दुम्सी मारेको आरोपमा पक्राउ
दुम्सी मारेको आरोपमा सुकुम्वासी आयोग बाँकेका पूर्व अध्यक्ष सन्तोष बस्नेत पक्राउ परेका छन् ।
११ कार्तिक बिहान ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको संयुक्त चिसापानी चेकपोष्टले चेकजाँचका क्रममा मरेको दुम्सी सहित उनलाई पक्राउ गरेको हो ।
सुर्खेतदेखि कोहलपुर आउँदै गरेको भे १ च १७३६ नम्बरको कारको डिक्कीमा लुकाई छिपाई ओसारपसार गर्ने क्रममा चिसापानी चेकपोष्टले पक्राउ गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकृत अशोक भण्डारीले जानकारी दिए ।
गाडीमा म्याटले छोपेको अवस्थामा दुम्सी फेला परेको थियो । गाडी र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको भण्डारीले बताए ।
कोहलपुर २ मदनचौकका उनी तत्कालीन बाबुराम भट्टराई सरकारका बेला सुकुम्वासी आयोग बाँकेका अध्यक्ष थिए ।
हाल उनी नयाँ शक्ति प्रदेश नं. ५ का सदस्य हुन् ।
केशव राना, बाँके