कला/साहित्यबिहिवार, भाद्र १४, २०७५

आलिया, दीपिका जस्ता कलाकारसँग डर लाग्छ : अमिताभ बच्चन

हिमालखबर

बलिउडका महानायक अमिताभ बच्चनले नयाँ पुस्ताको कामबाट आफू प्रभावित भएको बताएका छन् । पछिल्लो समय फिल्म 'ब्रह्मास्त्र' को सुटिङमा व्यस्त उनले आलिया भट्ट र दीपिका पादुकोण जस्ता कलाकारहरुको प्रतिभाबाट आफूलाई डर लाग्ने पनि उल्लेख गरे ।

सोनी टिभीमा आउने 'कौन बनेगा करोडपति' सिजन १० को पत्रकार सम्मेलनमा अमिताभले भने, "म आलिया भट्ट, अनुष्का शर्मा र दीपिका पादुकोणसँग काम गर्न डराउँछु । किनकि उनीहरुले अब मलाई काम गर्न दिंदैनन् भन्ने लाग्छ । नयाँ पुस्ताका कलाकार निकै सानदार छन् । हामीले आफ्नो अभिनय शिल्प सुदृढ पार्न वर्षौंको समय लगायौं । तर, नयाँ पुस्ता आफूले गर्ने काममा सजग भएर अघि बढाइरहेका छन् । रणवीर, सुशान्त, वरुण, राजकुमार र कार्तिक आर्यनलाई हेर्नुस् । सबै अब्बल छन् ।"

'कौन बनेगा करोडपति' को सन्दर्भमा उनले भने, "कार्यक्रममा आउने प्रतियोगीहरुसँग कुरा गर्नु र उनीहरुको जीवनकथा थाहा पाउनु खासमा विशेष लाग्छ । यही तरिकाबाट हामी आम मानिससँग व्यक्तिगत सम्बन्ध जोड्न सक्छौं । मलाई त्यो बेला धेरै खुशी लाग्छ, जब प्रतियोगीले राम्रो धनराशि जित्छन् । किनकि हामी वास्तवमा प्रतियोगीहरुलाई बढीभन्दा बढी राशि जिताउन चाहन्छौं ।"

'ब्रह्मास्त्र' को सुटिङ अन्तिम चरणमा पुगेको छ । फिल्मको टीमले छायांकनका लागि मुम्बईका केही भागमा साथै बुल्गेरिया र न्यूयोर्कको भ्रमण गरेको थियो । अमिताभका साथै रणवीर कपुर, आलिया भट्ट, अकिन्नेनी नागार्जुना, मौनी रायको मुख्य अभिनय रहेको फिल्म १५ अगस्ट २०१९ मा रिलिज हुनेछ । करण जौहरले निर्माण गरेको फिल्मको निर्देशन अयन मुखर्जीले गरिरहेका छन् । - एजेन्सी

प्रतिकृया दिनुहोस