स्वयम्मा सिपाही (सैनिक जवान) को जगमा आधारित पद भए पनि सिपाहीको योगदान र भूमिकाले चर्चा नपाउँदा पुस्तकको महत्वपूर्ण पाटो अपुरो झैं लाग्छ । यति हुँदाहुँदै पनि यसअघि ती सैनिक सहित तीन वटा पुस्तक लेखिसकेका थापाको फरक धारको इतिहास लेखन आफैंमा सराहनीय छ ।

पुस्तक: सुबेदार (सैनिक संगठनको गौरव) 

लेखक: मोहन थापा

प्रकाशक: शारदादेवी खड्का थापा

पृष्ठ: ३००+२४,

मूल्य रु.३९०

प्रतिकृया दिनुहोस